ऊर्जामा लगानी भित्र्याउन इप्पानको पहल

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल सुरु गरेको छ । बुधबार डच बैंक एफएमओका प्रतिनिधिसँगको छलफलमा इप्पान प्रतिनिधिमण्डलले नेपालको ऊर्जा क्षेत्रमा खर्बौं डलर लगानी आवश्यक भएको भन्दै सस्तोमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण दुई हजार छ सय मेगावाटका जलविद्युत् आयोजनाको सरकारले विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) नै खारेज गरेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर रहेको बताउनुभयो । सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत् उत्पादनको रणनीति लिएको र नेपाली बैंकहरूले सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसक्ने भएकाले विदेशी लगानी आवश्यक रहेको उहाँको भनाइ थियो ।

एफएमओका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल जोंजेनिलले नेपालमा जलविद्युत् प्रवद्र्धकले वातावरण, समाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानी भित्र्याउन चाहेको बताउनुभयो । उहाँले २०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गर्दै आइएफसीका मापदण्ड र इएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

एफएमओका सिइओ जोंजेनिलले नेपालमा जलविद्युत् प्रवद्र्धकले वातावरण, समाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानी भित्र्याउन चाहेको बताउनुभएको छ । 

इप्पानका उपाध्यक्ष आशिष गर्गले आयोजना विकासका विभिन्न चरणमा रहेका ५३ हजार चार सय ३१ मेगावाट एक हजार दुई सय २४ आयोजनामा एक खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताउनुभयो । निर्माण भइसकेका करिब दुई हजार नौ सय मेगावाटका एक सय ९१ आयोजनामा पाँच अर्ब र निर्माणाधीन सात हजार एक सय सात मेगावाटका एक सय २९ आयोजनामा ११ अर्ब डलर लगानीबाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने उहाँले जानकारी गराउनुभयो । पिपिए गरेर निर्माण प्रक्रियामा रहेका एक सय २९ आयोजनालाई पाँच अर्ब र अध्ययन सकेर पिपिएको पर्खाइमा रहेका नौ हजार चार सय मेगावाटका एक सय ८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक रहेको उहाँको भनाइ थियो । सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाएको जानकारी गराउँदै गर्गले सोका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने बताउनुभयो । इप्पान उपाध्यक्ष उत्तम ब्लोन लामाले नेपालको बैंकमार्फत् वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालीन ऋण लगानी गर्न एफएमओलाई आग्रह गर्नुभएको थियो ।

नेपालमा लगानी बढाउन चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणअघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुईपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल गर्दै यस्तो आग्रह गरेको हो । चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यवसायीहरूलाई आग्रह गर्नुभयो । दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको र पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च रहेको उल्लेख गर्दै उहाँले खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्नुभएको हो ।

अध्यक्ष मल्लले दुई देशबीचको व्यापार सम्झौता समयसापेक्ष पुनरवलोकन गरेर व्यापार सहजीकरण गरिनुपर्र्ने, पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरिनुपर्ने, तातोपानी र केरुङलगायतका भन्सार नाकामा स्तरोन्नति गरिनुपर्नेमा जोड दिनुभएको चेम्बरले जनाएको छ । नेपालबाट चीनमा वार्षिक दुई खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको चेम्बरले जनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझावसमेत दिएको छ । चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिले भने नेपालमा लगानीका लागि भइरहेको नीतिगत कठिनाइबारे जिज्ञासा राखेका थिए । हेन इन नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?