आइसिटी छात्रवृत्ति २०८० का लागि आवेदन खुला

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्तिको ‘नेशनल आइसिटी स्कलरसिप- २०८०’ का लागि आवेदन खुला गरेको छ । महासंघले देशभित्र सूचना प्रविधिको अध्ययन-अध्यापन गर्ने, गराउने कलेजको सहयोगमा गरिब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । महासंघले छात्रवृत्ति काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा सुरु गरेको हो । कार्यक्रमअन्तर्गत यस वर्ष पनि ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने क्यानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

महासंघका अनुसार नेशनल आइसिटी स्कलरसिप-२०८० मा सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी सात प्रदेशबाट एक÷एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा पहुँच पुर्‍याउन छात्रवृत्ति कार्यक्रमले टेवा पु¥याउँदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित कार्यक्रमअन्तर्गत हालसम्म एक सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

यस वर्ष पनि फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चारजनाका दरले २८ छात्रा र आइसिटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभएको छ । क्यान महासंघ र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले दुई करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृति प्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बिएससी आइटी अध्ययन गर्न पाउनेछन् ।

क्यानका अनुसार नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति प्रदान गर्न क्यानले केन्द्रीयस्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुरकुमार श्रेष्ठ, भुपाल दास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लर्ड बुद्ध एजुकेशन फाउण्डेसनको वेबसाइटमार्फत् भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

छात्रवृत्तिमार्फत् देशका दुर्गम क्षेत्रका विपन्न विद्यार्थीले पनि सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई आफ्नो पेशा/व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान अध्यक्ष रणजितकुमार पोदारले बताउनुभयो । छात्रवृत्तिका लागि सूचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यानसँगको सहकार्यले देशभित्र रहेको डिजिटल-डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थालाई पनि सार्वजनिक–निजी साझेदारीका लागि प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष ई. पंकज जालानले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?