कालपात्रसँग डुल्दा

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ तिलकप्रसाद लुइँटेल

मलाई जे मन पर्छ अरूलाई पनि त्यही मन पर्ला भन्ने जरुरी छैन, रुचि आ-आफ्नो हो । प्रिय पाठक ! तपाईं सधैं अध्ययनमा रमाउनुहुन्छ । मैले भनेको मान्नुहुन्छ भने साहित्यको उच्च तहमा अध्ययन भएका लेखकीय सामथ्र्य बलियो भएका उपन्यासकार पुरुषोत्तम दाहालले लेखेको ‘कालपात्र’ उपन्यास एकपटक पढ्नुहोला । अनुरोध गर्नुको कारण पनि छ । यस उपन्यासमा राज्यभित्र रहेका प्रायःजसो निकाय, परिवेश, जनजीवन र तपाईंले आफ्नै व्यक्तिगत जीवनलाई समेत राजनीतिको सेरोफेरोसँग घुमिरहेको कतै न कतै पाउनुहुन्छ । कालपात्र पुस्तकको बाहिरी आवरणको बीचमा उज्यालो प्रकाश छ र वरपर सबै अँध्यारो छरिएको छ ।

त्यो प्रकाश एउटा मानव आकृतिको ठडेउरोमाथि बालिएको दीप हो कि जस्तो बनेर अमूर्त वस्तुमा अडिएको छ । प्रकाशभन्दा माथि नै पुस्तकको नाम सुनौला अक्षरमा र त्यसकै मुनि उपन्यासकारको नाम पुरुषोत्तम दाहाल लेखिएको छ । समग्रमा पुस्तकको बाहिरी आवरणले ‘कालपात्र’ अर्थात् ‘समय सुहाउँदो पात्र’ वा ‘कालोभित्र रहेको पात्र’ दुवै अर्थलाई बोध गराउँछ । आवरणको चित्रकारी पनि राम्रो छ र कागज पनि राम्रो छ । दुईदिन मस्तसँग बसेर पढ्दा पुस्तकको आद्योपान्त सकियो । पाठकहरूले किताब हातमा लिएर कहिले लेखेको, कसले प्रकाशन गरेको, मूल्य कति छ, सर्वाधिकार कोसँग जस्ता कुरा हेर्न बुझ्न सक्नुहुनेछ ।

यहाँ बताइएको पात्र भनेको समयले उब्जाएको मान्छे हो । उसको सामजिक परिस्थिति हो र उपन्यासको आदिदेखि अन्तसम्म पुग्ने मान्छे पनि पात्र नामको नै छ । बीच-बीचमा यस्ता नाम पाठकले मनग्गे पाउनुहुनेछ ।

यस उपन्यासको नामलाई हेर्दा अचम्म लागेको थियो । कालपात्रमा तपाईं के देख्नुहुन्छ भन्ने थाहा भएन तर हेर्दा केही कुरा देखेँ, त्यसमा एउटा कालको परिभाषा देखेँ । काल भनेको मृत्यु हो भने अर्को अर्थ समय हो । प्रभावशाली समयका विषयमा श्रीमद्भागवत महापुराणमा ‘कालो हि भगवान् प्रभुः’ भनेको छ । समय प्रभावशाली भगवान् हो भन्ने शास्त्रको भनाइ आफ्नै अनुभवले ‘समय सर्वत्र र सदैव प्रभावशाली छ’ भनेर बुझ्छौँ । एकातिर यसो भने अर्का ठाउँमा राजा कवि भर्तृहरिले ‘भोगा न भुक्ता वयमेव भुक्ता, कालो न याता वयमेव याता’ भनेका छन् ।

यसको अर्थ, भोज्य कुरा खाइएको होइन, हामी नै खाइँदै छौँ र समय बितेको होइन बरू हामी बितिरहेका छौँ भन्ने हो । कसो–कसो कालपात्रको ठाउँ घटना र पात्रहरू यी दुवै भनाइमा मिल्दो देखिन्छ । मान्छे छैन भने केही छैन । कालका विषयमा नीतिशास्त्रमा ‘कालः सृजति भूतानि कालः संहरते प्रजाः । कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः’ भन्ने छ । यसकै पनि अर्थ हेर्ने हो भने ‘समयले प्राणी जन्माउँछ, समयले प्राणीको संहार गर्छ र समयले नै सुतेकालाई जगाउँछ, किनभने समयलाई जित्न अत्यन्तै कठिन छ ।’ व्यावहारिक रूपमा विचार गर्दा पनि समय समयमा कोही दुष्ट र कोही सज्जन जन्मन्छन् र म्याद पुगेपछि मर्छन् । सजिलै जित्न नसकिने समयले निदाएकालाई जगाउँछ । अर्थ यस्तै लाग्छ र देखिएको बुझिने कुरा यही हो । कालका विषयमा यति बोलेपछि अब पात्रको कुरा गरौं ।

यहाँ बताइएको पात्र भनेको समयले उब्जाएको मान्छे हो । उसको सामजिक परिस्थिति हो र उपन्यासको आदिदेखि अन्तसम्म पुग्ने मान्छे पनि पात्र नामको नै छ । बीच-बीचमा यस्ता नाम पाठकले मनग्गे पाउनुहुनेछ । ती सबै नाम देश, काल, सन्दर्भसँग मिल्दो गरी जुराइएको छ र यस नाम जुराउने काममै उपन्यासकार दाहालको अद्भूत युगीन चेतना अर्थात् अपडेट अवस्थाको सङ्केत पाइन्छ । उपन्यासलाई यी नामहरूले अनौठो रूपले प्रभावकारी बनाइदिएका छन् । उपन्यासमा पस्नुअघि यी नामहरूको सूची आएको भए पुस्तक किन्न र पढ्न चाहने पाठकलाई ज्यादा कौतूहल हुने थियो जस्तो लाग्यो ।

त्यसो हुँदा ‘पात्र’ नाम भएकै पात्रको विषय बताइदिँदा सबै पात्रको नाम अनुसारको विशेषता खुट्याउन सजिलो हुन्छ । बीचमा कुनै एकाध पात्र चाहिँ नामको ठीकविपरीत अर्थात् व्यङ्याग्त्मक नाममा देखिन्छन् । कालपात्र उपन्यासको ‘पात्र’ आफ्नै ठाउँमा छ, कसैका नाराजुलुसले कसैका हड्ताल, जिन्दावाद मुर्दावादका बीचमा घेरिएको छ, अन्याय अत्याचार र शोषणको चरम अवस्था झेलेको छ तर भर्तृहरिले भनेको जस्तै ‘कालो न याता वयमेव’ याता हुँदै पाठकलाई सारा उपन्यासको यात्रा गराएर पनि ऊ जस्ताको तस्तै रहन्छ । त्यसलाई काल वा समयले निम्त्याएका घटना परिघटनाले नाना प्रकारका प्रभाव दिन्छन् तापनि उसमा हतोत्साह जस्तो कुनै कुप्रभाव पर्दैन ।

समय बदलिने होइन, बदलिने त मान्छेको, समाजको वा राज्यको अवस्था परिवेशमात्रै हो । यही भएर होला राजा भर्तृहरिले आफ्नो ज्ञानलाई कवितामा प्रस्तुत गर्दै ‘समय गएको होइन, हामी नै जाँदै छौँ’ भने र हामीले आफैँ विचार गर्दा पनि हिजो जसरी घाम झुल्कियो, आज पनि उसरी नै झुल्कियो र भोलि पनि उसरी नै झुल्कन्छ । नामको पात्र नै कालको सूचक हो भनेर लिन पाइयो । भनेका यस्तै वाक्यमा लेखिएका छैनन् । मैले घोत्लिँदा यसै हो कि भन्ने लागेको हो । सबैको आ–आफ्नो चिन्तन हुन्छ । काल शब्दको सम्बन्ध ‘पात्र’ शब्दसँग गाँसिएको छ ।

त्यसो हुँदा म त त्यही पात्र शब्दमा पनि अलिक घोत्लिएँ । पात्रको एउटा अर्थ ‘भाँडो’ हो भने अरु धेरै अर्थ छन् । त्यसमध्ये नाटक, उपन्यास आदिमा गतिविधि गरेको देखाइने मान्छे आदि पनि पात्र भनिन्छन् । मान्छे र अन्य प्राणी जो भए पनि ती कृतिमा पात्रले आआफ्नो भूमिका निर्वाह गरेका हुन्छन् । असाध्यै घत लाग्दा पात्रहरू पाठकले पाउनुहुनेछ, यस कुरालाई दोहोर्‍याएरै लेखियो ।

पुस्तकका पानाभित्र पढेर पनि पस्कनु पाठकको धर्म हो । भित्र भएको कुरो सबै सर्लक्कै लेखिदिँदा लेख्नेलाई पनि बढी परिश्रम पर्छ र अरू पाठकलाई पनि आफ्ना स्वाद अनुसारले जिब्रो पड्काउने अवस्था रहँदैन । टिपोट नगर्दा पढेर बोलेको हो कि नपढीकन भन्ने शङ्का होला भनेर असाध्यै घच्घच्याएको कुरालाई फेरि छुस्स छुँदै चित्त बुझाउने प्रयासमा रहियो । उज्ज्वल शर्माले ‘प्रकाशकीय’ लेख्तै ‘वरिष्ठ पत्रकार दाहाल पत्रकारिता, मानव अधिकार र स्वतन्त्रता आन्दोलनमा जति अग्लो हुनुहुन्छ त्यतिकै उहाँको अर्को सगरमाथा रहेको छ साहित्यिक व्यक्तित्व’ लेख्नुभएको छ । यति लेखेपछि कस्तो व्यक्तित्वबाट कृति आयो भनेर फेरि हरफ खर्चिनु परेन ।

त्यसैगरी प्राडा.कुलप्रसाद कोइरालाले ‘कालपात्रमा अभिचित्रित युगीन चरित्र’ शीर्षक दिएर यस उपन्यासका विषयमा लेखेको अग्रलेखमा- ‘अधिकृत पात्र, प्रासङ्गिक पात्र र प्राकरणिक पात्रका रूपमा यहाँका पात्रहरू वर्गीकृत हुन सक्छन्’ भन्ने लेखेपछि पात्रहरूका विषयमा माथि उल्लेख गरिएको कुरालाई बल प्रदान गर्छ र यस लेखमा पात्रहरूको चरित्र पढ्दा पढ्दै उपन्यासको कथावस्तु बुझ्न सकिन्छ तर रोचक प्रस्तुति हेर्न उपन्यास नपढी हुँदैन ।

त्यसैगरी कृष्ण धरावासीले ‘खोजौँ आआफ्ना अनुहार’ शीर्षकको लेखभित्र उपन्यासलाई प्रत्येक जीवनको कथाव्यथा बताउने लेखमा, ‘यो कृति पढ्दै जाँदा हरेक पानामा आफूले देखेका, भोगेका र आफू समेत संलग्न भएका कैयौं घटना स्मृतिमा दोहोरिएर आउँछन् । जानेर नजानेर षड्यन्त्रको गोटी बनी अर्काको निधारमा प्रहारित भएर आफैँ घाइते हुँदै थला परेका कैयौं दिन पक्कै पाठकका आँखामा नाच्ने नै छन्’ भन्ने देखेपछि उपन्यासमा प्रतिबिम्ब बनाइएका पाटा छर्लङ्ग हुँदै सार्थकता फेला पर्छ ।

हरेक मान्छे आफूलाई सोझो नै देखाउन खोज्छ तर तिनीहरूभित्रै कैयौंले खुराफाती चरित्र विकास गर्छन् । राजाको काम कहिले जाला घाम भन्ने उखान कुनै समयका सरकारी कर्मचारीमा चरितार्थ थियो भने यस उपन्यासले खोजेको समयका कर्मचारी राज्यको काम कताबाट खाम भन्ने दाउमा भेटिन्छन् ।

कलानिधि दाहालले ‘कालपात्रभित्र एकछिन्’ शीर्षक राखेर ‘उत्पीडित तेस्रो विश्वका जनचित्कारको अर्को कारुणिक पक्ष यसमा राम्ररी प्रस्तुत भएको छ ।’ लेखेपछि उपन्यासका पात्रहरूले देखेका, भोगेका र समाजमै सल्बलाइरहेका छन् भन्ने यस लेखले खुलासा गरेको छ । एकै वाक्यमा उपन्यास उद्धृत भएको छ । त्यसै क्रममा उपन्यासकार स्वयंले ‘कालपात्रबारे’ शीर्षक राखेर लेखेको आत्मकथनमा ‘कथावस्तुमा नसमेटिएका असल चरित्र राजनीति र समाजका हरेक पक्षमा छन् । ती पात्रहरूलाई यो उपन्यासले छुँदैन’ लेखिएको छ ।

यस कथनले उपन्यासमा को-को आएका रहेछन् भनेर खोज्नुभन्दा को-को आउन छुटेछन् भनी पाठकले खोज्दा सजिलो हुने देखियो । साथै केही व्यक्तिहरू असल हुनाले नै देश र समाज अडिएको छ भन्ने भाव उल्लिखित वाक्यले दिएको छ भने सिङ्गो लेखले उपन्यास लेखन परिवेश तयार भएका सबै पाटा खुला गरेको छ । उपन्यासको एक खण्ड पढिसक्दा मात्रै त्यसको सङ्ख्या आउँछ । जम्मा २७ खण्डमा रहेको यो उपन्यास पढ्दै जाँदा कति अङ्कमा कुन कुरा आएको छ भन्ने लेख्नतिर नलागी सजिलोका लागि पृष्ठ सङ्ख्या दिइएको छ । सुरुवातको खण्डमा नै मृत्युको परिदृश्य देखाउँदै, ‘केही मानिसले बिस्तारो खटिया उठाए, चिनका वरिपरि घुमाए र लमतन्न सुताए । घ्यूले चिता नुहाउन लाग्यो, कपुरका मुढाहरूले शव छोपियो । (पृ.२)’ भन्ने आउँछ । मान्छेका जीवनमा एकसँग अर्काको अनेकौं भेद हुन्छन् । दाउरा, आगोजस्ता प्रकृतिका दृष्टिमा कोही सानो वा ठूलो, राजा वा रङ्क हुँदैन । आगामा हालिदिए सबैको लास डढ्छ, माटामा पुरिदिए सबैको कुहिन्छ ।

अर्का मानिसलाई प्रायः सबैले सुखी र आफूलाई मात्रै दुःखी देखेको हुन्छ । झलक्क देख्ता हाँसीखुसी देखिए पनि उसका मनभित्र कति कथाव्यथा लुकेर अटाएका छन् भन्ने कसरी जान्नु ? त्यस्तै कारुणिक जीवनको सङ्घर्षलाई कोट्याउँदै ‘कमजोर हातले पात्रका हात सुम्सुम्याउँदै पिताजीले यसो भनिरहँदा पितापुत्र दुवैका आँखामा आँसु टल्पल गरिरहेका थिए । घरकी लक्ष्मी आमा नभएका यी दुवै पितापुत्रका बीच प्रेम, माया र स्नेहको स्वाभाविक गाँठो कस्सिएको थियो । (पृ.१०)’ । सदाचारीका जीवनको आरोह अवरोहले समाजका अधिकांशको मनमा सहयोगी भाव आउँथ्यो भने यो उपन्यास लेखिने पनि थिएन ।

हरेक मान्छे आफूलाई सोझो देखाउन खोज्छ तर तिनीहरूभित्रै कैयौँले खुराफाती चरित्र विकास गर्छन् । राजाको काम कहिले जाला घाम भन्ने उखान कुनै समयका सरकारी कर्मचारीमा चरितार्थ थियो । उपन्यासले खोजेको समयका कर्मचारी राज्यको काम कताबाट खाम भन्ने दाउमा भेटिन्छन् । राजतन्त्रबाट फेरिँदै अनेकौँ तन्त्रको अभ्यास राजनीतिमा भयो तर त्यसमा नयाँ ऐँजेरु पलाउन छोडेन ।

तन्त्रको नाम आफ्नो राखियो खाने र नातावादी शैलीमा खाने रूप केही परिवर्तन भएर रहेकै छ भन्ने विडम्बना देखाउँदै ‘विचरा पात्र कुनामा बसेर दृश्य हेरिरहेको छ । शान्त छ । मनमा अनेक प्रश्न छन् उससँग । नेतापुत्रले चिनेको, साथ ल्याएको युवालाई बाबुआमाको नागरिकता चाहिएन, विद्यालयको जन्मदर्ता प्रमाणपत्र चाहिएन, वडाध्यक्ष वा गाउँप्रमुखको कुनै सिफारिशको आवश्यकता परेन । तुरुन्त परिचय बन्यो र ऊ बिदा भयो । (पृ.१४)’ कार्यालयमा दैनिक हुने यस्तै हर्कतले विदेशीले मुलुक भरियो स्वदेशीले शरणार्थी भएर अर्काकै मुलुक सुधारे ।

नीति बदलियो, नेता बदलिए तर नियत नबदलिएपछि जनताको नियती पनि बदलिएन । देशले ल्याएको नयाँ तन्त्रमा काम गर्न खटाइएका उच्च पदस्थ व्यक्तित्वहरूको चाल देखाउँदै, ‘हाकिम साहब कुनै तन्नेरी युवतीसँग गफ चुटिरहेका छन् । उनी कुनै राजनैतिक दलकी नेताजस्तो लाग्छ । ती दुईबीचमा सरकार कति चल्ने, कहिले ढल्ने र अब नेतृत्वमा को आउने भन्ने विषय थियो । उनीहरू कुनै राजनीतिक दलका नेताको प्रशंसा गर्दै थिए र कसैका बदख्वाइँ गरिरहेका थिए । (पृ.१९)’ भुत्ते ब्लेडले दारी काट्ता काला जति काटिन्छन् र फुलेका सेता जति छोडिन्छन्, ज्यादै मिहितेन गरेर घोटियो भने गालै ताछिन्छ ।

पहुँच, पद र पैसाका प्रलोभनले परिवेश नसुहाउँदा कामहरू गराइरहेको छ । कालपात्रमा पस्ता पस्तै यस्तै केही देखियो । पढेर टिपिएका कुरा त अझै छन् । पाठकले हेर्न रुचाउनुहुन्छ भने फेरि अर्को पटक यसभन्दा पछि पाइएका कुराहरू लेखिने नै छ । क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?