मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

रासस
Read Time = 9 mins

भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब ७२ लाख लागतमा सूचना केन्द्र निर्माण भइरहेको छ । यस आवमा पनि प्रदेशको ६५ प्रतिशत र गाउँपालिकाको ३५ प्रतिशत लागतमा भवनलाई पूर्णता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । आधा रोपनी क्षेत्रमा निर्माण भइरहेको सूचना केन्द्रबाट आउने आन्तरिक तथा बाहृय पर्यटकको सुरक्षित पदयात्राका लागि सूचना प्रदान गरिने उहाँको भनाइ छ ।

‘मुन्दुम पदमार्ग नेपालकै एक स्थापित पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो पदमार्गमा धेरै संख्यामा आन्तरिक तथा बाहृय पर्यटकको आवागमन बढेको छ । आउने पर्यटकलाई आवश्यक सूचना प्रदान गर्नका लागि प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन सूचना केन्द्र निर्माण गरिरहेका छौँ ।’

सूचना केन्द्रलाई यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ । दोस्रो चरणको कामका लागि केही समयपछि बोलपत्र आहृवान गरेर काम सुरु गरिने प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । ‘पदमार्गमा आउने पर्यटकको अभिलेखसँगै आवश्यक सूचना दिनका लागि एउटा सूचना केन्द्रको आवश्यकता रहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर यहाँ सूचना केन्द्रको निर्माण गरेका हौँ । कामलाई अन्तिम चरणमा पुर्‍याएका छौँ । यो आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा जुटेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सूचना केन्द्रबाट पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो । ‘यो पदमार्ग पूर्वको मुख्य पर्यटकीयस्थल हो,’ उहाँले भन्नुभयो, ‘पर्यटकको सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्न आवश्यक छ । अबका दिनमा पर्यटकलाई यो सूचना केन्द्रबाट आवश्यक जानकारी प्रदान गर्छौं । यसले यहाँको भ्रमणका लागि आउने पाहुनालाई सहजता थप्नेछ ।’

अग्ला हिमशृंखला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको संख्या बढेको उपाध्यक्ष राईले बताउनुभयो । त्यस्तै, पदमार्गको आसपासमा निर्माण भएका किराँतहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला-ठूला घाँसेमैदान, स्थानीय गोठालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने उहाँको भनाइ छ । ‘यो नेपाल सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल हो,’ उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा पदयात्रा गर्न स्वदेश तथा विदेशबाट पर्यटक आइरहेका छन् । यो क्षेत्रमा आउने पर्यटकलाई यहाँको प्राकृतिक सुन्दरताले मोहित पार्ने गर्दछ । यो पदमार्गलाई थप विकासका लागि हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ ।’

यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठालाले उत्पादन गर्ने अर्गानिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिन्छ । यो पदमार्ग नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो । उकालो-ओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक-३८, चाम्लाङ, मकालु, कञ्चनजंगा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखला हेर्न सकिन्छ । किराँत राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामाकरण किराँत राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।

करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्रामस्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुंगे चौतारा निर्माण गरिएको जनाइएको छ । त्यस्तै, किराँत राईको संस्कृति झल्कने (चिण्डो आकार)का १५ वटा पोखरी निर्माण गरिएको छ । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा टुरिजम हब बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय हिसाबले पैदलयात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्बन्धित विज्ञहरूको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाहृय पर्यटक भिœयाउन र पर्यटनलाई व्यावसायीकरण गर्न यो पदमार्गले सहयोग पु¥याउने गाउँपालिकाले जनाएको छ ।

यो पदमार्ग भोजपुर र खोटाङको सिमाना तावाभञ्ज्याङ-चखेवा भञ्ज्याङ-धोद्रे-हाँस पोखरी-तारा खसको-बलौटे भञ्ज्याङ-लौरी भञ्ज्याङ-निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते-पखुवा भञ्ज्याङ-बाघखोर-सुन्तले-बाघखोर हुँदै भोजपुर नगरपालिका–१० भैँसीपाखाको साम्पाङ चोकमा आएर टुंगिन्छ । यो मुन्दुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना बोकेकाले यहाँको पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटन क्षेत्रका विज्ञहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?