नेपाली भलिबल खेलाडीले मासिक पारिश्रमिक पाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडीले अबदेखि मासिकरूपमा पारिश्रमिक पाउने भएका छन् । नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाली राष्ट्रिय महिला र पुरुष दुवै टिमले अबदेखि मासिक पारिश्रमिक पाउने जनाएको हो । यसअघि नेपालको भलिबल टिमले कुनै प्रतियोगिता खेलेबापत भत्ता पाउने गरे पनि टिमलाई मासिक तलबको व्यवस्था भने थिएन । अबदेखि भलिबलका महिला-पुरुष दुबै टिमले मासिक पाँच हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।

भलिबल संघलाई अमेरिकामा रहेको नेपाली समुदायले खेलाडीहरूलाई मासिक पारिश्रमिक उपलब्ध गराउनका लागि आर्थिक उपलब्ध गराएका हुन् । खेलाडीहरूको पारिश्रमिकका लागि अमेरिकामा रहेका २४ नेपालीहरूको सहयोग गरेको संघले जनाएको छ ।

मंगलबारको कार्यक्रममा संघले खेलाडीहरूलाई तीन महिनाको पारिश्रमिक वितरणसमेत गरेको छ । संघले सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाको पारिश्रमिक उपलब्ध गराएको हो । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अबदेखि विदेशमा रहेका नेपाली समूदायबाट सहयोग नआए पनि भलिबल संघ आफैँले पारिश्रमिक दिने व्यवस्थालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली महिला भलिबल टिमकी कप्तान अरूणा शाहीले खेलाडीको हौसला बढाउन संघले गरेको कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । ‘मैले १६ वर्षदेखि भलिबल खेलिहरेको भए पनि भलिबल टिमले पहिलोपटक पारिश्रमिक पाएको छ । खेलाडीहरूको हौसला बढाउन संघले गरेको यो कार्यप्रति धन्यवाद दिन चाहन्छु’,कप्तान शाहीले भन्नुभयो ।

यस्तै, पुरुष भलिबल टिमका कप्तान मानबहादुरले पारिश्रमिक पाएको दिन ऐतिहासिक भएको बताउनुभयो । ‘मैले टिमको कप्तानी सम्हाल्दा नै मासिक पारिश्रमिकको सुरुआत भएको छ । हाम्रो लागि आज ऐतिहासिक दिन हो । यसका लागि समन्वय गर्नुहुने संघका सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु’, कप्तान श्रेष्ठले भन्नुभयो । नेपाली पुरुष र महिला टोली अहिले एशियन गेम्सको तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?