स्वर्गीय नेम्वाङको यस्तो थियो राजनीतिक यात्रा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । इलामको सुन्तलाबारीमा विक्रम संवत् २००९ साल फागुन २८ मा सुवास नेम्वाङको जन्म भएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित सदस्य बन्नुभएको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो ।

एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो। २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो ।

नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्षरसभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो ।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभयो । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक-पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो । प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा उहाँ सात महिना जेल पर्नुभयो ।

नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७५ बाट नेकपा स्थायी कमिटी सदस्य बन्नुभएको थियो । २०४८ देखि हालसम्म उहाँ लगातार सांसद रहनुभएको छ ।

उहाँ प्राध्यापक संघमा पनि सक्रिय हुनुहुन्थ्यो भने नेपाल बार एसोसिएसनको महासचिव पनि हुनुभयो । राज्यबाट उहाँलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उहाँलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको छ ।

नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?