स्थानीय विकास संवाद : प्रचारमा आउन नरुचाउने वडाध्यक्ष अधिवक्ता कपिल केसी

हिमालय टाइम्स
Read Time = 13 mins

प्रचारमा आउन नरुचाउने वडाध्यक्ष अधिवक्ता कपिल केसी समाजको काम बोलेर हैन गरेर देखाउनुपर्छ । चुनौतीहरू धेरै छन् । त्यसैले प्रचारमा हैन समाजको काम गरेर देखाउने उद्देश्य छ उहाँको । कसैको घरमा विवाह व्रतबन्ध, मृत्यु होस् वा टोल छिमेकीमा भएका सभासमारोहहरू खबर आएपछि खाना खानै छाडेर सामाजिक कार्यमा लागिपर्ने ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-५ का अध्यक्ष कपिल केसी । सानै उमेरदेखि सामाजिक काम गर्न साह्रै रुचाउने व्यक्ति । २०७८ मा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएको दिनदेखि पार्टी र आफन्तभन्दा समाज र दिनदुखीको सेवामा अग्रसर रहँदै वडाको विकासमा सक्रिय हुनुहुन्छ । अध्यक्ष कपिल केसीसँग हिमालय टाइम्सका लागि विदुरप्रसाद अधिकारीले गर्नुभएको स्थानीय विकास संवाद :-

तपाईँ निर्वाचित भएपछि वडामा के-के काम भए ?
म वडाध्यक्ष पदमा निर्वाचित भएदेखि आफन्तलाई नजिक अरूलाई टाढा राखेर काम गरेको छैन र गर्ने पनि छैन । मेरोे पहिलो प्राथमिकता भनेको भित्री सडकहरूको स्तरोन्नति गर्नु हो । भित्री सडकहरूमा बस्ती बढी भएकाले मानिसहरूलाई आवतजावत गर्न गाह्रो भएको हुँदा आवतजावत र ढल निकासलाई प्राथमिकता दिँदै आएको छु । सबै काम एकैपटक गर्न सकिँदो रहेनछ । हाम्रो वडा नं. ५ मा निर्वाचित भएका हामीहरूको टिमले महालक्ष्मी नगरपालिकाबाट विनियोजित बजेटलाई भित्री सडक र बस्तीको विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । जसअनुसार हालको सेतीनाग कोलनी मार्ग, आदर्श टोलमा ब्लक बिछ्याउने कार्य सम्पन्न गरी सडकबत्ती बाल्ने कार्य सम्पन्न गरेका छौँ । टिकेश्वर घुम्तीमार्गमा बाटो स्तरोन्नति गरी १६ फिटको बनाउँदै ढल निकास गरी बाटो ढलान गरेका छौँ । यसैगरी मोतीमार्गदेखि बुढाथोकी चोकसम्म ढल निकास गरी बाटो ढलान गरेका छौँ । स्वर्गद्वारी मार्ग र मोतिमार्गको भित्री बाटो ढल निकास गरी सडक ढलान, मोतीमार्ग ग्याँस चोकदेखि बुढाथोकी चोकसम्म सडक विस्तार र ढलान, मोतीमार्ग बालिका टोलको सडक विस्तार र ढल निर्माण कार्य सम्पन्न भएको छ । गणेश मार्ग, समावेशी मार्ग, टिकेश्वर मार्ग भित्री सडक ढलान र गोलभट्टा भित्री सडक सीमांकन गरी आवतजावतलाई सहज बनाएको अवस्था छ । जनमैत्री टोलको भित्री सडक ढलान गरेका छौँ । झिकुचा मार्ग भगवती मन्दिरदेखि स्कुल पवन प्रकृतिसम्म सडक विस्तार गरी सीमांकनबाट वाल लगाउने कार्य पूरा भएको छ । स्वस्तिक टोल झिकुचा मार्ग वाल लगाई ढलान गर्ने कार्य सम्पन्न गरिसकेका छौँ । जागरण मार्गमा कालोपत्रे गरेका छौँ । मिरमिरे गोलभट्टा सडक खण्डमा ढल निर्माण कार्य सम्पन्न गरी सडकमा कालोपत्रे गरेका छौँ । निर्मल बस्तीलाई ढल निकास गरिसकेका छौँ । मिलनचोक सडक खण्ड, सुन्दर मार्ग, राधाकृष्ण मार्गसम्म सडकमा कालोपत्रे गरेका छौँ । कृष्णमन्दिरदेखि गोदावरी बाटोसम्म र पवन प्रकृति स्कुलदेखि तीनकुनेसम्मको सडकलाई सीमांकन गरी रेखांकनसमेत गरिसकेका छौँ । अन्य स्थानमा केही समस्या देखिएको हुँदा त्यसलाई पनि समाधान गरी चाँडै निकास निकाल्ने तयारीमा छौँ ।

सामाजिक जनचेतनाका कार्यहरू कत्तिको प्राथमिकतामा परेका छन् ?
स्वास्थ्यका क्षेत्रमा महिलाहरूको पाठेघर र स्तनमा देखिएको समस्या समाधानका लागि स्वास्थ्य शिविर, मोतीबिन्दु पीडित ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर, महिलाहरूका लागि सिलाइबुनाइ तालिम सञ्चालन गरेका छौैँ । तर, उपभोक्ताहरूको चाहनाअनुसारका कार्यहरू गर्न नसकेकोमा पश्चाताप भएको छ ।

शिक्षा क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
यो वडा नं. ५ मा एउटामात्र सामुदायिक विद्यालय महेन्द्रग्राम मावि रहेको छ । यो स्कुलको निजी भवन नभएकाले अर्कोको घरमा सञ्चालन हुँदै आएको छ । यसलाई मध्यनजर गर्दै निवर्तमान अध्यक्ष राजकुमार सिलवालको संयोजकत्वमा विद्यालयलाई जग्गा खरिद गर्ने समिति बनेको थियो । त्यो समितिको सहसंयोजकको जिम्मेवारी मैले लिएको हुँदा विद्यालयलाई पाँच लाख पचपन्न हजार रुपैयाँ मैले नै जम्मा गरिदिएको थिएँ । त्यसपछि विभिन्न व्यक्ति तथा समुदायबाट रकम संकलन गरी जग्गा खरिद गरेर १२ कोठे भवन निर्माण सम्पन्न हुँदैछ । अर्को कुरा यस वडामा सञ्चालन भएका निजी स्कुलमा भर्ना भएका विद्यार्थीहरूको संख्याका आधारमा जेहेन्दार, गरिब, पिछडिएका परिवारका बालबच्चालाई निःशुल्क अध्ययन गराउन १० प्रतिशत छात्रवृत्ति कोटा कडाइका साथ कार्यान्वयन भएको छ ।

भगवती मन्दिरदेखि गोदावरी पुलसम्मको मुख्य सडकलाई लिएर गुनासो बढेका छन् नि ?
विगतमा एउटा गाडी आवतजावत गर्नसम्म कठिन भइरहेको सडकलाई विगतका जनप्रतिनिधिहरूले स्तरोन्नति गर्न बाँकी राखेको हुँदा मैले तत्कालका लागि मेरो व्यक्तिगत रकमबाट २६ फुटको सडक सीमांकन गरिसकेको छु । सडक स्तरोन्नति भएको देखेर महालक्ष्मी नगरपालिकाको कार्यसमितिको बैठकबाट शोधभर्ना भए तापनि निर्माणको कार्यमा सक्रियता देखाउँदै आएको छु । यो भगवती मन्दिरदेखि मोतिचोकसम्म ४७८ मिटरको मुख्य सडक पिचका लागि टेण्डर भइसकेको हुँदा कालोपत्रे हुने क्रममा छ । धुलोका विषयमा प्राप्त जनगुनासोलाई आत्मसात गर्दै विगतदेखि नै मैले समय-समयमा पानी हालिदिने र खाल्टाखुल्टी परेको ठाउँमा ग्राभेल बिछ्याउने कार्य गर्दै आइरहेको छु । अर्को कुरा मोतिचोकदेखि गोदावरी पुलसम्म ७० मिटर सडक पिच गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत ललितपुर जिल्लाबाट दुई करोड रकम विनियोजन भई टेण्डर प्रक्रियामा रहेको छ । त्यसैले यस क्षेत्रका आमजनसमुदायमा यो अपिल गर्दैछु कि अबको दुई वर्षभित्र सबै ठाउँमा ढल निकास, सडक पिच वा ढलान सम्पन्न, शुद्ध पिउने पानी वितरणमा जोड दिनुका साथै रोडमा रुखबिरुवा लगाइनेछ । अधुरा रहेका निर्माण कार्यहरू सम्पन्न गराउन निर्माण व्यवसायीसँग पनि कुरा भइरहेको छ ।

तत्काल गर्नुपर्ने योजना केही छन् कि ?
बृहत् खानेपानी योजनालाई अगाडि सारेको छु । यस ५ नं. वडामा उपभोक्ताहरूको जनघनत्वलाई मध्यनजर गर्दै राधाकृष्ण खानेपानी र टिकाथली खानेपानीले मात्र थेग्न नसक्ने भएको हुनाले दुवै स्थानको ट्यांकी सरसफाइ गरी गुणस्तरीय फिल्टरद्वारा पानी फिल्टर गरी पिउन उपयुक्त बनाउँदै नयाँ ट्यांकी निर्माणका निम्ति सार्वजनिक जग्गा नभएको हुँदा साबिक गोदावरी खोलाले छोडेका जग्गाहरू सीमांकन तथा रेखांकन गरी छुट्याइनेछ । साथै मेलम्ची खानेपानी र थापाखर्क खानेपानी आयोजनासँग आवश्यक सहकार्य गरी यहाँका उपभोक्ताहरूलाई आवश्यकताअनुसार पानी वितरण गर्ने प्रयास गर्दैछौँ । यसैगरी गोदावरी खोलादेखि हनुमन्ते खोला र मनोहरा खोलासम्मको करिडोर निर्माण गरी ढल निकास गराउँदै सडकछेउ वरपर वृक्षारोपण कार्य गर्ने तयारी छ । अर्को कुरा महालक्ष्मी नगरपालिकासँग समन्वय गरी झिकुचा मार्ग सडक निर्माण कार्य सम्पन्न गर्नु मेरो पहिलो दायित्व हुनेछ । यसबाट महालक्ष्मी नगरपालिकाभित्रका ३, ४ र ५ का उपभोक्तालाई सहज हुने र यस वडाभित्रको सिमानामा पर्ने ग्वार्कोको ट्राफिक जामलाई न्यूनीकरण गराई जडीबुटीदेखि सानागाउँसम्मका उपभोक्ताहरूलाई आवतजावतमा सहजीकरण हुनेछ । बमुडी मार्ग लोभभट्टा भण्डारी गाउँ सडक खण्डलाई स्तरोन्नतिका लागि पहल गरिनेछ । यस वडा नं. ५ को मोतिमार्गदेखि वडा नं. ६ सम्म सडक स्तरोन्नति गरी लुभु-लामाटार सानागाउँका उपभोक्ताहरूलाई भक्तपुर लोकन्थली कौशलटारसम्म छिटो र सजिलो मार्गका रूपमा विकसित गरिनेछ ।

यस वडामा सामुदायिक भवनको अवस्था कस्तो छ ?
यस वडामा मोतोश्वर उपभोक्ता समिति र गुठी भवन रहेको हुँदा यसलाई मर्मत गरी स्तरोन्नति गराउन बजेट विनियोजन गरिसकेको छु । अब सामुदायिक भवन र क्रियापुत्री भवन एक खुल्ला व्यायामशालाको अत्यन्तै आवश्यकता भएको हुँदा उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरी अबको तीन वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छु ।

भगवती मन्दिरदेखि गोदावरीसम्मको मुख्य सडकमा धेरै भ्रष्टाचार भएर कालोपत्रे हुन नसकेको भन्ने जनगुनासो आएको छ नि ?
म फेसबुक र टिकटकको भ्रामक तथा निरर्थक कुरालाई लिएर टिकाटिप्पणी गर्न चाहन्न । म कुरालाई भन्दा कामलाई विश्वास गर्ने मान्छे भएकाले मिडियामा पनि त्यति आउन रुचाउँदिन र हाइलाइट हुनु पनि चाहन्न । त्यसैले अबको तीन वर्षभित्र महालक्ष्मी नगरपालिका वडा नम्बर ५ लाई नमुना वडाका रूपमा विकसित गराइछाड्छु, मेरो प्रतिज्ञा हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?