दुग्ध सहकारी संघद्वारा २० निकाय खारेजीविरुद्ध आन्दोलनको चेतावनी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानले भोग्नुपरेका समस्या समाधान नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै दुग्ध उत्पादनका क्षेत्रमा किसानले भोग्नुपरेका समस्या तत्काल समाधान गर्न माग गरेको छ । बजेट तथा नीति कार्यक्रममा कृषि र पशुपालनसँग सम्बन्धित २० महत्वपूर्ण कार्यालय खारेजी तथा अन्य निकायमा गाभ्ने सरकारको निर्णय सच्याउन तथा निर्णय फिर्ता लिनसमेत माग गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी, सीमा नाकामा रहेका पशु क्वारेन्टाइन कार्यालय, पशु तथा कृषिका केन्द्रीय प्रयोगशाला खारेजीको निर्णय तत्कालन फिर्ता लिनुपर्ने, लम्पी स्किनबाट किसानले ठूलो क्षति भोग्नुपरिरहेकाले रोकथाममा आवश्यक उपचार, क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने र मिल्क होलिडे अन्त्य गरी पशुपालन पेशालाई सुनिश्चित र व्यावसायिक रूपमा अगाडि बढाउने कार्यक्रम ल्याउनुपर्ने संघका माग रहेका छन् ।

त्यस्तै, किसानले खाइपाई आएको मूल्यमा कुनै पनि वहानामा घटाउन नपाइने, उद्योगले यसअघिको सम्झौताअनुसार खरिद गरिरहेको दूध कुनै पनि वहानामा कटौती गर्न नहुने, दूध उत्पादन लागत कम गरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने, प्रत्यक्ष किसानले प्राप्त गर्ने गरी उत्पादनका आधारमा अनुदानका कार्यक्रम घोषणा गर्नुपर्ने, विदेशबाट आउने जुनसुकै कच्चा दूध तथा दुग्धजन्य पदार्थ पूर्णरूपले बन्द गर्नुपर्ने र सहकारीमार्फत् पशुधन संरक्षण कार्यक्रम लागू गर्नुपर्नेलगायतका माग रहेका छन् ।

उल्लेखित माग सम्बोधन नभए साउन २८ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । जसअनुसार २८ गते सबै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, ३० गते काठमाडौंको मन्त्री क्वाटर पुल्चोकमा ब्यानर कार्डसहित प्रदर्शन गर्ने, ३१ गते बालुवाटारमा धर्ना दिने र साउन ३२ गते पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?