नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिकरूपमा सार्वजनिक गर्ने प्रतिवेदनअनुसार हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्किंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्नेछ ।

मंगलबार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अनुमान गरेको छ तर पनि अनियमित वर्षाका कारण कृषि उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिम पनि रहेको उल्लेख गरेको छ ।

विश्व बैंकका अनुसार हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्किंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपनलगायतका कारण आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्नेछ ।

प्रतिवेदनले नेपालको बाहृय प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुनसक्ने विभिन्न पक्षहरूको खोजीसमेत गरेको छ । वर्ष २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशतमात्रै कुल निर्यात रहेको थियो, जुन दक्षिण एसियाका मध्यम आय भएका देशको औसतको एक तिहाइमात्रै हो । नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमयदरको अभिमूल्यनलगायत कारक रहेको उल्लेख गरेको छ । साथै समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औँल्याइएको छ ।

नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोस भन्नुहुन्छ, ‘चुनौतीका बाबजुद नेपालले आफ्नो दीर्घकालीन आर्थिक पुनरूत्थानलाई आकार दिन आफ्नो हरित, उत्थानशील तथा समावेशी विकास नीतिको कार्यान्वयनतर्फको कदम जारी राखेको छ । मूल्य र गुणस्तर दुवै हिसाबले नेपालको पुनरूत्थान र निर्यात बजारमा थप प्रतिस्पर्धात्मक बन्न मुख्य प्रेरक शक्ति भनेको नै बाहृय प्रतिस्पर्धात्मकतामा सुधार हो । त्यसका लागि घरेलु उत्पादन बढाउन सहयोग हुने सुधारका काम र नेपालका व्यापार साझेदारहरूसँगको मुद्रास्फीति अन्तर घटाउने प्रयासलगायतमा विशेष जोड दिनुपर्ने हुन्छ ।’

नेपाल विकास प्रतिवेदन सोही दिन सार्वजनिक भएको ‘दक्षिण एसिया विकास अपडेटः टुवार्ड फास्टर, क्लिनर ग्रोथ’ को एक हिस्सा हो, जसले यस क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको छ । यो दर अन्य कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो तर सोही क्षेत्रको महामारीपूर्वको रफ्तार र विकास लक्ष्य हासिल गर्न आवश्यकभन्दा कम हो ।

विश्व बैंकका अनुसार क्षेत्रीय वृद्धिका सम्भावनाहरू नाजुक वित्तीय अवस्थासहित अन्य नकारात्मक जोखिमका कारण पनि खुम्चिन्छन् । दक्षिण एसियाका देशहरूको राष्ट्रिय ऋण वर्ष २०२२ मा कुल गार्हस्थ्य उत्पादनको औसत ८६ प्रतिशत रहेको थियो, जसका कारण देशहरू टाट पल्टिने, ऋणको लागत बढ्ने र निजी क्षेत्रप्रतिको भरोसा घट्नेजस्ता जोखिम बढ्ने गर्छ । चीनको सुस्त हुँदै गएको आर्थिक वृद्धि र जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपत्तिले पनि यस क्षेत्र प्रभावित हुने सम्भावना उत्तिकै छ ।

आर्थिक चुनौतीबाट सिर्जित सीमितताका कारण सरकारहरूले ऊर्जा क्षेत्रमा जारी संक्रमणकाललाई पूर्ण आत्मसात गर्ने गरी आफ्नो देशको अर्थतन्त्रलाई सघाउन सकेका छैनन् । विकासशील देशका लागि थप भारका रूपमा लिइने गरेको भए पनि विभिन्न संस्थालाई अझै लगानी थप्न, वायु प्रदूषण घटाउन र इन्धन आयातप्रतिको निर्भरता कम गर्नतर्फ परिचालन गर्न सकिएमा ऊर्जा संक्रमणकालले भविष्यको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको अवसर दिनेछ ।

विश्व बैंक दक्षिण एसिया क्षेत्रका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओहृनसोर्ज भन्नुहुन्छ, ‘दक्षिण एसियाको ऊर्जा उत्पादनको प्रचुरता विश्वव्यापी औसतभन्दा दोब्बर रहेको भए पनि यो क्षेत्र थप उन्नत ऊर्जा-निपूर्ण प्रविधिको अनुकूलनमा पछि परेको छ । दु्रुत गतिमा भइरहेको विश्वव्यापी ऊर्जा परिवर्तनकालका सन्दर्भमा ऊर्जाको निपूर्णतामा सुधार दक्षिण एसियाका लागि आर्थिक र वातावरणीय दुवै लक्ष्यतर्फ प्रगतिका लागि अवसर बनेर आउनसक्छ ।’

विश्व बैंकका अनुसार ऊर्जा परिवर्तनले दक्षिण एसियाको श्रम बजारमा पनि उल्लेख्य प्रभाव पार्न सक्छ । यस क्षेत्रका १० मध्ये एक श्रमिक अत्यधिक प्रदूषित क्षेत्रमा कार्यरत छन् । यस्ता रोजगारीका क्षेत्र श्रम बजारमा भइरहेको परिवर्तनका कारण थप संकटमा पर्ने अदक्ष र अनौपचारिक कामदारमा बढी केन्द्रित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?