सरकारसँग सहमति गरेको २४ घण्टा नबित्दै काठमाडौंमा फेरि कुटिए चिकित्सक

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । संघीय राजधानी काठमाडौंमै फेरि चिकित्सक कुटिएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को नेफ्रो विभागको ओपिडीमा कार्यरत डा. मनिष खड्कासहित स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले कुटपिट गरेका हुन् । आइतबार बिहान १ बजेतिर बिरामी लिएर आएका आफन्तले खड्कासहित स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका थिए । ओपिडीअगाडि भिड भएपछि डा. खड्काले उनलाई लाइनमा बस्न आग्रह गर्नुभएको थियो । त्यसपछि बिरामी लिएर आएका व्यक्तिले डा. खड्कामाथि कुटपिट गरेका थिए ।

केएमसी अस्पतालले डाक्टरलाई लेखेटी, भुइँमा बेहोस हुनेगरी पछारेर घाइते बनाएको जनाएको छ । अस्पताल परिवारका नाममा नेपाल चिकित्सक संघलाई पठाएको पत्रमा ओपिडी ड्युटीमा कार्यरत डाक्टरमाथि अराजक व्यक्तिहरूद्वारा कायरतापूर्वक भौतिक आक्रमण गरिएको उल्लेख छ । ‘डाक्टरलाई लखेटी, भुइँमा बेहोस हुने गरी पछारेर, शरीरका विभिन्न भागमा घाउनै हुनेगरी घाइते बनाइएको व्यहोरा जनाकारी गराउँदछौँ,’ संघमा पठाइएको पत्रमा उल्लेख छ ।

यसअघि हेटौँडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए । त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए । आन्दोलित स्वास्थ्यकर्मीसँग सरकारले शनिबार साँझ मात्रै ६ बुँदे सहमति गरेको थियो । सरकारसँग सहमति भएको २४ घण्टा नबित्दै फेरि काठमाडौंमै चिकित्सकमाथि कुटपिट भएको हो ।

बिरामीका आफन्तले चिकित्सकमाथि कुटपिट गरेपछि केएमसिमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । कलेजसँग आबद्ध इन्टर्न, मेडिकल अफिसर, आवसीय चिकित्सक तथा सम्पूर्ण मेडिकल विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका थिए । आन्दोलनमा नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो ।

स्वास्थ्यकर्मी कुट्नेलाई तीन वर्ष सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार तयार
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार आन्दोलनरत चिकित्सकसँग भएको ६ बुँदे सहमतिमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको हो । हाल स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपात गरे एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीसँग भएको सहमतिमा स्वास्थ्यकर्मी कुट्नेलाई तीन वर्ष बढी जेल सजाय हुनेगरी कानुनी व्यवस्था गर्ने सहमति भएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार राति ६ बुँदे सहमति भएको हो । सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरूको आन्दोलन फिर्ता भएको छ । ‘कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने मागका सम्बन्धमा नेपाल सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै यसविषयमा कानुन संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अघि बढाउने,’ सहमतिमा उल्लेख छ ।

यस्तै, ‘चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारबाही चलाउन,’ सरकार सहमत भएको छ ।

स्वास्थ्यकर्मीहरूमाथि बारम्बार भइरहेका कुटपिट र दुव्र्यवहारका घटनाको कारक तत्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषयहरू समेटी प्रतिवेदन पेस गर्न १० दिनभित्र उच्चस्तरीय कार्यदल गठन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ । प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेख भएको मूलमर्म कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कारबाही गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?