‘विधि विकाससँगै अवसर र चुनौती थपियो’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरूपयोगको चुनौती थपिएको बताउनुभएको छ । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत् पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत् किन नहोस्, सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको छ ।’

आफू अर्थ मन्त्रालयमा पुगेपछि इमान्दारितासाथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट काम गर्ने प्रयास गरेको उल्लेख गर्दै मन्त्री महतले आफ्नो कामलाई साथीहरूले आत्मसात पनि गरेको र कतिपय अवस्थामा प्रश्न पनि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्भित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्, आर्थिक पत्रकार समाजलगायत सञ्चार जगत्ले अर्थ मन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्ष रूपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैँ खुला छु ।’

आफूले राम्रो गर्न खोज्दाखोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने भन्दै त्यस अर्थमा सेजनलाई निरन्तर अन्तरक्रियामा रहिरहन पनि मन्त्री महतले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कामका सिलसिलामा लागिरहँदा हाम्रो कुरालाई ध्यान दिएन कि अथवा सुनेन कि भन्ने लाग्यो भने समयमै मलाई जानकारी दिन अनुरोध गर्दछु । देशको अर्थतन्त्र लयमा ल्याउने प्रयास मैले गरिरहेको छु, पत्रकार जगत्, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु । राज्यबाट पनि तपाईंहरूले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वाभाविक हो । त्यसको सहजीकरण हुन्छ ।’

उहाँले पर्यटन क्षेत्रमा सुधार भइरहेको, विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको भन्दै आर्थिक गतिविधि अघि बढाउन जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेकाले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने जिकिरसमेत गर्नुभयो । मन्त्री महतले भन्नुभयो, ‘हामीले अनुमान गरेअनुसार राजस्व बढेको छैन, पोहोर सालको तुलनामा वृद्धि भइरहेको छ । आउँदो वर्ष लक्ष्यमा पुग्ने विश्वास लिएको छु । राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?