म्याग्दीमा धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीका किसानले लगाएका धान खेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानको विरुवाको पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

समयमा नै वर्षा नभएकाले ढिलो गरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कदै गरेका धानका विरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन् ।

अन्य वर्षभन्दा यस वर्ष मनसुन ढिलो गरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परिरहेको छ । किसानहरु धानको गोडमेलमा व्यस्त छन् । तर खेतमा धानका पात पहेला भएका र गुभो मर्न थालेको देखे पछि किसानहरुले वडाका कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रमा जानकारी दिने गरेका मालिका गाउँपालिका ७ का किसान टेकविर बूढाले बताउनुभयो ।

सुरुमा जिल्लाको पश्चिमी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेकाले किसान पीडित हुने गरेको हो । म्याग्दी जिल्लाको अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकिन हुन सकेको छैन । धानमा यो रोग देखा परेपछि यसको निदान किसानले आफैँ गर्दै आएका छन् ।

कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन सल्लाह दिएका छन् । यहाँका किसानले बढी मात्रामा स्थानीय जातको गौरिया, गुडुरा, जेठोबुढोलगाएतका जातका धानखेती गर्ने भएकाले यो धानबालीमा बढी मात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिनुभयो ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसानको भनाइ छ ।

धानमा पहेँलो गवारो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा/बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिनुभयो ।

“गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, अधिकृत सिग्देलले भन्नुभयो “धान खेतमा कीराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।”

म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सा सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ ।

लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?