सुदूरपश्चिमका वर्तमान र तत्कालीन निमित्त वन निर्देशक दुबै विवादमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 13 mins

कैलाली । सुदूरपश्चिम प्रदेशका वर्तमान निमिक्त वन निर्देशक कृष्णदत्त भट्ट र तत्कालिन निमित्त वन निर्देशककै रुपमा कार्यरत हेमराज विष्ट विवादित छविका व्यक्ति हुन् । पदको दुरुपयोग गरेर निजी सम्पत्ति आर्जन गर्न अग्रसर दुबै जना यतिबेला झन् विवादमा छन् ।

वर्तमान निमिक्त निर्देशक भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गर्दै आएको भिडियो सार्वजनिक भएको छ भने तत्कालिन निमित्त वन निर्देशक विष्ट अकुत सम्पत्ति आर्जन गरेको भन्दै करिब दुई वर्ष मुद्दा नै झेल्नु परेको थियो । उच्च अदालतबाट सफाई पाएलगत्तै पुनः पुरानै पदमा फर्कन विष्ट लविङमा छन भने भट्ट यही बिचमा अवैध रुपमा रकम असुली गरेर चौतर्फी विवादमा तानिएका छन् ।

अवैध सम्पत्ति आर्जनमा अब्बल विष्ट

साविक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम (हाल खारेज भइसकेको)मा भ्रष्टाचार गरी करिब सात करोड अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालिन निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर भयो । गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पत्नी रुवी जिसी विष्टसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले २०७८ पौष २१ गते अदालतमा मुद्दा दायर नै गरेको थियो ।

विष्टविरुद्ध गैरकानुनी रूपमा आर्जित सम्पत्ति ६ करोड ८७ लाख ५७ हजार रुपैयाँलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको थियो । सम्पत्ति जफतको प्रयोजनका लागि मात्र आयोगले पत्नी जिसीलाई प्रतिवादी बनाइएको थियो । २७ वैशाख २०५५ मा सहायक वन अधिकृतबाट सरकारी सेवा सुरु गरेका विष्टले करिब २२ वर्षको अवधिमा यति ठूलो मात्रामा गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
६ चैत २०६८ मा उपसचिवसरहको जिल्ला वन अधिकृतमा बढुवा भएका उनी निमित्त वन निर्देशकका रूपमा कार्यरत थिए । आयोगले विष्टको सरकारी सेवामा बहाल अवधि २७ वैशाख २०५५ देखि १७ कात्तिक २०७७ सम्ममा सिर्जित सम्पत्ति र खर्च तथा लगानीसहितको आयव्ययमाथि अनुसन्धान गरेको थियो । आयोगको छानबिनबाट सरकारी सेवामा बहाल अवधिमा उनको वैध आय १७ करोड ३७ लाख १२ हजार देखिएको थियो ।

त्यही अवधिमा विष्टको खर्च तथा लगानी भने २४ करोड २४ लाख ६९ हजार रुपैयाँ देखिएको थियो । विष्टले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी जिसीका नाममा भएका घरजग्गा तथा बैंक खाताहरूमा समेत राखेको देखिएकाले पत्नीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि आयोगले प्रतिवादी बनाएको थियो । आरोपपत्रमा उल्लेख भएअनुसार विष्ट र पत्नी जिसीका नाममा काठमाडौं र भक्तपुरसहित विभिन्न जिल्लाका ३२ ठाउँमा घरजग्गा देखिएको छ ।

काठमाडौं, भक्तपुर, कास्की, दाङ, कैलाली र कञ्चनपुरमा विष्ट दम्पतीको घरजग्गा देखिएको आरोपपत्रमा उल्लेख छ । विवादित वैज्ञानिक वन व्यवस्थापनमा कार्यरत रहेका विष्टले पदको दुरुपयोग गरी गैरकानुनी गतिविधि सुरु गरेका थिए । कार्यक्रमलाई नै उनले गैरकानुनी सम्पत्ति आर्जनको थलो बनाएका थिए ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध साधारण सदस्यहरूको किर्ते दस्तखत गर्ने, नक्कली घरधुरी खडा गरी समितिमा राख्ने, एउटै घरमा एकजनाभन्दा बढीलाई समितिको सदस्य बनाउने लगायतका किर्ते गतिविधिमा विष्ट सहभागी भएको आयोगको अनुसन्धानबाट देखिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता भएको निष्कर्षसहित त्यसमा संलग्नमाथि कारबाही गर्न २०७७ मा संसद्को सार्वजनिक लेखा समितिले सिफारिस नै गरेको थियो। आयोगले मुद्दा दायर गरेको यिनै विष्टमाथि साझेदारी वनहरूको कटान प्लट निरीक्षण गर्नेक्रममा काठ व्यवसायीसँग मिलेमतो गरी अवैध रूख कटानलाई वैध बनाउने कार्य गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । तर विशेष विशेष अदालतले उपसचिव स्तरका विष्ट र उनकी पत्नी जिसीलाई यस मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट हालै मात्र यस्तो फैसला भएको हो ।

निमित्त निर्देशक भट्टले घुस लिएको भिडियो सार्वजनिक

सुदूरपश्चिम प्रदेश वन निर्देशनालय मातहतका कार्यालयहरूबाट घुस वाफत रकम असुली गरेको भिडियो बिहीबार सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्टलाई फेरि सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ । वन मन्त्रालयको व्यापक असहमतिकाबीच बिहीबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भट्टलाई निमित्त वन निर्देशकमा नियुक्त गरेको हो ।

वन मन्त्रालयले उनीभन्दा वरिष्ठ उप–सचिव हेमराज विष्टलाई नियुक्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको थियो । तर शक्तिकेन्द्रको दबाबमा मुख्यमन्त्री कार्यालयले फेरि भट्टलाई नै निर्देशकमा नियुक्त गरेको विषय बाहिर आएको छ । यसअघिका निमित्त निर्देशक हेमराज विष्टको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेदकुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाउनु भएकाे छ ।

वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा गालीगलोच गरेको अडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त अडियो सुनेपछि वन मन्त्री धामीसहित उहाँको सचिवालयका कर्मचारी झनै रुष्ट बनेका छन् ।

मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडिओमा निर्देशक भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन् । भिडिओमा निर्देशक भट्ट मादक पदार्थ सेवन गरेको अवस्थामा देखिएका छन्।

उहाँले भिडिओमा भन्नुभएको छ, ‘उसले कति दियो मलाई २० दियो । कोले अछामले, बाजुराले दिएन । डोटीले ५० दियो । बझाङले २० दियो, दार्चुलाले दिएन । मतलब पनि भएन । बैतडीले दियो १४, कञ्चनपुरले ३० दियो । जोशीजीले ५० दिए ।’ उहाँलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम पठाएको छैन।

वन जोगाउनभन्दा पैसा असुलीमा केन्द्रित

पछिल्लो डेढ वर्षदेखि निमित्त निर्देशक रहेका भट्टको ध्यान वन जोगाउने भन्दा पनि पैसा उठाउनमै केन्द्रित थियो भन्ने सार्वजनिक भिडियोले पनि पुष्टि गरेको छ । भट्टले कार्यालयको काममा भन्दा आफ्नो निजी व्यापार व्यवसायमा ध्यान दिने गरेको, कार्यालयमा बिरलै मात्र आउने गरेको र कहिलेकाहीँ आइहाले पनि एक दुई घण्टामै कार्यालय हाताबाट बाहिरिने गरेको कार्यरत कर्मचारीकै गुनासो छ ।

उनले विभिन्न मन्त्रालयबाट गरिब कृषकका लागि आएको करिब ४५ लाख अनुदान लिएर डडेलधुराको भद्रपुरमा आफन्तका नाममा बाख्रा फर्म र नर्सरी स्थापना गरेका छन् । कार्यालयको गाडी र चालक समेत लगेर हप्तौँसम्म बसी कार्यालयको सवारीसाधन तथा चालकको समेत चरम दुरुपयोग गर्ने गरेको खुलेको छ ।

आफ्नै काममा गएका वेला समेत भट्टले कार्यालयबाट सरकारी दैनिक भ्रमण भत्ता समेत बुझ्ने गरेको, पटक–पटक मादक पदार्थ सेवन गरी होहल्ला तथा गालीगलौज गर्ने गरेको विषय पनि बाहिर आएको छ । पहलमानपुरमा कार्यरत रहँदा वैज्ञानिक वनमा भएको अनियमितताबारे उहाँका नाममा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरिएको मुद्दा विचाराधीन छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने बित्तिकै भट्ट निलम्बनमा पर्नेछन् ।

निर्देशकलाई छानबीन गर्न समिति गठन

सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक भट्टलाई छानबीन गर्न समिति गठन गरिएको छ । प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री मानबहादुर धामी संयोजक रहेको समिति गठन गरिएको हो । प्रदेश सभाको लेखा समितिले भट्ट मातहतका कार्यालयबाट घुस माग्ने गरेको भिडिओ सार्वजनिक भएपछि छानबिनका लागि उपसमिति गठन गरेको हो ।

उप समितिको संयोजकमा पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी हुनुहुन्छ भने सदस्यहरुमा वीरबहादुर थापा, खेमा विष्ट, बेलबहादुर रानामगर र टीका थापा हुनुहुन्छ ।

सोमवार बसेको प्रदेशसभाको बैठकमा पूर्व वनमन्त्री समेत रहेका माओवादीका प्रदेशसभा सदस्य मानबहादुर धामी र एमाले संसदीय दलकी उपनेता सन्तोषकुमारी शर्मा थापाले निर्देशक भट्टमाथि छानबिन गरेर कारबाही गर्न सरकारसँग माग समेत गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?