मुस्ताङमा बाढीले १० घर, पक्की बगायो

म्याग्दीका ग्रामीण सडक अवरुद्ध

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा आइतबार राती ठाडो खोलामा आएको बाढीले १० घरसहित एक निर्माणधिन पक्की पुल बगाएको छ ।

वारागुङ मुक्तिक्षेत्र-२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौंको धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभएको छ । मुस्ताङलाई छायाँ वृष्टि हुने ठाउँ भनेर चिनिन्छ ।

त्यसैगरी कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । आइतबार राती ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय क्षति नभएको मुस्ताङ प्रशासनले जनाएको छ ।

झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ । प्रहरीका अनुसार तीन दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ ।

“बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई सचेत गराएकोले मानवीय क्षति भएको खबर छैन । प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ । बाढीले बिजुलीको तारपोल बगाएकोले विद्युत् आपूर्ति रोकिएको छ । थप विवरण आउन सकेको छैन,” मुस्ताङका प्रहरी नायव उपरिक्षक रवीन्द्र पौडेलले भन्नुभयो ।

अविरल वर्षासंगै ठाँडो खोला थुनिएर आएको बाढीले अहिले कागबेनी गाउँको तल्लो बस्ती पुरै डुबानमा परेको हो । बाढीले कागबेनीको धर्मशाला ,श्राद्धस्थल र अस्थायी काठेपुल बगाएको छ ।

कागबेनीमा खोला थनिएर बस्ती डुबानमा परेपछि कालीगण्डकी नदीका तटीय क्षेत्रका वासिन्दाहरु त्रसित भएका थिए । मुस्ताङको जोमसोमदेखि म्याग्दीको बेनीसम्मका वासिन्दाहरु रातभरी त्रसित रहे । सोमबार (अहिले) बिहानसम्म यी क्षेत्रहरु सामान्य अवस्थामा छन् । क्षतिको विस्तृत क्षति विवरण आउन बाँकी रहेको मुस्ताङ प्रशासनले बताएको छ । मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रमा आइतबार रातीसम्मको २४ घण्टामा २५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यता अविरल वर्षासँगैको बाढी र पहिरोका कारण म्याग्दीका मुख्य सडक तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । म्याग्दीमा शुक्रवार साँझदेखिको निरन्तर वर्षाका कारण जिल्लाका मुख्य तथा ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् ।

बेनी–जोमसोम,बेनी–दरबाङ लगायत म्याग्दीका अधिकाँश ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् । आइतबार साँझसम्म पनि वर्षा भइरहेको र पहिरो खसिरहेकोले सडकहरु खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले गर्दा जिल्लाको पश्चिम भेक जोड्ने बेनी-दरवाङ सडक खण्डको फापरखेत स्थित घुमाउने भीरमा सडक अवरुद्ध भएको छ । त्यस्तै, बेनी-जोमसोम-कोरला सडक खण्डको बैसरीमा सडक अवरुद्ध भएको छ ।

बेनी-दरबाङ सडकको फापरखेतको भिरमा पहिरो खस्दा शनिवार साँझदेखि अवरुद्ध सडक आइतबार साँझसम्म पनि संचालनमा आउन सकेको छैन । सडक ठप्प भएपछि पश्चिम म्याग्दीका बासिन्दा समस्यामा परेका छन् । यो सडक धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङका पश्चिमी क्षेत्रहरुलाई सदरमुकाम बेनीबजारसँग जोड्ने मुख्य सडक हो ।

लगातारको वर्षाले गर्दा बेनी नगरपालिका-९ अल्बाङमा ४० रोपनीमा लगाइएको धान तथा मकैमा बाढीले क्षति पुर्याएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । बेनी-ज्यामरुककोट, बेनी-छाप, दरबाङ-रुम, दरबाङ-देविस्थान जोड्ने सडकहरु पनि अवरुद्ध भएका छन् ।

उता उत्तरी म्याग्दीको महभिर-राम्चे सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध भएको छ । उक्त सडक पछिल्लो १५ दिनदेखि सडक अवरुद्ध रहेकोमा यस पटकको वर्षाले झन् बढी क्षति अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । त्यस्तै, बेनी जोमसोम सडकखण्ड अन्तर्गतको जलथले, गुइँठे र रुप्सेमा सडक निकै जोखिम अवस्थामा छ । अन्नपूर्ण गाउँपालिका-६ पोखरे बगरमा पहिरोले एउटा घरमा सामान्य क्षति पुगेको उहाँले बताउनुभयो ।

त्यसैगरी गलेश्वर-मौवाफाँट-दग्नाम-ध्यासीखर्क हुँदै कुइने मङ्गले जोड्ने सडक पहिरोले बगाएपछि आइतबार विहानैदेखि अवरुद्ध छ । बेनी-जोमसोम सडक खण्डअन्तर्गत वडा नम्बर-२ बैसरीमा सडक अवरुद्ध भएको छ ।

उता धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-लुलाङ सडक खण्ड अन्तर्गतको फलिया गाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।

मालिका गाउँपालिकाको केन्द्रबाट वडा जोड्ने सडक सबै बन्द भएका छन् । मंगला गाउँपालिकाको सिम-कुँहु सडक खण्डको खुम्ल्याहामा पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै बाबियाचौर-बरंजा जोड्ने सडक अवरुद्ध भएको छ ।

ग्रामीण सडक अवरुद्ध हुँदा तरकारी लगाएतका स्थानीय उत्पादन विक्री वितरणमा समस्या भएको किसानहरुले बताएका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ ।

“तोराखेत र बाङ्गेभीरमा लगातार पहिरो खसिरहेको छ, पहिरोका कारण सहजरुपमा सवारी साधन आवतजावत हुन सकेका छैनन्,कतिबेला ठूलै पहिरो खसरे सत्यानास बनाउने हो भन्ने त्रास छ” सवारीचालक तीर्थबहादुर शाहीले बताउनुभयो ।

बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न हुने गरेको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी-दरबाङ सडकको समस्या पनि बेनी-जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

यहाँका सडक अवरुद्ध भएपछि टाढा-टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जिल्लामा अन्य कुनै भौतिक तथा मानवीय क्षतिको विवरण आएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?