१० रुपैयाँमा नबिकेको गोलभेडा कसरी पुग्यो दुर्ई सय ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पछिल्लो समय गोलभेडा अत्यधिक महँगो भएको छ । तीन साताअघिसम्म ५०/६० रुपैयाँ प्रतिकेजीमा पाइने गोलभेडा अहिले दुई सय रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि भारतीय गोलभेडाले राम्रो मूल्य पाएको तर स्वदेशी उत्पादनले उचित मूल्य नपाएको विरोधमा किसानले सडकमा गोलभेडा फालेर आन्दोलन गरेका थिए । स्वदेशी गोलभेडा १० रुपैयाँमा पनि नबिकेको भन्दै किसानले कालिमाटी तरकारी बजारको सडकमा करिब १२ टन गोलभेडा फालेर आन्दोलन गरेका थिए ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिको तथ्यांकअनुसार मंगलबार ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम एक सय ७० रुपैयाँ र अधिकतम दुई सय रहेको छ । सानो गोलभेडा पनि न्यूनतम एक सय ३० र अधिकतम एक सय ६० रुपैयाँ रहेको छ । गोलभेडा पूर्वी झापामा दुई सय २०, विटानगरमा दुई सय, चितवनमा एक सय ८०, कैलालीमा दुई सय, हेटौंडामा एक सय ९० र बागमतीको खुद्रा बजारमा दुई सय रुपैयाँभन्दा बढीमा बिक्री गर्नुपरेको तरकारी व्यापारीले बताएका छन् । खुद्रा मूल्य दुई सय भए पनि किसानले ८० रुपैयाँभन्दा बढी नपाएको गुनासो गर्दै आएका छन् । महिना दिनअघि १० रुपैयाँ केजी पनि मूल्य नपाएका किसानले अहिले ८० देखि ९० रुपैयाँ पाएका हुन् ।

सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक ७० देखि ७५ टन गोलभेडा आउने गरेकोमा अहिले ४० देखि ४५ टनमात्र आउने गरेको समितिले जनाएको छ ।

एक महिनाअघि भारतीय गोलभेडाको थोक मूल्य ५० रुपैयाँ प्रतिकेजीसम्म तिर्दा नेपाली टनेल टमाटरको मूल्य भने १० रुपैयाँ थियो । पछिल्लो समयमा भारतमा गोलभेडा अभाव हुन थालेपछि नेपाली गोलभेडा भारतीय बजारतिर तस्करी भएकाले नेपालमा मूल्य बढेको व्यापारी बताउँछन् । भारतमा ठूलो वर्षा भएर गोलभेडा खेती डुबानमा परेकाले उत्पादन घटेकाले नेपाली बजार प्रभावित भएको बताइएको छ । हाल भारतबाट नेपाल भित्रिने गोलभेडा समेत ३५ प्रतिशतभन्दा धेरैले घटेको समितिले जनाएको छ ।

हाल भारतमा गोलभेडा प्रतिकेजी तीन सय रुपैयाँमा बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक ७० देखि ७५ टन गोलभेडा आउने गरेकोमा अहिले ४० देखि ४५ टनमात्र आउने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाबाहिरबाट गोलभेडा आउने गरेकोमा अहिले बाहिर जान थालेपछि मूल्य आकाशिएको हो ।

श्रेष्ठले भन्नुभयो, ‘पहिले भारतबाट पनि आयात हुँदा सस्तो हुन्थ्यो । अहिले गोलभेडाको अफ सिजन त्यसमाथि आयात बन्द हुँदा मूल्य बढेको हो । काठमाडौंभन्दा बाहिरै राम्रो मूल्य पाउन थालेपछि किसानले कम पठाउन थालेका छन् । काठमाडौंमा उत्पादित गोलभेडामात्र बजारमा छ । विगतमा यो समय तराईबाट गोलभेडा आउने गरेको थियो तर यसपटक आएको छैन ।’ अहिले सिमानामा भारतीय गोलभेडा व्यापारी नेपाली गोलभेडा किन्न आउने गरेको नेपाली व्यापारी बताउँछन् । कृषकले अहिले गोलभेडाको राम्रो मूल्य पाइरहेको र यो समस्याका रूपमा रहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका उपाध्यक्ष पञ्चकाली श्रेष्ठले बताउनुभएको छ । स्वदेशी गोलभेडा तस्करी भइरहेका कारण पनि बजारमा मूल्य बढेको विषयमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?