पार्टी खुम्चिएपछि गाउँ फर्किंदै माओवादी

२५ लाख मतदातालाई भेट्ने, आठ लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज (शनिबार)देखि सुरु गर्ने भएको छ । माओवादीले आजदेखि देशभरका सबै वडामा एकसाथ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भर्चुअल’ माध्यमबाट अभियानको उद्घाटन गर्ने माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज (शनिबार) दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने माओवादीको योजना छ । माओवादी केन्द्रको गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । १० वर्षे सशस्त्र युद्ध गरेर उदाएको माओवादीमाथि शान्ति प्रक्रियामा आएपछि धरातल बिर्सिएको आरोप लाग्दै आएको छ । गाउँबाट उदाएको माओवादी सहर केन्द्रित हुँदा पार्टीको आकार पनि घट्दै गएको छ । शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । दोस्रो संविधानसभा र पछिल्ला दुई निर्वाचनसम्म आइपुग्दा तेस्रोमा खुम्चिएको छ । त्यो पनि दोस्रोसँग भारी अन्तर छ । पार्टी खुम्चिँदै गएपछि बल्ल माओवादीले गाउँ सम्झिएको हो । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन मद्धत गर्ने माओवादीको विश्वास छ ।

माओवादी केन्द्रले अभियानको नारा ‘घर-घरमा माओवादी, जन-जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्‍याउने लक्ष्य राखिएको प्रवक्ता सापकोटाले बताउनुभयो । अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने माओवादीको लक्ष्य छ । जनतासँग भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूबारे जानकारी गराउने उहाँले बताउनुभयो ।

तीन चरणमा अभियान सञ्चालन हुने
अभियान तीन चरणमा सञ्चालन हुने माओवादीले जनाएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।
दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक संघ संस्थासँग अन्तरक्रिया गरिने जनाइएको छ । तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने माओवादीले जनाएको छ ।

अध्यक्ष प्रचण्डसहित सबै केन्द्रीय सदस्यको कार्यक्षेत्र तोकियो
अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ । अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ घट्टेडाँडा पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुने छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धि ललितपुरमा जानुहुने भएको छ । उपाध्यक्षहरू कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर-३ सिन्धुपाल्चोक र पम्फा भुसाल ललितपुर महानगरपालिका-२२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका-८ भोटेओडार लमजुङको जिम्मेवारी लिनुभएको छ भने उपमहासचिवहरू गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका-४ काठमाडौं, वर्षमान पुनले काठमाडौं महानगरपालिका-१६ गंगबु, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जनार्दन शर्माले चन्द्रागिरी नगरपालिका-२ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका-१ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतको जिम्मेवारी लिनुभएको छ ।

त्यसैगरी, सचिवहरू दिनानाथ शर्मालाई बागलुङ नगरपालिका-१२ बागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका-१८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका-२० कास्की, लीलामणि पोखरेललाई बर्दिवास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका-१० बानेश्वर, हितमान शाक्यलाई सिस्ने गाउँपालिका-६ रुकुमपूर्व, हितराज पाण्डेलाई पालुङटार नगरपालिका-६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका-१६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्धशान्ति गाउँपालिका-४ झापाको जिम्मेवारी तोकिएको छ । कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरी नगरपालिका-२ काठमाडौंको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।

प्रधानमन्त्रीको भ्रमणमा चीनले जारी गरेको नयाँ नक्साबारे कुराकानी हुन्छ : सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालको चुच्चे नक्सा नसमेटेरै चीनले सार्वजनिक गरेको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा कुरा हुने बताउनुभएको छ । चीनले जारी गरेको नक्सामा नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको विषय प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा कुराकानी हुने उहाँले बताउनुभयो । चीनले नक्सामा नेपालको भूमि नसमेटेको बारे कूटनीतिक माध्यमबाट पनि कुरा गर्नुपर्नेसमेत बताउनुभयो । ‘चीनले जारी गरेको नक्सामा किन नेपालको विषय समेटिएन भन्नेबारे कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटनीतिक पहलकदमी बढाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘मुख्यतः हाम्रो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । सरकार प्रष्ट हुँदै जनतालाई पनि प्रष्ट गर्नुपर्छ ।’ चीनले सोमबार ‘स्ट्याण्डर्ड म्याप’ भन्दै नयाँ नक्सा जारी गरेको थियो । चीनले जारी गरेको नयाँ नक्सामा नेपालको ‘चुच्चे भाग’ गायव छ । चुच्चे नक्साको स्थानमा ‘बुच्चे’ नक्सालाई नै राखिएको छ । अर्थात् चीनले नेपालको पुरानै नक्सा देखाएको छ । उहाँले अमेरिकी सहयोगको एमसिसी परियोजना कार्यान्वयनका लागि संसद्बाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसिसीको अंग बनाउनुपर्ने समेत बताउनुभयो ।

माओवादी र कांग्रेसबीच खटपट भएको छैन
प्रवक्ता सापकोटाले सत्ता गठबन्धनमा तत्काल कुनै समस्या नआउने दाबी गर्नुभएको छ । शुक्रबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले सत्ता साझेदार दल नेपाली कांग्रेससँग खटपट नभएको दाबी गर्नुभएको हो । केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीमाथि उठाएको प्रश्नबारे सोधिएको प्रश्नमा प्रवक्ता सापकोटाले भन्नुभयो, ‘एउटा सांसदले उहाँलाई के लागेर त्यस्तो कुरा गर्नुभयो ? राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन । गएको कांग्रेस केन्द्रीय समिति बैठकले गठबन्धनप्रति दृढ रहने निर्णय गरिसकेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?