बाघको संख्यासँगै बढ्यो चुनौती, मानवसँग द्वन्द्व बढ्दै

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । नेपालमा बाघको संख्या बढ्दै गएको छ । राष्ट्रिय बाघ गणना-२०२२ को तथ्यांकअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको हो । सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा छन् । चितवनमा १२८ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ छन् । यस्तै, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ ।

सन् २०१० मा सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनमा नेपालले संख्या तेब्बर पुर्‍याउने लक्ष्य लिएको थियो । सन् २००९ मा नेपालमा बाघको संख्या १२१ रहेको थियो । हाल नेपालले बाघको संख्या तेब्बर पुर्‍याउने लक्ष्य पूरा गरेको छ । नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।

नेपालबाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इण्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटे बाघ पाइन्छन् । सन् २०२२ मा विश्वभर बाघको संख्या चार हजार ५०० पुगेको विश्व वन्यजन्तु कोषले जनाएको छ । नेपालसहित विश्वभर शनिबार विश्व बाघ दिवस मनाइएको छ । यसपालि दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रमअन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम गरेको थियो । दिवसका अवसरमा बाघसम्बन्धी १० वर्षे (सन् २०२३-३२) कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा बाघको संख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव-बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय समेटिएको छ ।

पाँच वर्षमा बाघको आक्रमणबाट मात्र ५८ जनाको मृत्यु
नेपालमा बाघको संख्या बढेसँगै मानवसँग द्वन्द्वसमेत बढ्दै गएको छ । देशका विभिन्न ठाउँमा बर्सेनि बाघको आक्रमणबाट दर्जनौँ व्यक्तिको ज्यान जाने गरेको छ । मध्यवर्ती क्षेत्रका मानिसहरू घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा २०० मानिसको मृत्यु भएको तथ्यांक छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना पनि बढ्दै गएका छन् ।

त्यसमध्ये पछिल्लो पाँच वर्षमा बाघको आक्रमणबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्यांक छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, २०७८/७९ मा २१, २०७७/७८ मा १३, २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।

संख्या बढेसँगै ती बाघको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु मुख्य चुनौती बनेको छ । वज्ञिका अनुसार बाघ र मानसिहरूबीचको द्वन्द्व रोक्न सबैभन्दा महत्वपूर्ण कुरा प्राकृतकि वासस्थानको उचित व्यवस्थापन हो । वासस्थानबाहेक आहार प्रजातिका जनावरको संख्या वृद्धि गर्नु पनि अर्को महत्वपूर्ण काम हो । आहार पर्याप्त मात्रामा नपाउँदा बाघ वनबाहिर निस्किने सम्भावना बढी रहन्छ ।

नेपालको बाघ संरक्षणमा गैरसरकारी संस्थाले सहयोग गर्नुपर्छ : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थालाई आग्रह गर्नुभएको छ । बाघको संख्या बढाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि संघसंस्थाले सहयोग गर्नुपर्ने बताउनुभयो । विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमा प्रशंसा पाए पनि त्यसको संरक्षण कार्य चुनौतीको रूपमा उभिएको बताउनुभयो । बाघ हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्तीमा पस्ने गरेकाले उनीहरूलाई वासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरूले लगानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा पछिल्लो समय बाघ हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो । ‘अन्तर्राष्ट्रिय समुदायसामु नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता गरेअनुरूप गत वर्ष बाघको संख्या ३५५ पुर्‍याई उक्त प्रतिबद्धता पूरा गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले गरेको वन्यजन्तुको संरक्षण कार्य अन्तर्राष्ट्रियस्तरमै प्रशंसनीय बनेको छ । अहिले मानिसको जीवन ठूलो कि जनावरको जीवन ठूलो भनेर विवाद भइरहेको छ । हामीलाई अब यो संरक्षणमा सहयोग गर्नुपर्‍यो । बाघ बढ्दै जान्छ । त्यसलाई धान्ने क्षेत्रफल नभएपछि त्यो बस्तीमा पस्नसक्छ ।’

चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गर्नुभएको हो ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १४/१५ सिटको हुने सो बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताउनुभयो । ‘ज्येष्ठ नागरिकहरू चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरू चिडियाघरमा आउँदा उहाँहरूले राम्रोसँग दृश्यावलोकन गर्न सकून् भन्नका लागि एउटा सटल बसको व्यवस्थापन गर्न गइरहेको छु’ उहाँले भन्नुभयो, ‘त्यो चाहिँ लगभग १४÷१५ सिटको हुन्छ, घुमिरहन्छ । बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्‍यो । अर्को ठाउँमा गयो, अर्को हेर्‍यो । त्यो दोहोर्‍याई, तेहर्‍याई हेर्न पाउने गरी म निकट भविष्यमै बसको व्यवस्थापन गर्न गइरहेको छु ।’ मेयर महर्जनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?