धनुषामा चोरीका घटना बढेः यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक

हिमालय टाइम्स
Read Time = 4 mins

धनुषा । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुर्व्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ ।

पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधामलगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरीलगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८/०७९ मा २५१ र आर्थिक वर्ष २०७७/०७८ मा २४० वटा चोरीका घटनाहरु भएका थिए । गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो ।

उहाँले चोरीका घटनाहरु बढी देखिएपनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने बताउनु भयो । आर्थिक वर्ष २०७८/०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७/०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको बताउनु भयो ।

चोरीका घटनाहरुमा अधिकांश युवाहरु सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरु चोरीमा संलग्न रहेको पाइएको हो । अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरुको सन्तान र लागुऔषध दुर्व्यसनको कुलतमा फसेका युवाहरु आफ्नो दुर्व्यसनको ईच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो ।

चोरीका घटनाहरुमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तिब्र बनाएको छ । चोरीका घटनाहरुलाई निर्मुल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले बताउनु भयो ।

मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरीलगायतका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?