शिक्षामा दूरावस्था !

हिमालय टाइम्स
Read Time = 7 mins

बाहिर देख्दा नेपालमा शिक्षाको राम्रो उन्नति भएको छ र हालका दिनहरूमा पनि तीव्र रूपमा अझै उन्नति भइरहेको छ । २००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र आएका बेलामा नेपालको साक्षरता दुई प्रतिशत थियो तर अहिले यो प्रतिशत सत्तरी नाघिसकेको छ भन्ने तर्क गरिएला । त्यस बेलाको शिक्षाको अवस्था र स्थिति हेर्दा यो कुरा सही मानिन आउँछ तर हालका दिनमा नेपालको शैक्षिक जगतमा भएको अराजक स्थितिलाई हेर्ने हो भने हाम्रो शिक्षा क्षेत्र अत्यन्त खल्बलिएको स्थितिमा छ । विद्यालयहरूको संख्या धेरै छ, राम्रो शिक्षा दिन्छौं भनेर स्थापना भएका विद्यालय धेरै छन् तर तिनले दाबी गरेनुसारको शिक्षा दिइरहेका छन् कि व्यापार गरिरहेका छन् भन्ने कुराले विशेष महत्व राख्दछ ।

आफ्ना नागरिकलाई शिक्षा दिनु सरकारको दायित्व हो तर सरकार नै यस जिम्मेवारीबाट पन्सिँदै गएको छ । सरकारले शिक्षाको जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिएको छ । निजी क्षेत्रले यसलाई सेवा होइन व्यापार बनाइरहेको छ । यही व्यापारिक होडबाजीको चपेटामा विद्यार्थीहरू पिल्सिनु परेको छ, यो दुःखको कुरा हो । भन्न त उनीहरू सेवा गरिरहेका छौं भन्छन् तर महँगो शुल्क लिएर दिएको शिक्षा सेवा हुनसक्दैन र त्यसलाई व्यापार हो भन्नुपर्ने हुन्छ । सस्तोमा पढ्न पाउने त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तह खारेज गरेर सरकारले एकातिर त्रिविका प्राध्यापकहरूलाई बसीबसी जागिर खुवाएको छ भने अर्कातिर विद्यार्थीहरूलाई निजी शिक्षातर्फ धकेलिदिएको छ ।

त्यही कारणले गर्दा अत्यधिक संख्यामा नेपाली विद्यार्थीहरू अध्ययन गर्न विदेश गइरहेका छन् र नेपालको पैसा शिक्षामा मात्र पनि खर्बाैं बाहिरिइरहेको छ, यो तीतो यथार्थ हो । हामी यसलाई स्वीकार्न बाध्य छौं । अहिले एसइईमा दुई दशकअघिकै जति विद्यार्थी छन्, संख्या बढ्न सकेको छैन । उच्च शिक्षामा विद्यार्थीहरू घटिरहेका छन् । कहाँ गए त विद्यार्थीहरू ? पढाइ छोडेका त होइनन् होला । कि त पढाइ छाडेर विदेश गएका छन् कि त वैदेशिक रोजगारीका लागि खाडी मुलुक वा मलेशिया वा कोरियातिर लागेका छन् भनेर बुझ्नुपर्ने हुन्छ । उच्च शिक्षा अध्ययनका लागि स्थापना भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विद्यार्थीको संख्या धेरै कम भइसकेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको अवस्था पनि त्यस्तै छ । केयु, पोखरा र पूर्वाञ्चलल विश्वविद्यालयहरूमध्ये केहीमा पढाइ स्तरीय छ तर सबै विद्यार्थीको पहुँच पुग्दैन, जुनमा पहुँच पुग्छ तिनमा पढाइ राम्रो छैन । त्यसैले तिनीहरू विदेश हानिने गरेका छन् । तिनीहरू विदेश जाँदा आफूमात्र जाँदैनन् आफूसँग नेपालको पैसाको भारी पनि लिएर जान्छन् । विदेश जाने विद्यार्थीहरूले वर्षमा एक खर्ब नेपाली रुपैयाँ विदेश लिएर जाने गरेका छन् । यो रकम नेपालको वार्षिक बजेटको पाँच प्रतिशत हो । त्यसमध्येको आधा अर्थात् पचास अर्ब विदेश जाने विद्यार्थीहरूको निजी खर्च हो । खान, बस्न, लाउन, यातायात भाडालगायत कुरामा आधा रकम खर्च हुने गरेको छ भने आधा अर्थात् पचास खर्ब चाहिँ ती विदेशी शैक्षिक संस्थाहरूका लागि शुल्क हो ।

त्यत्रो नेपाली पैसा खर्च भएर आर्जन गरेको उनीहरूको योग्यता नेपाली माटोमा प्रयोग हुने हो भने खर्चको उपादयता र अन्य तरिकाले नेपाल लाभान्वित हुनसक्थ्यो होला तर विदेश पलायन भएकाहरूमध्ये कमै मात्र नेपाल फर्किन्छन् र तिनको ज्ञान नेपाली माटोमा उपयोग कमै मात्र हुन्छ । अधिकांश त पलायन हुन्छन् । प्रतिभा पलायनको समस्या दिनप्रतिदिन बढिरहेको छ, त्यसको स्थिति कहालीलाग्दो छ । सोह्र वर्ष पुग्दा नपुग्दै धेरैजसो वद्यार्थी विदेश जाने सपना सिर्जना गरिसकेका हुन्छन् ।

नेपालमा बाहिरी आवरणमा जति नै शिक्षाको विकास भएको जस्तो देखिएको भए पनि भित्री रूपमा पहिले-पहिले गुरुकुल शिक्षा पद्धति हुँदा एक प्रकारले राम्रो शिक्षा दिइन्थ्यो, अहिले त संख्यात्मक वृद्धि भएको जस्तो देखिए तापनि गुणस्तर भने भारी मात्रामा खस्किएर गएको छ । सबै शैक्षिक संस्थालाई विद्यार्थी चाहिएको छ । राम्रो÷नराम्रो वा त्यसको पढाइको स्तर हेर्नुको सट्टा जस्तो भए पनि विद्यार्थी भए पुग्छ । विद्यार्थी भनेकोे पैसा हो भन्ने मान्यता राखिन्छ । निजी क्षेत्रलाई सरकराले शिक्षाको जिम्मेवारी दिएपछि यसरी आवरणमा शिक्षाको गुणस्तर बढेको देखिए पनि यथार्थमा हाम्रो इतिहासमा भएको पढाइलाई सम्झिनुपर्ने अवस्थामा छौं । त्यस कारण सरकार मुकदर्शक बनेर बस्नुहुँदैन । यस विषयमा सरकारले केही न केही सोच्नैपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?