बागमती प्रदेशले अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तरप्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तरप्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ ।

अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ । दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्य-सचिव भण्डारीले जानकारी गराउनुभयो । दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराँते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आइटिएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय तह र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड क्रमशः मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । बैठकमा गत आर्थिक वर्षको समीक्षा पनि भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?