प्रशिक्षक खोज्दै ब्याडमिन्टनका जुनियर खेलाडी

हिमालय टाइम्स
Read Time = 5 mins

महेन्द्रनगर । गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा यू-१२ तर्फ कञ्चनपुर महेन्द्रनगरका १३ वर्षीय आशिष खत्रीले कांस्य पदक जित्नुभयो । तीन वर्षअघि महेन्द्रनगरको कभर्डहलमा नियमित ब्याडमिन्टन खेल्न सुरु गर्नुभएका खत्रीले राष्ट्रिय प्रतियोगितामा पहिलोपटकमै कांस्य पदक जित्न सफल हुनुभएको थियो ।

ब्याडमिन्टनमा राम्रो सम्भावना भएका खत्रीलाई अहिले प्रशिक्षक चाहिएको छ । तर, प्रशिक्षक पाउन मुस्किल छ । एक वर्षअघि पनि बिनाप्रशिक्षक पदक प्राप्त गर्नुभएका खत्री जस्तै कञ्चनपुरका अन्य खेलाडीहरू प्रशिक्षकविहीन भएको वर्षौं भइसकेको छ ।

नेपाली ब्याडमिन्टनको इतिहासमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर खेलाडी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । तर, सम्भावना भएको क्षेत्रमा प्रशिक्षकको व्यवस्था गर्नका लागि सरोकारवाला कसैले चासो देखाएको पाइएको छैन ।

केही वर्षअघिसम्म स्वयंसेवक प्रशिक्षकका रूपमा महेन्द्रनगरकै पूर्वराष्ट्रिय खेलाडी विवेक थापाले प्रशिक्षण दिए पनि उहाँ यतिबेला रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ । अहिले पनि कहिलेकाहीँ केही पूर्वराष्ट्रिय खेलाडीले फुर्सद भएमात्रै खेलाडीलाई बिनापारिश्रमिक प्रशिक्षण दिने गरेका छन् ।

‘हामीलाई नियमित प्रशिक्षण दिने गुरु चाहिएको छ, त्यसो भए धेरै कुरा सिकिन्थ्यो र अगाडि बढ्न सजिलो हुन्थ्यो,’ खत्रीले भन्नुभयो, ‘आफूखुसी अभ्यास गर्दा कति सफल हुने हो थाहा छैन ।’ ब्याडमिन्टनका लागि आवश्यक कोर्टलगायत पूर्वाधारको सुविधा भए पनि प्रशिक्षक अभावले अपेक्षाकृति प्रगति हुन नसकेको खत्रीको भनाइ छ । प्रशिक्षकबिना पनि खत्रीले भने मुलुकभर आयोजना हुने प्रतियोगितामा भने नछुटाई भाग लिँदै आउनुभएको छ ।

खत्रीजस्तै जुनियर खेलाडी रेनिश धामी पनि बिनाप्रशिक्षक अभ्यास गरिरहनुभएको छ । बाह्र वर्षीय धामीले आठ वर्षकै उमेरदेखि नै यहाँको कभर्डहलमा ब्याडमिन्टन खेलिरहनुभएको छ । उहाँले गत वर्ष पोखरामा आयोजना भएको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भाग लिनुभएको थियो ।

‘हलमा नियमित प्रशिक्षण पाए राम्रो गर्न सकिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘शनिबार अन्य बालबालिकाको पनि भिड हुने भएकाले अभ्यास पनि सहज छैन ।’ ब्याडमिन्टनका जुनियर खेलाडी आशिष र रेनिश प्रतिनिधिमूलक पात्रमात्रै हुनुहुन्छ । यहाँका सबैजसो जुनियर ब्याडमिन्टन खेलाडी बिनाप्रशिक्षक अभ्यास गरिरहनुभएको छ ।

कञ्चनपुर कुनै समय ब्याडमिन्टनबाटै चर्चित बन्नुभएका खेलाडी दीपेश धामीको भूमि पनि हो । तर, एक दशकभन्दा बढी समयदेखि यहाँका खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद्बाट प्रशिक्षक पाएका छैनन् ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष मीनराज भट्टले एक दशकअघि राखेपबाट प्रशिक्षक जयन्त श्रेष्ठ यहाँ खटिएको बताउनुभयो । ‘जयन्त गुरु नै यहाँबाट गएको १० वर्षभन्दा बढी भइसक्यो,’ अध्यक्ष भट्टले भन्नुभयो, ‘करारमा भए पनि प्रशिक्षक चाहियो भनेर प्रदेशदेखि केन्द्रसम्म गुहार माग्यौँ तर सुनुवाइ कतैबाट पनि भएको छैन ।’

उहाँले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा ब्याडमिन्टन कोर्टका लागि दुईवटा म्याट भने उपलब्ध भएको बताउनुभयो । ‘प्रदेश खेलकुदबाट करार प्रशिक्षक पाउने आशा थियो,’ भट्टले भन्नुभयो, ‘प्रशिक्षक नियुक्तिको विषय सधँै ओझेलमा पर्दा प्रतिभावान् खेलाडी उत्पादनमा समेत कमी आउन थालेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?