सरकारले १० लाख मेट्रिकटन धान आयात गर्ने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सरकारले बजारमा खाद्यान्नको अत्यधिक मूल्य बढेको स्वीकार गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाद्यान्नको अत्यधिक मूल्य बढेको जनाएको हो । विभागद्वारा शुक्रबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले चामल उद्योगमा नै प्रतिबोरा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बढेको पाइएको र सोही चामल खुद्रा बजारमा पुग्दा प्रतिबोरा दुर्ई सय रुपैयाँसम्म बढेको पाइएको बताउनुभयो ।

पछिल्लो १५ दिनमा भारतबाट आयात गरेको ५५ हजार मेट्रिकटन चामलको मूल्य भारतमै मूल्य बढेकाले नेपालमा पनि सोहीअनुसार बढाइएको व्यवसायीले जानकारी दिएको उहाँको भनाइ छ । महानिर्देशक ठाकुरका अनुसार भारतीय बजारमै चामल प्रतिकेजी तीन रुपैयाँ बढेकाले आयात भएको चामलको मूल्य बढाइएको व्यवसायीले बताउने गरेका छन् । विभागले बजार अनुगमनपछि खाद्यान्नमा चारदेखि १३ प्रतिशतसम्म मूल्य बढेको निष्कर्ष निकालेको छ । बजारमा अहिले विगतको तुलनामा चिनीको मूल्य पनि १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको र आँटा पाँचदेखि १० रुपैयाँ बढेको पाइएको उहाँले बताउनुभयो ।

सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिकटन धान र एक लाख मेट्रिकटन चामल ल्याउने निर्णय गरेको छ ।

विभागले अहिले बजारमा देखिएको मूल्यवृद्धिबारे तीन टोलीले दैनिक अनुगमन गर्दै आएको र आगामी दिनमा सरोकारवाला निकायसँग सहकार्य गरेर अनुगमनलाई तीव्रता दिने तयारी रहेको ठाकुरले बताउनुभयो ।

यसैबीच सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिकटन धान र एक लाख मेट्रिकटन चामल ल्याउने निर्णय गरेको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिकटन धान र एक लाख मेट्रिकटन चामल ल्याउने निर्णय गरेको विभागका महानिर्देशक ठाकुरले जानकारी दिनुभएको हो । ठाकुरका अनुसार मन्त्रालयमा सचिवसँग भएको छलफलका क्रममा तत्कालै १० लाख मेट्रिकटन धान, एक लाख मेट्रिकटन चामल र ५० हजार मेट्रिकटन चिनी ल्याउने निर्णय भएको छ ।

भारतले चामल निर्यातमा रोक लगाएपछि केही दिनअघि मुख्यसचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो । मुख्यसचिव अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिनुभएको थियो ।

नेपाल चामल, तेल, दाल उद्योग संघले १० लाख टन धान आयात गर्न सरकारसँग माग गरेको थियो । संघका अध्यक्ष कुमुदकुमार दुगडले सरकारले भारतसँग धान खरिद गर्न सके चामल प्रतिबन्धको असर नपर्ने दाबी गर्दै आउनुभएको छ । सरकारले तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने भन्दै उहाँले भारतसँगको वार्षिक छ लाख मेट्रिकटनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुन सक्ने बताउनुभएको छ । नेपालमा ५५ लाख टन धान उत्पादन हुने सरकारको तथ्यांक रहे पनि तथ्यांकअनुसार परिमाण नदेखिएको दुगडको भनाइ छ ।

भारतले बासमतीबाहेकका चामलको निर्यातमा साउन ४ देखि लागू हुने गरी रोक लगाएको छ । खाद्यान्नको बढ्दो मूल्य नियन्त्रणको प्रयास स्वरूप चामल निर्यातमा प्रतिबन्ध घोषणा गरेको हो । दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धको सोझो र गहिरो असर नेपालमा पर्नेछ । नेपालमा आवश्यक धान चामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको संघले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा ३३ अर्ब ६३ करोडको धान चामल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५९ करोडको धान चामल आयात भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?