पुस्तक : प्रणयले भरिएको ‘जीवनको लय’

रत्न प्रजापति
Read Time = 10 mins

नेपाली बृहत् शब्दकोशअनुसार कथासूत्रमा आबद्ध नभएको, मनका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी छोटो कविता हो मुक्तक । अनि पूर्वीय काव्यशास्त्रअनुसार समासरहित गद्य हो मुक्तक । चुट्किला कविता पनि हो मुक्तक । त्यसैले चुट्किलाजस्तै चोटिलो र प्रभावशाली हुन्छ मुक्तक । चुट्किला जस्तै चोटिलो र प्रभावशाली विधा भएकाले नै पछिल्लो समय धेरै स्रष्टाहरू मुक्तक सिर्जनामा आकर्षित भएका छन् । मुक्तक भएर पनि यो आर्फै गद्य विधाजस्तो मुक्त र स्वच्छन्द भने छैन । उन्मुक्त नभई बिम्ब र प्रतीकसहित सुन्दर शब्दशिल्पद्वारा केही शब्दसीमा र लयात्मकताको परिधिभित्र रहेर रचिएका मुक्तक बढी प्रभावशाली बन्ने हुँदा स्रष्टाहरूले यही नियमलाई पछ्याएको पाइन्छ ।

मुक्तक कविता विधाकै उपविधा अर्थात् छोटो रूप हो । मुक्तकलाई चतुष्पदीय (चार हरफको), आफैंमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना पनि भनिएको छ । यसो त अचेल छोटो विधाअन्तर्गत मुक्तकसँगसँगै हाइकु, ताङका, चोका, बाछिटा, साइनो, गजल, गीत आदि धेरैथरी सिर्जना हुन थालेका छन् । केही स्रष्टाहरूले आफ्नै परिभाषा र आफैँले बनाएको संरचनामा यस्ता छोटा विधाका सिर्जनालाई पाठकसामु प्रस्तुत गरिरहेका छन् भने केही सैद्धान्तिक परिभाषाभित्र रहेर केही शास्त्रीय छन्दमा पनि यस्ता छोटा सिर्जना गरिरहेका छन् । यस्ता छोटा सिर्जनामा हुने ध्वन्यात्मकता र व्यङ्ग्यात्मकताले पठनलाई निकै मीठासयुक्त बनाउने गरेको छ । यही कारणले पाठकको आकर्षण यस्ता छोटा सिर्जनामा बढेको पाइन्छ ।

मुक्तकमा मुक्तककारको जीवनदर्शन पनि आएको छ । जीवन के हो भन्ने विषयमा आआफ्नै दर्शन हुन्छन्, आआफ्नै चिन्तन हुन्छन् । आखिर जीवनको अन्तिम सत्य पनि यही हो, मरेपछि खरानी । त्यसपछि केही बाँकी रहन्न । जीवनको एउटा शाश्वत सत्यलाई यो मुक्तकमा व्यक्त गरिएको छ ।

नेपाली साहित्यमा भूपि शेरचन, भीमदर्शन रोका, कृष्णप्रसाद पराजुलीले मुक्तक सिर्जनामा यथेष्ट योगदान गरेको पाइन्छ । विशेषगरी कृष्णप्रसाद पराजुलीको ‘सय थुँगा फूल’ मुक्तकसङ्ग्रह हामी धेरैले निकै अभिरुचिपूर्वक पढ्ने गरेको मुक्तकसङ्ग्रह हो । कृष्णप्रसाद पराजुलीलाई नेपाली साहित्यमा मुक्तक सिर्जनाका प्रणेता नै मान्ने गरिएको छ । पछिल्लो समय नयाँपुस्ताका स्रष्टाले पनि यस विधामा निकै रुचिपूर्वक कलम चलाएको पाइन्छ । यसैमध्येका एक सक्रिय मुक्तक स्रष्टा हुन् विष्णु थापा ‘बिछोड’ ।

मुक्तक स्रष्टा विष्णु थापा ‘बिछोड’ मुक्तकसङ्ग्रह ‘जीवनको लय’ हालै प्रकाशित भएको छ । सङ्ग्रहभित्र जम्माजम्मी एक सय बयानब्बेवटा विभिन्न स्वादका मुक्तकहरू सङ्गृहीत छन् । स्वाभाविक रूपमा ध्वन्यात्मक र व्यङ्ग्यात्मक मुक्तकहरूले सामाजिक र राजनीतिक बेथिति–विसङ्गतिमाथि पनि चोटिलो प्रहार गरेका छन् । साहित्य समाजको दर्पण हो भन्ने मान्यता स्थापित छ । यसै मान्यतालाई नै साहित्यकारहरूले पछ्याएको पाइन्छ । त्यसैले साहित्यभित्र समाजकै सुन्दर तथा कुरूप अनुहार प्रतिबिम्बित भएको हुन्छ । समाजको मात्रै होइन, पाठकले आफ्नै अनुहार पनि प्रतिबिम्बित भएको महसुस गर्न सक्छन् साहित्य पठनका बेलामा । मुक्तककार विष्णु थापा ‘बिछोड’ का मुक्तकहरूमा पनि हाम्रै समाजको केही सुन्दर र केही कुरूप अनुहार प्रतिबिम्बित भएको पाउन सकिन्छ ।

सामाजिक विकृति-विसङ्गतिसँगै राजनीतिक दाउपेच र त्यसभित्रका पनि विकृति-विसङ्गतिलाई उदाङ्गो पारिएको भए पनि सङ्ग्रहभित्रका धेरैजसो मुक्तकहरू भने प्रणय प्रसङ्गका छन् । अधिकांश मुक्तक प्रणय प्रसङ्गले भरिएका छन् । यसो त प्रणयले जीवनमा लय भर्ने हुँदा जोसुकैले यसलाई बढी महत्व दिने गर्दछन् । जीवनको लयलाई सुमधुर र मिठासयुक्त बनाउन प्रणय प्रसङ्ग अति आवश्यक हुन्छ । प्रणयविनाको जीवन शुष्क अर्थात निरस हुन्छ । जीवनमा रस भर्ने तत्व नै प्रणय हो । त्यसैले सिर्जनामा प्रणय प्रसङ्गले प्रधानता पाउनु अस्वाभाविक होइन ।

हामी बाँचेको समाज उही हो । हामीले भोग्ने जीवन उस्तै हो । हामीले सामना गर्नुपर्ने समस्या पनि उस्तै नै हो । हेर्ने दृष्टिकोण र मनन गर्ने मन मात्रै फरक हो । यही हेर्ने दृष्टिकोण र बुझ्ने मनको फरकले हाम्रो जीवन पनि केही फरकझैँ लाग्ने मात्रै हो । त्यसैले लेख्ने विषय उही भए पनि हेराइ र बुझाइको फरकले अनुभूति र लेखाई मात्रै फरक हुने हो । यस्तै फरक अनुभूति र फरक लेखाई छन् मुक्तककार विष्णु थापा ‘बिछोड’ का पनि । जीवनलाई मान्छेले फरक-फरक ढङ्गले बुझेका हुन्छन् । सुखीले सुखको रूपमा र दुःखीले दुःखकै रूपमा । मुक्तककार विष्णु थापा ‘बिछोड’ ले चाहिँ जीवनलाई यसरी बुझेका छन्ः
धर्ती आकाश सँगै मिल्नु रीत बन्छ जीवन
प्रकृतिको काखमा रम्न प्रीत बन्छ जीवन
समाहित हुँदै जानु जीवनको लयसँगै
दिलको झङ्कार सुन्न सिक्नु सङ्गीत बन्छ जीवन ।
प्रणय प्रसङ्गमा मुक्तककारको अनुभूति कहिले चञ्चल बनेर आएका छन् । कहिले गम्भीर बनेर आएका छन् । कहिले प्रणयले प्रफुल्ल भएर आएका छन् त कहिले निकै आहत भएर आएका छन् । तर जस्तोसुकै अवस्थामा प्रणय नै घाउको मल्हम बनेर आएका छन् ।
सुवासित फूल तिमी मेरो आधार भएकी छौ
मनकी धनी हाँसीखुसी मेरो संसार भएकी छौ
जिन्दगीको हरेक मोडमा हात थामिदिएपछि
नर्मदा र गङ्गासँगै मेरो किनार भएकी छौ ।
जनता निरीह छैनन् । जनतालाई प्रश्न सोध्ने हक छ । राज्यका हरेक गतिविधिलाई गरिबीको पीडाले लोलाएका गरिबका आँखाले पनि नियालिरहेका हुन्छन् र तिनका मनमा पनि प्रश्न उठिरहेका हुन्छन् । अकर्मण्य र असंवेदनशील सरकारप्रति जनताका असंख्य प्रश्न छन् । वर्तमान समाजमा सम्पत्तिका निहुँमा भ्रातृसम्बन्धमा भइरहेको स्खलन एउटा जल्दोबल्दो समस्याको रूपमा देखिएको छ । यही समस्यालाई आफ्नो मुक्तकीय विषय पनि बनाएका छन् मुक्तककारले । राज्य र राजनीति जनताका आशाका केन्द्र हुन् । तर यी दुवैले जनतालाई निरन्तर झुक्याउँदै आएका छन् र छक्याउँदै आएका छन् । गरिबी, महँगी र बेरोजगारीले जनतालाई आहत पारेर सरकार सत्तामोहमा अन्धो भइरहेको छ ।

मुक्तकमा मुक्तककारको जीवनदर्शन पनि आएको छ । जीवन के हो भन्ने विषयमा आआफ्नै दर्शन हुन्छन्, आआफ्नै चिन्तन हुन्छन् । आखिर जीवनको अन्तिम सत्य पनि यही हो, मरेपछि खरानी । त्यसपछि केही बाँकी रहन्न । जीवनको एउटा शाश्वत सत्यलाई यो मुक्तकमा व्यक्त गरिएको छ । यसरी सामाजिक र राजनीतिक यथार्थप्रति व्यङ्ग्य प्रहार गर्दै सुधारको अपेक्षा गरेर लेखिएका मुक्तकले पाठकलाई पठनको मिठो आनन्द प्रदान गर्नेछन् । यो विसङ्गत समाज, विकृत राजनीतिप्रतिको निराशा, कुण्ठा र आक्रोशलाई पाठकले आफ्नै मनभित्रको निराशा, कुण्ठा र आक्रोशको रूपमा पाउने छन् । आफ्नै मनको पीडा र व्यथा पोखेको अनुभूति हुन्छ सङ्ग्रहका मुक्तक पठनमा । समग्रमा मुक्तकहरू पठनीय छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?