ध्वजासहितको लिंगो ठड्याइएसँगै इन्द्रजात्रा प्रारम्भ

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ‘यें याः’ (इन्द्रजात्रा) पर्व विधिवत रूपमा सुरु भएको छ । मंगलबार बिहान १० बजेर ३७ मिनेटको साइतमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिंठ (लिंगो) ड्याएपछि इन्द्रजात्रा सुरु भएको छ । हो । विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ । जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिएको इन्द्रजात्रा इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने गर्दछ ।

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें याः’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र याः भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । यःसिं ठड्याउँदा नेपाली सेनाको ब्याण्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

यस जात्राभर भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । जसअनुसार भोलि (बिहीबार) इन्द्रजात्राको मुख्य दिन परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । काठमाडौं महानगरका अनुसार यस वर्ष इन्द्रजात्रा अवलोकन गर्न अमेरिका, चीनसहितका देशबाट पाहुना आउँदै छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी यो पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो भन्ने भनाइ रहेको पाइन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा बसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आउनुभयो र शीत र हुस्सुले वातावरणलाई छोपेर कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किम्वदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।

इन्द्रजात्राको मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहनुभएका श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

सवारी आवागमन प्रभावित हुने
इन्द्रजात्राको अवधिमा यही असोज ११ गते बिहीबारदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरले याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रहृमटोल, हृयुमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्हृयोखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाइएको छ ।

महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरू हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका स्थानमा सवारीसाधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्‍याउनसमेत महानगरपालिकाले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?