पश्चिम म्याग्दीमा फस्टाउँदै कोदो खेती

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । घरको अगाडी भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य ।

दुई वर्ष अघिसम्म बनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम,देविस्थान,ओखरबोट लगाएतका धेरै गाउँहरुमा यस वर्षदेखि कोदो खेती गरिएको छ ।

उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका वासिन्दाहरुले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।

मालिका गाउँपालिकाको वडा नं ६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले यस वर्ष दुई सय मुरी भन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताउनुभयो । उत्पादित कोदो विक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर यहाँका किसानहरुको योजना छ ।

हराउँदै गएको कोदोखेतीको संरक्षणमा पश्चिम म्याग्दीबासी जुटेका छन् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि समेत दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका वासिन्दाले यसको व्यवसायिक खेती गरेर रैथाने बालीको समेत संरक्षणमा लागेको मालिका गाउँपालिका ५ देविस्थानका कृषक जगबहादुर विकले बताउनुभयो ।

देविस्थानमा मात्रै गाउँको पाँच सय रोपनीभन्दा बढी वारीमा व्यवासायिक रुपमा नै कोदो खेती गरिएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय तीर्थबहादुर विकले बताउनुभयो ।
“गाउँमा १० वर्ष अघिदेखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यत्ति नै राम्रो हुनेभएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नको रुपमा प्रयोग गर्ने गर्छौं” विकले बताउनुभयो ।

ग्रामीण क्षेत्रका बारीमा थोरै मात्र कोदो लगाइएको भए पनि बेनी नगरपालिका क्षेत्रभित्रका अधिकांश बारी बाँझै छन् ।

एक दशक अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले बनमारा फैलिएको छ । “कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?” बेनी नगरपालिका-२ का ८९ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।

काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् ।

मालिका गाउँपालिका-२ की कलिमाया घर्तीको घरमा पनि खेती गर्ने मानिस छैनन् । उहाँका परिवारमा श्रीमान, दुई छोरा र एक छोरी छन् । छोरा वैदेशिक रोजगारका लागि युएईमा छन् । बुहारीले छोराछोरी पढाउन दरबाङ बजारमा कोठा भाडामा लिएर बस्नुभएको छ । वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको तर यस वर्ष भने गाउँका सबैले बारीमा कोदो रोपेपछि आफूले पनि चार रोपनी बारीमा कोदो रोपेको उहाँले बताउनुभयो ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको बेनी नगरपालिका-२ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल शिखरका संचालक बिमला बरुवालले बताउनुभयो । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।

कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ ।

तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ । म्याग्दीको २० हजार चार सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?