धरानमा निषेधाज्ञा

सामाजिक सद्भाव कायम गर्न अपिल

हिमालय टाइम्स
Read Time = 9 mins

सुनसरी । सुनसरीको धरानमा प्रशासनले शुक्रबार रातिदेखि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरी शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गर्नुभएको छ । ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखेर संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०/०५/०८ गते राति १२ बजेदेखि मिति २०८०/०५/०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍यालि/ भेला जम्मा/प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

पछिल्लो समय जातीय र धार्मिक विवादमा फसिरहेको धरानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । धरानमा धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिने भन्दै पूर्वजनप्रतिनिधिहरू पनि बोलेका छन् । धरानका मेयर हर्क साम्पाङसहितको भड्किलो अभिव्यक्तिले तनाव बढिरहेका बेला बिहीबार धरानका तीनजना पूर्वमेयर र एकजना उपमेयरले संयुक्त अपिलमार्फत सामाजिक सद्भाव बचाइराख्न अपिल गरेका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघमा पूर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा भएको भेलापछि यस्तो अपिल गरिएको हो । उक्त भेलापछि निवर्तमान मेयर तिलक राई, पूर्वमेयर कुमारबहादुर कार्की, पूर्वमेयर मनोजकुमार मेन्याङ्बो र पूर्वउपमेयर मीनकुमार सुब्बाले संयुक्त अपिल गर्नुभएको हो । अपिलमा धार्मिक, सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरू बसेर वार्ता र छलफलबाट मात्रै समाधान गर्न आहृवान गरिएको छ । धरानको सद्भाव कायम राख्न शनिबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्‍याली निकालिने भएको छ । उक्त ¥यालीमा सहभागिताको लागि अपिल गरिएको छ । र्‍याली छाताचोकस्थित पुरानो अस्पतालबाट सुरु भएर भानुचोकसम्म पुग्नेछ । त्यसअघि, धार्मिक तथा सांस्कृतिक विवादलाई समाधान गर्न शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको थियो । तीन पूर्वमेयरले धरानको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । धरानमा पछिल्लो समय मन्दिर अगाडि चर्च बनाइएपछि धार्मिक विवाद सुरु भएको हो ।

धार्मिक विवाद साम्य नहुँदै गत साता गोरु काटेर खाएको घटनाले धार्मिक तथा सांस्कृतिक विवादलाई थप मलजल गरेको छ । यो घटनापछि आक्रोशित हिन्दु धर्मावलम्बीहरूले भदौ ९ गते अर्थात् धरानमा गौ–संरक्षणका लागि प्रदर्शन गर्ने तयारी गरेका छन् । यसका लागि धरानबाहिरबाट हिन्दु धर्मका गुरुहरू धरान जाने कार्यक्रम छ । अर्कोतर्फ, गोरुको मासु खान पाउने सांस्कृतिक अधिकार भन्दै प्रतिरोध गर्ने तयारी गरेका छन् ।

सामाजिक सद्भाव खलबल्याउन हुँदैन : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनभुएको छ । शुक्रबार चाँगुनारायण नगरपालिका-५ नम्बर वडा कार्यालय र छालिङ स्वास्थ्य चौकीको नवनिर्मित भवनहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खलबल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखापर्न थालेको बताउनुभएको हो । उहाँले सद्भाव खलबल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरू र आम नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो । उहाँले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडि बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आपसी सद्भाव कायम राख्न मेयर साम्पाङको अपिल
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरूमा अपिल गर्नुभएको छ । उहाँले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गर्नुभएको हो । ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ साम्पाङले भन्नुभएको छ । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने उहाँले उल्लेख गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?