नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई आज (बिहीबार) अन्त्येष्टि गरिँदै छ । आज बिहान ११ बजे हिन्दु संस्कृतिअनुसार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्न लागिएको हो । बुधबार दिउँसो १ बजेसम्म उहाँको पार्थिव शरीरलाई ललितपुरको च्यासलमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो ।

बुधबारको दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँकै निवास बालुवाटारमा राखिएको छ । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । दिवंगत नेम्वाङका दुवै छोरा नेपाल आइपुग्नुभएको छ । नेम्वाङका जेठा छोरा मेङ्सो र कान्छा छोरा सुहाङ बुधबार दिउँसो नेपाल आइपुग्नु भएको हो । दुवै छोरा आएसँगै नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको हो । उहाँका जेठा छोरा बेलायत र कान्छा छोरा अष्ट्रेलियामा हुनुुहुन्थ्यो ।

मंगलबार बिहान हृदयाघातका कारण निधन हुनुभएका नेता नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि उहाँको पार्थिव शरीर मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुगेका थिए । घरमा लगेपछि किराँत संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिएको छ ।

संविधानसभाका अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यस्तै, नेम्वाङको निधनको शोकमा बुधबार तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बिहीबार ३ बजेलाई अर्काे बैठक तोकिएको छ । पूर्वसभामुख नेम्वाङको मंगलबार राति हृदयाघातका कारण निधन भएको थियो । पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष र सभामुख रहेका नेम्वाङकै कार्यकालमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?