कलाकारमा नभइनहुने मुख्य कुरा भनेको आत्मविश्वास हो : रवि कर्की

गीता अधिकारी
Read Time = 12 mins

शिवपुरी गाउँपालिका-६ नुवाकोटमा जन्मिनुभएका रवि कार्की हाल काभ्रेस्थलीमा रहेर कला क्षेत्रमा आफ्ना क्रियशन प्रस्तुत गर्दै आउनुभएको छ । कलाकारिता एवं डान्स कोरियोग्राफरमा आफूलाई व्यस्त राख्दै आउनुभएका कार्कीले स्कुलमा भएको नाटकमार्फत् आफूलाई यो क्षेत्रमा प्रवेश गराउनुभएको हो । औपचारिक रूपमा ‘माकुरीको जाल’ गीतको भिडियोमार्फत् यो क्षेत्रमा होमिनुभएका उहाँले ‘मायाले फसायो, डाँडामा पीपलबोट, विश्व नेपालीको ‘आज तिम्रो साथले’, उद्धव कार्कीको ‘भिसा लाग्यो’, नन्दनी अधिकारी र जितु बरालको ‘मेरो जीवन साथी’ लगायत धेरै गीतका भिडियो र ‘मिलाप, प्रेमविवाह, लभ म्यारिज, तिमीबिनाको संसार, यो कथा हो तिम्रो मेरो’ जस्ता चलचित्रमार्फत् आफूमा रहेको कला प्रस्तुत गर्नुभएको छ । उहाँको आउँदै गरेको चलचित्र ‘जुनी’ रहेको छ । यस्तै, टेलि-चलचित्रमा उहाँ ‘प्रहरी अनुरोध’को नियमित कलाकार हुनुहुन्थ्यो भने ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ भन्ने प्रहरी सिरियलको कलाकार बने आफ्नो कला प्रस्तुत गर्नुभएको छ । यस्तै, नेपाल टेलिभिजनबाट आउने ‘क्राइम स्टोरी’ मा पनि आफूलाई प्रस्तुत गर्नुभएका उहाँ यतिबेला ‘सिसा’ र ‘मेरो अदालत’मा काम गरिरहनुभएको छ । कलाकार हुनका लागि नभइनहुने कुरा भनेको आफ्नो आत्मविश्वास नै हो भन्नुहुने उहाँ कुशल कलाकारका लागि तालिमको पनि अति आवश्यकता रहेको औंल्याउनुहुन्छ । एक्टिङ, डान्स, फाइट विशेषगरी यिनै कुराहरू कलाकारमा हुनुपर्ने बताउने उहाँ हामीकहाँ समूहवाद मौलाउँदै गइरहेको, जसका कारण समूहबाहिरको एकल कलाकारलाई धेरै गाह्रो हुने गरेको गुनासो गर्नुहुन्छ । विभिन्न संघसंस्थामा पनि रहेर सामाजिक कार्यमा आफूलाई उहाँले संलग्न गराउँदै आउनुभएको छ । कलाकारमा नभइनहुने मुख्य कुरा आत्मविश्वास हो भन्नुहुने रवि कार्कीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
म पछिल्लो समय बिहान-बेलुकाको समयमा डान्स र जुम्बा क्लासहरूमा व्यस्त छु । त्यसका साथै ओम प्रतीक गुरुङ सरको ‘सिसा’ नामक टेलि-सिरियलमा काम गरिरहेको छु ।

पछिल्लो समय सिनेमामा देखिनुभएको छैन नि ?
हो, सही भन्नुभयो । म मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे त्यही माथि पनि नुवाकोटको एक विकट गाउँमा जन्मेको, पारिवारिक स्थिति र जीवनका उतारचढावका कारण मैले मेरो कर्मक्षेत्र कलाकारितालाई निरन्तर समय दिइरहन सकिन, मेरो लागि मेरो आफ्नो कर्मक्षेत्रभन्दा परिवारलाई सेटल गराउनमै समय खर्चिनु परेकोमा म यस क्षेत्रबाट केही ओझेल जस्तो मात्र भएको हुँ । तर, म यही क्षेत्रमा नै निरन्तर आफूलाई प्रस्तुत गर्न चाहन्छु ।

निर्माता-निर्देशकले पत्याउन छोडेका त हैनन् नि ?
अब यस विषयलाई जसरी बुझ्दा पनि हुन्छ । मैले यस कलाक्षेत्रलाई निरन्तर समय दिन सकिन, त्यसैले कलाकारको भिडमा पछाडि परेँ, जसले गर्दा निर्माता र निर्देशकको नजरमा कलाकार रवि कार्की पर्न नसकेको होला, मेरो बुझाइमा ! तर, सबैको आफ्नो-आफ्नो बुझाइ हुन्छ हजुर, म यसमा केही भन्न सक्दिन र केही गुनासो पनि छैन ।

अहिलेसम्म काम गरेका कतिपय पुराना म्युजिक भिडियोहरू त मैले बिर्सिसकेँ, याद भएकाहरूमध्ये ‘माकुरीको जाल, मायाले फसायो, डाँडामा पीपलबोट, विश्व नेपालीको ‘आज तिम्रो साथले’, उद्धव कार्कीको ‘भिसा लाग्यो’, नन्दनी अधिकारी र जितु बरालको ‘मेरो जीवन साथी’ लगायत धेरै छन् भने चलचित्रतर्फ ‘मिलाप, प्रेमविवाह, लभ म्यारिज, तिमीबिनाको संसार, यो कथा हो तिम्रो मेरो’ रहेका छन् । आउँदै गरेको चलचित्र ‘जुनी’ रहेको छ । टेलि-चलचित्रमध्ये सुरुमा म ‘प्रहरी अनुरोध’को नियमित कलाकार थिएँ । ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ भन्ने प्रहरी सिरियलको कलाकार, त्यसपछि नेपाल टेलिभिजनबाट आउने ‘क्राइम स्टोरी’मा काम गरेँ अनि अहिले ‘सिसा’ र ‘मेरो अदालत’मा काम गरिरहेको छु ।

कलाकारितामा के कुराले तान्यो र कसरी लाग्नुभयो ?
म विकट ठाउँमा जन्मेको मान्छे हुँ । जहाँ मैले आफ्नो विद्यालय जीवन नै टुकी बत्तीमा बिताएँ । त्यो समयमा मलाई चलचित्रको त कुरै छोडौँ टेलिभिजनका बारेमा पनि केही जानकारी थिएन । सायद म कक्षा ५/६ मा पढ्दै गर्दा स्कुलमा नाटक प्रदर्शन भएको थियो, जसका निर्देशक हुनुहुन्थ्यो दिनेश यादव सर । हो, त्यही नाटकमा मैले डबल रोल गर्ने मौका पाएँ र नाटकको अन्त्यमा सबै दर्शकबाट वाहवाही पाउने कलाकार म नै थिएँ । त्यही छाप दिमागमा पस्यो र कलाकार बन्ने भूत सवार भयो । त्यही नाटकको फलस्वरूप आजसम्म कलाकारितामा लागिरहेको छु ।

पहिलोपल्ट क्यामरा फेस गर्दाको अनुभव ?
मैले पहिलोपटक क्यामरा फेस एउटा म्युजिक भिडियोका लागि गरेको थिएँ । त्यो गीतको बोल ‘माकुरीको जाल’ भन्ने हुनुपर्छ । त्यो म्युजिक भिडियो गर्दै गर्दा मेरा मनमा अब म कलाकारिताको क्षेत्रमा नआए पनि हुने भयो जस्तो भएको थियो । मतलब धेरै नै डराएको थिएँ तर समयसँगै मैले त्यस डरलाई परास्त गर्दै गएँ अनि विस्तारै बानी पर्दै गयो ।

अहिलेसम्म काम गरेका सिनेमा, म्युजिक भिडियो र टेलि-चलचित्रका बारेमा केही बताइदिनुहोस् न ?
अहिलेसम्म काम गरेका कतिपय पुराना म्युजिक भिडियोहरू त मैले बिर्सिसकेँ, याद भएकाहरूमध्ये ‘माकुरीको जाल, मायाले फसायो, डाँडामा पीपलबोट, विश्व नेपालीको ‘आज तिम्रो साथले’, उद्धव कार्कीको ‘भिसा लाग्यो’, नन्दनी अधिकारी र जितु बरालको ‘मेरो जीवन साथी’ लगायत धेरै छन् भने चलचित्रतर्फ ‘मिलाप, प्रेमविवाह, लभ म्यारिज, तिमीबिनाको संसार, यो कथा हो तिम्रो मेरो’ रहेका छन् । आउँदै गरेको चलचित्र ‘जुनी’ रहेको छ । टेलि-चलचित्रमध्ये सुरुमा म ‘प्रहरी अनुरोध’को नियमित कलाकार थिएँ । ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ भन्ने प्रहरी सिरियलको कलाकार, त्यसपछि नेपाल टेलिभिजनबाट आउने ‘क्राइम स्टोरी’ मा काम गरेँ अनि अहिले ‘सिसा’ र ‘मेरो अदालत’मा काम गरिरहेको छु ।

कलाकार हुन के चाहिन्छ ?
कलाकार हुनका लागि नभइनहुने कुरा भनेको आफ्नो आत्मविश्वास नै हो । त्यसलगायत कलाकार हुनका लागि तालिमको पनि अति आवश्यक हुन्छ नै । जस्तै एक्टिङ, डान्स, फाइट विशेषगरी यिनै कुराहरू हुन् ।

यो क्षेत्रमा चाकडी, चाप्लुसी, खुट्टा तान्ने प्रवृत्ति कत्तिको छ ?
चाकडी, चाप्लुसी खुट्टा तान्ने प्रवृत्ति सबै क्षेत्रमा हुन्छ । यसमा नहुने त कुरै भएन । झन् यसमा अहिले त समूहवाद मौलाउँदै गइरहेको छ । त्यसै कारण समूहबाहिरको एकल कलाकारलाई धेरै गाह्रो भइरहेको देखेको छु मैले ।

तपाईं कुन-कुन संस्थामा आबद्ध हुनुहुन्छ र अहिलेसम्ममा पाएका सम्मान, अवार्डहरू के-कस्ता रहेका छन् ?
म अहिले ‘रि एण्ड कि फिल्मस्’मार्फत् काम गरिरहेको छु । संस्थाको हिसाबमा कुरा गर्ने हो भने अहिले नृत्य निर्देशक संघ नेपाल तारकेश्वर नगर कमिटीको सचिव पदमा रहेर पनि काम गरिरहेको छु । मैले यस क्षेत्रमा २५ वसन्त पार गरिरहँदा सम्मानपत्र, कदरपत्र, प्रशंसापत्र र प्रमाणपत्रहरू अनगिन्ती पाएको छु । सबैको नाम लिइरहन नसकिएला तर पछिल्लोपटक पाएको सम्मानको भने नाम लिन चाहन्छु त्यो हो हिमालय इन्टरनेसनल अवार्ड २०२३ को सम्मान । प्रमुख अवार्डको कुरा गर्नुपर्दा, म अवार्ड नोमिनेसनसम्म परेको छु तर अहिलेसम्म अवार्ड जितेको भने छैन ।

अन्त्यमा ?
खासै भन्नुपर्ने केही छैन । सबै अघिकै सोधिएका प्रश्नको उत्तरमा भनिसकँे तर पनि अहिलेको कलाकारिता क्षेत्रमा प्रवेश गर्न लागेका भाइबहिनीहरूलाई केही सुझाव दिन चाहन्छु । यस क्षेत्रमा प्रवेश गर्नुअघि आफूलाई परिपक्व र तालिमयुक्त बनाएर मात्र प्रवेश गर्नुहोला । सफलता हात पर्न पनि सक्छ, नपर्न पनि सक्छ । यस्तो बेलामा धैर्यधारण गर्न सक्नुपर्छ । त्यसैले आफूलाई यी कुरामा सक्षम बनाएर मात्रै यस क्षेत्रमा प्रवेश गर्नुहोला भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?