नेपालको पहिलो खेल न्युजिल्याण्डसँग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले यू-१९ विश्वकप २०२४ मा आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू–१९ विश्वकपको समूह र खेल तालिका सार्वजनिक गरेको हो । यू-१९ विश्वकप २०२४ जनवरी १३ देखि ४ फेब्रुअरीसम्म श्रीलंकामा चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड समूह ‘डी’ मा छन् । नेपालले आफ्नो पहिलो खेल श्रीलंकाको कोलम्बोमा पुस २८ मा न्युजिल्याण्डसँग खेल्दै सुरुवात गर्नेछ ।

नेपालले त्यसपछि पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ । पाकिस्तानसँग नेपालको खेल माघ ३ गते रहेको छ । समूह चरणको अन्तिम खेल नेपालले माघ ६ मा अफगानिस्तानसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा पुग्न सकेको खण्डमा अर्को चरणमा स्थान बनाउनेछ ।

यसअघिको संस्करणको जस्तो क्वाटरफाइनल हुँदै सेमिफाइनल हुनेछैन । चार समूहबाट शीर्ष तीन टोली अर्को समूहबाट आउने तीन टोलीसँग भिड्नेछन् । समूह ‘ए’ को समूहले ‘सी’ को समूहबाट आउनेसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’ को शीर्ष तीन टोलीले समूह ‘डी’ बाट आउनेसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा शीर्ष तीनमा पर्न नसक्ने टोली १२ देखि १६ स्थानका लागि प्रतिस्पर्धा हुनेछ । आइसिसीले यू-१९ विश्वकपमा प्लेट च्याम्पियन हटाएको छ ।

विश्वकपमा समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइण्डिज र स्कटल्याण्ड छन् । समूह ‘सी’ मा अष्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बाबे र नामिबिया छन् । क्षेत्रीय छनोटबाट नेपाल, अमेरिका, स्कटल्याण्ड, न्युजिल्याण्ड र नामिबिया आएका थिए । आयोजक श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइण्डिज र जिम्बाबे सोझै विश्वकपमा पुगेका थिए । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई सात रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?