‘संघर्षबाट प्राप्त सफलता दिगो हुन्छ’

गीता अधिकारी
Read Time = 10 mins

कुशल नृत्यकारको परिचय बनाउनुभएका समीप तामाङ नृत्य निर्देशक, मोडलिङ र कोरियोग्राफरका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । आधा दर्जन बढी गीतका भिडियोमा अभिनय गर्नुभएका उहाँले आधा दर्जनजस्तो भिडियोमा निर्देशन र कोरियोग्राफ गर्नुभएको छ । चलचित्र ‘टिन एज’मा पनि कोरियोग्राफ गर्नुभएका उहाँले चितवनमा आफ्नै डान्स सेन्टर ‘पर्सा डान्स सेन्टर’ सञ्चालनमा ल्याउनुभएको छ । विसं २०७० देखि सञ्चालित यो डान्स सेन्टरमार्फत थुप्रैले नृत्य सिक्नुभएको छ । विगत १२-१३ वर्षदेखि निरन्तर आफ्नो कला कौशल पस्किनुभएका समीपले ‘माया लाउने बाटोमा, छाडीजाने माया, सैलुङे सोल्टिनी, मुटु जल्ने रहिछ, भरोसालगायत गीतमा आफ्नो कुशल कला पस्किनुभएको छ । आफ्नो सानैदेखिको नृत्यप्रतिको लगावले अहिलेको स्थान चुम्न सफल भएको बताउनुहुने उहाँ विभिन्न कार्यक्रममा निर्णयकका रूपमा रहँदै आउनुभएको छ । संघर्षबाट प्राप्त सफलता नै दिगो हुन्छ भन्नुहुन्ने समीप तामाङसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
कला क्षेत्रका विभिन्न कर्ममा आफूलाई समर्पित गर्दै आएको छु । आफ्ना केही व्यावसायिक काम, केही घरायसी काम र सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । कोरियोग्राफ, निर्देशन र मोडलिङका विधामा आफूलाई संलग्न गराउँदै आएको छु भने डान्स सेन्टर पनि सञ्चालन गरिरहेको छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको चाहना र मैले आफैंले निर्णय गरेर यो क्षेत्रमा आएको हुँ । सानैदेखिको लगावले यो क्षेत्रमा आएँ । ज्ञात-अज्ञात प्रेरणाले विस्तारै कलाकारितामा मलाई धकेल्यो । कला क्षेत्रको सानैदेखिको विशेष लगावका कारण नै यस क्षेत्रमा विस्तारै हेलिँदै आएँ । सानोदेखि नै नृत्य भनेपछि हुरुक्कै हुन्थे । गाउँघरमा हुने देउसी-भैलोमा मेरो विशेष लगाव थियो । सानैदेखिको यो लगाव नै हो भन्नुपर्ला यो क्षेत्रमा अहिलेको स्थान ।

गीतको निर्देशन, मोडलिङ र कोरियोग्राफरका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ, यसरी धेरै विधातिर हात हाल्दा सबै विधालाई न्याय गर्न सकिन्छ होला ?
मैले एउटै क्षेत्रका अलग-अलग विधामा आफूलाई संलग्न गराएको हुँ । म संलग्न भएका सबै विधा एकअर्कासँग सम्बन्धित छन् । सबैक्षेत्रमा उत्तिकै न्याय गरेको छु भन्ने लाग्छ ।

आफ्नौ डान्स सेन्टर पनि सञ्चालनमा ल्याउनुभएको छ होइन ?
हो, चितवनमा विसं २०७० सालदेखि पर्सा डान्स सेन्टर सञ्चालनमा ल्याएको छु । धेरैले यो सेन्टरबाट नृत्य सिकेर आफूलाई नृत्यमा पारंगत बनाउनु भएको छ ।

यहाँले अहिलेसम्म गरेका केही प्रस्तुतिको नाम लिनुपर्दा ?
‘माया लाउने बाटोमा, छाडि जाने माया, सैलुङे सोल्टिनी, मुटु जल्ने रहिछ, भरोसालगायत छन् । यस्तै चलचित्र ‘टिन एज’ छ ।

तपाईं आफूलाई सफल मान्नुहुन्छ ?
मैले आफैंले आफैंलाई सफल असफल भन्नेभन्दा पनि मैले गरेका धेरै क्रियसन सफल भए भन्ने कुराले यसको पुष्टि गर्दछ । म आफैंले आफैंलाई सफलभन्दा राम्रो काम गर्ने अर्थात् राम्रो प्रस्तुति पेश गर्ने कोसिस गरेको हुन्छु । मैले निर्देशन गरेका धेरै प्रस्तुतिलाई दर्शकले मन पराएका छन् । केही प्रस्तुतिले मानसम्मान र पुरस्कार दिलाउन सफल भएका छन् । सफल/असफल भन्ने जिम्मा दर्शककै हो भन्ने मलाई लाग्छ ।

घरपरिवारबाट कत्तिको सपोर्ट पाउनुभयो ?
मलाई यस क्षेत्रमा लाग्न घरपरिवारबाट प्रेरणा, साथ र सहयोग मिलेको छ । तर पनि मभित्र नेपाली कला क्षेत्रको बेजोडको मोह रहेकाले यस क्षेत्रमा आए । म स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा अब्बल थिएँ । त्यही सुरुवाती दिनहरू मेरो अहिलेको समय हो ।

कत्तिको संघर्ष गर्नुभयो ?
हरेक मानिसले सफलताका लागि संघर्ष गरेको हुन्छ । मेरोमा पनि त्यो लागू हुन्छ । फेरि मलाई के लाग्छ भने हरेक मानिसका संघर्षका परिभाषा छुट्टाछुट्टै हुन्छन् । संघर्षलाई सिक्ने अवसरका रूपमा लिइयो भने त्यो सहज हुन जान्छ होइन र । संघर्षबाट प्राप्त सफलता नै दिगो हुन्छ भन्ने लाग्छ ।

यहाँले विभिन्न कार्यक्रममा निर्णयकको भूमिका पनि निभाएको पाइन्छ भने संघसंस्थामा आबद्ध पनि हुनुहुन्छ ?
हो, मैले विभिन्न नृत्यका कार्यक्रममा निर्णयकको भूमिका निभाएको छु । बोलाउनुहुन्छ जान्छु । आफूले जानेको निर्णय गर्छु । हामीले प्रतियोगिता गर्नेगरेका छौं । यस्तै संघसंस्थामा आबद्ध भएर काम पनि गर्दै आएको छु । विभिन्न नृत्य समारोहमा निर्णायक समितिको सदस्यका रूपमा सहभागी हुनेगरेको छु । २१औं शताब्दीको यो दौडमा समयसँगै र सबैसँगै हिँड्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु । कला क्षेत्रबाट बचेको समय समाजको कुनै न कुनै कुनामा पुगेको हुन्छु ।

अहिले फर्केर हेर्दा के प्राप्त गरेजस्तो लाग्छ ?
मनोरञ्जनमार्फत् दर्शकमा उत्साह, खुशी र कर्तव्य बोध हुनुपर्छ भन्ने सन्देश छर्न चाहन्छु । राम्रो काम गरेपछि पैसा अवश्य कमाउँछौं । तर, पैसाभन्दा ठूलो कुरा इज्जत, प्रतिष्ठा र सम्मान महत्वपूर्ण हुन्छ । अर्को कुरा हामी समाजका संवाहक हौं । हामीले समाजलाई डोर्‍याउन सक्नुपर्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई निःशर्त मजबुत बनाउन मद्दत गर्नुपर्दछ भन्ने लाग्छ ।

जीवन र नृत्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन र नृत्य एकापसमा सम्बन्धित छन् । स्वस्थ जीवनयापनका लागि नृत्य चाहिन्छ । मनोरञ्जनविनाको कुनै उत्सव, महोत्सव अधुरो छ । नृत्य जीवनको एउटा पाटो हो । हामी जन्मिएदेखि गर्ने विभिन्न हाउभाउ नै नृत्य हो । मानिस जानेर वा नजानेर नृत्य गरिरहेको हुन्छ ।

अबको योजना ?
यही पेशालाई निरन्तरता दिन चाहन्छु । नयाँनयाँ क्रिएसन यो क्षेत्रमा पस्किन चाहन्छु । म यही क्षेत्रका लागि जन्मिएको मान्छे हुँ जस्तो लाग्छ । यो क्षेत्रबाहेक मैले अन्य सोचेको छैन । यही क्षेत्रको समृद्धिका लागि म पूर्णरूपमा समर्पित छु ।

यो क्षेत्रमा आउँदै गरेका नवप्रतिभालाई के-कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
कला क्षेत्र भनेको आफूमा रहेको प्रतिभा देखाउने क्षेत्र हो । तपाईंमा प्रतिभा छ भने आफूलाई अझ निखारेर यो क्षेत्रमा आउनुहोस् । लहलहैमा र रहरको भरमा नआउनुहोस् । आफूमा यो क्षेत्रप्रति विशेष लगाव छ भने सिकेर होमिनुहोस् भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?