प्रथम शारीरिक सुगठनको उपाधि पन्त र चन्दलाई

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । प्रथम सुदूरपश्चिम शारीरिक सुगठनको उपाधि लक्ष्मीदत्त पन्त र सुनिल चन्दले प्राप्त गर्नुभएको छ । सुदूरपश्चिम फिट्नेस एण्ड फारवेष्ट स्पोर्ट्स क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधि पाउनुभएको हो ।
यस्तै, शारीरिक सुगठन विधामा द्वितीय पुरस्कार आर्यन शाही, तृतीय अर्जुन साउद र सहानुभूतितर्फ अनिल सेरलाले प्राप्त गर्नुभएको छ भने मेन्स फिजिकतर्फ द्वितीय पुरस्कारतर्फ अजय रिजाल, तृतीय अमृत रावत र सहानुभूतितर्फ सन्देश शाहले प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै, दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार पुरस्कार दिइएको छ । साथमा जिन्सी पुरस्कारहरू पनि प्रदान गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा मन्त्री साउदले खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेटमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले खेलकुदमा सीमित स्रोत साधन रहेको छ । प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको छ । तर, त्यो अपर्याप्त हो । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचान गरी खेलकुदमा बजेट विनियोजन गर्नेछ ।’

उहाँले बेरोजगारी, गरिबी व्याप्त रहेको बताउँदै भन्नुभयो, ‘यो साझा समस्या बनेको छ । जसका कारण कुलतमा फसेका छन् । तेब्बर ढंगले लागूऔषध दुव्र्यसनी प्रयोगकर्ता बढेका छन् ।’ उहाँले खेलकुद प्रतियोगिताले युवाहरूलाई कुलतमा फस्नबाट रोक्ने भएकाले युवाहरूले विभिन्न खेलकुद प्रतियोगिता गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरू जागरूक नबनेसम्म प्रदेश बन्दैन । युवाहरूले आफैं स्वरोजगारको सिर्जना गर्नुपर्छ ।’

उहाँले क्रिकेट, फुटबलमा प्रदेश अघि बढेको बताउँदै भन्नुभयो, ‘खेलप्रेमी साथी अघि बढ्नुहोस् । प्रदेश सरकारले हरेक क्षेत्रमा सहयोग गर्छ । युवाहरूमा एकता, धैर्यता, ऊर्जा जरूरी छ ।’ क्लबका अध्यक्ष मोहन तामाङको अध्यक्षतामा प्रतियोगिता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?