अनुसन्धान अन्तिम चरणमा, बुधबारसम्म प्रतिवेदन बुझाउने सिआइबीको तयारी

शुक्रबारसम्म मुद्दा दायर गरिसक्नुपर्ने

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको करिब ६१ किलो सुन प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन प्रकरणको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको जनाएको छ । सिआइबीका अनुसार प्रकरणमा पक्राउ परेका आरोपितविरुद्ध प्रमाण संकलन गरिरहेको छ । त्यस्तै, केही फरारहरूको संलग्नताबारे पनि अनुसन्धान गरिरहेको छ ।

गत साउन २ गते विमानस्थल भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको स्कुटरको ‘ब्रेक सु’मा लुकाएर ल्याइएको सुनसम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर विभागले बाँकी अनुसन्धान सिआइबीलाई जिम्मा लगाएको थियो । पक्राउ परेका व्यक्तिलाई ३ गते मात्र पक्राउ पुर्जी दिइएकाले त्यसको ६० दिन अर्थात् आगामी शुक्रबारभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ । सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागिसमेत समय लाग्ने भएकाले सिआइलाई अनुसन्धान सक्न अब चार÷पाँच दिनको मात्र समय बाँकी छ । अबका चार/पाँच दिनमा सिआइबीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसक्नु पर्नेछ ।

प्रकरणमा हालसम्म प्रहरीले २७ जनालाई पक्राउ गरेको छ । रावस्व अनुसन्धान विभागले दोलखाको मेलुङ गाउँपालिका-३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेण्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जिक्वाङ लिन र राजन श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेण्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी विमानस्थल भन्सार कार्यालयका कर्मचारी कुमार ढकाल, नायब सुब्बा सरोज श्रेष्ठ लगायतलाई पक्राउ गरेको छ ।

यस्तै, चिनियाँ नागरिक सिआइबीले टियान मी, वेन तोङ, डिङ सेग्फा, ली-नेङकाई, याओ पुचेङ, ली वेन सुङ, भन्सारका कर्मचारी गणेश पौडेल, दावालाई सहयोगीका रूपमा किशोर बस्नेत, सीमा नाकाबाट भारतमा सुन पुर्‍याउने सुमन खरेल र बारा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शिवकुमार सर्राफलाई पक्राउ गरेको छ । सबैभन्दा पछिल्लो सयम सर्राफलाई बिहीबार पक्राउ गरिएको थियो । उनी सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष हुन् । पक्राउ परेका सबै सिआइबीको हिरासतमा छन् ।

अनलाइनमार्फत सूचना आदानप्रदान, प्रहरीलाई प्रमाण जुटाउन सकस
सुन तस्करी प्रकरणमा संलग्नहरूले अनलाइन माध्यबाट सूचना आदानप्रदान गरेकोले प्रमाण संकलन गर्न सिआइबीलाई समस्या भएको छ । उनीहरूले वी च्याट, ह्वाट्स एप तथा इमोजस्ता म्यासेजिङ एपमार्फत कुराकानी गरेकोले प्रमाण संकलन गर्न सकस भएको सिआइबीले जनाएको छ । सिआइबी स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले वी च्याट, ह्वाट्स एप र इमोमार्फत नै सूचना आदानप्रदान गरेको देखिएको छ । तस्करीका विभिन्न तहमा रहेका व्यक्ति तथा भरियाहरूबीच म्यासेजिङ एपमार्फत कुराकानी भएको देखिन्छ । उनीहरूले पक्राउ पर्नुअघि सबैजसोले कुराकानी तथा सूचनाहरू डिलिट गरेका थिए । अब ती डिलेट भएका म्यासेज हेर्न सम्बन्धित म्यासेजिङ एप कम्पनीहरूले नै सहयोग गर्नुपर्ने हुन्छ । ह्वाट्स एप र इमो अमेरिकी कम्पनी हुन् भने वी च्याट चिनियाँ कम्पनी हो । ती देशहरूबाट सहजै सूचना पाउन नसकिएको सिआइबी स्रोत बताउँछ ।

हङकङमा लागुऔषध पुगेको घटना अनुसन्धान गर्न समिति गठन
काठमाडौंबाट हङकङ पठाएको सामानमा लागुऔषध भेटिएको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले पनि छानविन थालेको छ । विमानस्थल प्रहरीले घटनाबारे छानविन गर्न समिति बनाएको छ । प्रहरी उपरीक्षक (एसपी) पदम विष्टको संयोजकत्वमा घटना छानविनका विमानस्थल प्रहरीले समिति बनाएको हो । १० दिनको समय दिएर समितिलाई प्रतिवेदन बुझाउन भनिएको छ । विमानस्थलमा जाँचका क्रममा प्रहरीको लापरबाही वा मिलेमतो भएको आशंकामा छानविन थालिएको हो । विमानस्थलमा लागुऔषध चेकजाँच लागुऔषध नियन्त्रण ब्युरोले गर्छ ।

काठमाडौंबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानभित्र हङकङको विमानस्थलमा चेकजाँच गर्दा गाँजा फेला परेको थियो । विमानस्थल हुँदै हङकङ पुगेको नेपालमा उत्पादित आगुऔषध गाँजा र चरेसबारे थप जानकारी लिन प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले समेत अनुसन्धान गरिरहेको छ ।

ललितानिवास प्रकरण : १० जना प्रतिवादीको तर्फबाट थुनछेक बहस बाँकी
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीको तर्फबाट बहस सकिएको छ । शुक्रबारसम्म प्रकरणमा पक्राउ परेका आठजना प्रतिवादीतर्फको बहस सकिएको हो । अब, १० जनाको तर्फबाट बहस बाँकी छ ।

भाटभटेनी डेभलपमेण्ट प्रालिका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमनकुमार कार्की डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोदप्रसाद पौडेलको तर्फबाट बिहीबार बहस भएको थियो । यसअघि शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा तर्फको बहस भइसकेको छ । प्रतिवादी योगराज पौडेल, नारायणदास मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरि घिमिरेको तर्फबाट बहस हुन बाँकी छ । ललितानिवास प्रकरणमा १८ जना थुनामा छन् ।

सरकारलाई अहिले स्यावासी दिनुपर्ने अवस्था छैन : लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्ध खोलिएका फाइल सत्ताको रक्षाकवचका लागि मात्र भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आदेश दिने र निर्णयकर्तालाई संरक्षण गर्ने काम भएको आरोप लगाउनुभयो । भ्रष्टाचारको जरासम्म पुग्यो भने सरकार टिकाउन राप्रपाको साथ रहने लिङ्देनको भनाइ थियो । ‘आदेश दिने र निर्णयकर्तालाई संरक्षण गर्ने काम भएको छ । त्यसैले सरकारलाई अहिले स्यावासी दिनुपर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो । नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको उहाँले दाबी गर्नुभयो । अहिले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?