व्यवसायजन्य स्वास्थ्य सुरक्षा सर्वेक्षण प्रतिवेदन

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले असल उत्पादनका अभ्यास र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अन्तरसम्बन्ध हुने बताउनुभयो । वर्तमान कार्यसमितिले असल उत्पादनका अभ्यासलाई प्राथमिकतामा राखी सोहीअन्तर्गतका गतिविधिलाई बढावा दिने उहाँको भनाइ थियो ।

अध्यक्ष सुरानाले व्यवसायजन्य स्वास्थ्य सुरक्षा उत्पादकत्व अभिवृद्धि, दुर्घटना न्यूनीकरण र मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले आगामी दिनमा संगठनतर्फबाट उद्योग प्रतिष्ठानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सुधारका पक्षमा ध्यान केन्द्रित गरिने जानकारी दिनुभयो ।

सर्वेक्षक विजु थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका लागि व्यावहारिक पक्ष सुधारमा जोड दिनुभयो । उहाँले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका सन्दर्भमा व्यवस्थापकीय तह र श्रमिक तहमा चेतनास्तर फरक रहेको भन्दै जोखिम न्यूनीकरण, श्रमिकको सुरक्षा चेतना अभिवृद्धिको आवश्यकता औंल्याउनुभएको छ ।

स्वास्थ्य कार्यस्थल निर्माण संस्कृति विकासका लागि उद्योग प्रतिष्ठानहरूले आपत्कालीन सुरक्षा योजना बनाउनुपर्ने उहाँको भनाइ थियो । संगठनले इन्स्योर परियोजनाको सहकार्यमा गरेको सर्वेक्षणमा आधारित रही निकट भविष्यमा सो क्षेत्रको संगठनको सदस्य उद्योग प्रतिष्ठानमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा अडिट गर्नेछ ।

संगठनका अनुसार कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य दिपक अग्रवाल, इन्स्योर/हेल्भेटासका प्रदेश परियोजना प्रमुख सञ्जीव राईलगायतका प्रतिनिधि र विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक एवं व्यवस्थापकको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?