पुस्तक : ‘सत्य हरण’ एउटा यथार्थवादी उपन्यास

सुशीला घिमिरे
Read Time = 7 mins

अहिले मेरा हातमा एउटा उपन्यास छ ‘सत्यहरण’ शीर्षकको । उसका उपन्यासकार राजु अधिकारी हुनुहुन्छ । वि रिड प्रकाशन प्रकाशक रहेको यो उपन्यास पहिलो संस्करणका रूपमा २०७९ सालमा प्रकाशित भएको छ । सर्वाधिकार लेखकमै रहेको यस उपन्यासको भाषा सम्पादन रमेश शुभेच्छले गर्नुभएको छ भने शुद्धाशुद्धि फणीन्द्र संगमको रहेको छ । सुनिल महर्जनको आवरण डिजाइन र समन श्रेष्ठको लेआउट डिजाइन रहेको यो पुस्तक एपोलो अपसेट प्रेस प्रा.लि.काठमाडौंमा मुद्रण भएको छ । डिएमआई साइज वा उपन्यास साइज भनिने साइजमा प्रकाशित यस पुस्तकमा भूमिका खण्डसहित १४० पृष्ठ रहेका छन् । यस पुस्तकमा मूल्य भने उल्लेख भएको छैन ।

हालका दिनहरूका धर्म र संस्कृतिका नाममा भइरहेको विवादकै सन्दर्भ र पश्चिमाहरूको धार्मिक अतिक्रमणलाई यस पुस्तकले देखाउन चाहेको छ । ‘यो उपन्यास ‘सत्य हरण’ अपराध, रहस्य प्रेम मात्र होइन अध्यात्म, राष्ट्रप्रेम अनि विज्ञानको रोमाञ्चक संसार पनि हो’ भनेको यही पुस्तको भनाइ यथार्थ हो । 

आवरण पृष्ठ आकर्षक छ । कालो पृष्ठभूमिमा माथि ठूला सेता अक्षरमा पुस्तकको शीर्षक ‘सत्य हरण’ दुई हरफमा दिइएको छ । बीचमा खुलेका पुस्तकमा चराको प्वाँखले केही लेखिरहेको चित्र दिइएको छ । तल साना सेता अक्षरमा उपन्यासकारको नाम दिइएको छ ‘राजु अधिकारी’ भनेर । पृष्ठ आवरणमा यही पुस्कतकको भूमिका खण्डमा प्रस्तुत भएको केही अंशलाई साभार गरिएको छ । परम्परागत ढङ्गले लेखकहरूको फोटो राखेर परिचय दिने शैली अपनाइएको छैन । तल प्रकाशक संस्थाको नाम र बारकोड दिइएको छ । भूमिका खण्डमा ‘सम्पूर्ण पाठकहरूप्रति समर्पित’ भनिएको छ र त्यसपछि छोटोमा लेखकको ‘भन्नैपर्ने’ शीर्षकमा उहाँको भनाइ प्रस्तुत भएको छ ।

त्यसपछि यस पुस्तकका सम्पादक तथा साहित्यकार प्राध्यापक डा.रमेश शुभेच्छुको लामो भनाइ ‘वैज्ञानिक फ्रेममा सजिएको सांस्कृतिक उपन्यास ‘सत्य हरण’ शीषकमा रहेको छ । उपन्यासकारको प्रस्तुति राम्रो छ । भाषा सरल, बोधगम्य र उपन्यास सुहाउँदो छ । उपन्यासको सन्देश तथा भाव संप्रेषणका लागि भाषा उपयुक्त छ । यति भएर पनि वैयाकरणिक रूपमा धेरै ठाउँमा केही कमजोरी पाइन्छन् ।

वर्णविन्यासगत अशुद्धिहरू कमै छन् तर भाषाको क्षत्रीय रूप भने प्रसस्त पाइन्छन् । सामान्य वर्तमान कालका वाक्यमा प्रथमा विभक्ति ‘ले’ लाग्दैन तर उपन्यासका अधिकांश वाक्यहरूमा यस प्रकारको प्रयोग भएको छ भने तिर्यक कारक प्रयोग हुनुपर्ने ठाउँमा सरल कारकको प्रयोग भएको बाक्लै पाइन्छ । यो अलिक अस्वाभाविक देखिन्छ ।

यो पाठकीय टिप्पणी भएका कारण यसमा धेरै कुरा लेख्न सम्भव छैन । यो उपन्यास लामो समालोचकीय विवेचना गर्नुपर्ने खालको छ जो पछि गर्दै गरौँला । अहिले यसबारे केही सामान्य चर्चामात्र गरिन्छ । यस उपन्यासले उठाएको विषय गम्भीर छ । साहित्यकारहरू भविष्यदृष्टा हुन्छन् भनेको कुरा सही प्रमाणित हुन्छ । हालका दिनहरूका धर्म र संस्कृतिका नाममा भइरहेको विवादकै सन्दर्भ र पश्चिमाहरूको धार्मिक अतिक्रमणलाई यस पुस्तकले देखाउन चाहेको छ । ‘यो उपन्यास ‘सत्य हरण’ अपराध, रहस्य प्रेम मात्र होइन अध्यात्म, राष्ट्रप्रेम अनि विज्ञानको रोमाञ्चक संसार पनि हो’ भनेको यही पुस्तको भनाइ यथार्थ हो ।

अन्य धर्म हिन्दु धर्मभन्दा पछिका हुन् र ती सबै धर्म हिन्दु धर्मको सन्देशबाट निर्देशित छन् भन्ने देखाउन खोजिएको छ । हालका दिनहरूमा आइएनजिओ र एनजिओहरू व्यापक रूपमा धर्म परिवर्तनको अभियानमा छन् । हिन्दु धर्ममाथि चौतर्फी हमला भइरहेको छ, हाम्रो धर्म र हाम्रा आध्यामिक धर्मग्रन्थहरू नष्ट गर्न ती लागिपरेका छन् । तिनको प्रतिकार गर्न सकिएन भने एकआधा शताब्दीसम्ममा हाम्रा धर्म तथा संस्कृतिहरू लोप गराएर हामीलाई समेत समाप्त पार्ने तिनको अभियान रहेको छ भन्ने यस पुस्तकले देखाउन चाहेको छ । यसका लागि उपन्यासकारले अनेकौं पात्र र घटनाको माध्यमबाट विभिन्न सन्दर्भ जोड्नुभएको छ ।

यस अभियानका लागि पश्चिमाहरू अनेकौं रूप धारण गरेर आइरहेका छन् भन्नुभएको छ । यतिमात्र होइन हाम्रो आफ्नो धर्म र संस्कार संस्कृतिप्रतिको समर्पणभाव पनि उपन्यासकार अकिकारीले देखाउन चाहनुभएको छ । यो सम्भवतः अन्य लेखकहरूको भन्दा नयाँ सोच हो जो यथार्थ हो । उहाँको यस प्रयासलाई हामीले प्रशंसा गर्नैपर्छ । नेपाली साहित्यमा एउटा छुट्टै प्रकारको लेखनका माध्यमबाट अगाडि बढिरहनु भएका राजु अधिकारीलाई सत्यहरण उपन्यासका लागि धन्यवाद तथा बधाई साथै उहाँलाई कृति सफलताको कामना । उहाँबाट यस्ता पुस्तकहरू भविष्यमा पनि नेपाली साहित्यले पाइरहोस् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?