कला नगरी घोषणा : अबको पाइला

हिमालय टाइम्स
Read Time = 9 mins

✍️ रविन्द्रराज ताम्रकार

विश्वकला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५औं कला नगरी घोषणा गरेपश्चात यसको चर्चा परिचर्चा चुलिएको छ । वास्तवमा धेरै पहिलेदेखि ललितपुर नगरी हस्तकला नगरीको रूपमा प्रख्यात छ । यहाँ टोलटोलमा, घरघरमा हस्तकलाका कलाकारहरूको बसोवास रहेका छन् । अहिले नै पनि नेपालबाट निर्यात हुने हस्तकलाका सामग्रीमा ८० प्रतिशतभन्दा बदी त ललितपुर नगरीमा नै बनेका पाइन्छन् ।

परापूर्व कालदेखि नै नगरका विभिन्न टोलमा फरक-फरक हस्तकलाका सामग्रीको उत्पादन हुँदै आइरहेका छन् । जस्तै नागबहाल, ओकुबहालमा मूर्तिकला, भिन्छेबहालमा प्रस्तरकला, टंगलमा धातुकला, वुबहालमा चाँदीका गरगहना, जोम्बहाल, बुंगमतीमा काष्ठकला, लूभुमा कपडा उत्पादन । यसो भनेको हालको एक गाउँ एक उत्पादनको अवधारणा जस्तै हो । विश्व सम्पदा सूचीमा समेत सूचीकृत ललितपुर नगरको दरवारक्षेत्र सूचीदाले भरीपूर्ण र ऐतिहासिक बस्तीयुक्त सुन्दर शहर हो । करिब १२औं शताब्दीको पिम्बहाल पोखरी, सम्राट अशोकले निर्माण गराएका चार स्तुपा, ऐतिहासिक हिरण्यवर्ण महाविहार, पुरातात्विक रातो मच्छिन्द्रनाथको जात्रा, विश्वप्रसिद्ध कृष्ण मन्दिर, ऐतिहासिक सुन्धारा, महाबौद्ध मन्दिर यस नगरका गहना हुन् । वास्तवमै भन्ने हो भने ललितपुर नगरी कला, संस्कृतिको उदगम थलो मान्न सकिन्छ ।

संयुक्त अधिराज्यमा प्रधान कार्यालय रहेको विश्व कला परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई विभिन्न चरणमा अध्ययन गरेर कला नगरी घोषणा गर्दै आइरहेका छन् । ललितपुर महानगरपालिकामा पनि परिषदका प्रतिनिधि पटक–पटक भ्रमण गरेरमात्रै कला नगरी घोषणा गरेका हुन् । नेपाल सरकारका पुरातत्व विभाग, नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल हेरिटेज सोसाइटीको विशेष पहल र सिफारिशपश्चात् परिषद्ले यसतर्फ पहलकदमी बढाएका थिए ।

कला नगरी घोषणाले आफ्नै मौलिक हस्तकला भएको ललितपुर नगरीको शिर उच्च भएको त छँदैछ साथमा सिंगो मुलुककै गौरव बढाएको छ । साथै कला नगरीमा परेपछि त्यसको गरिमा उच्च राख्ने गरी काम गर्नुपर्ने दायित्व बढेको छ । ललितपुर महानगरपालिका कार्यालयले यी कुराहरूमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

विश्व कला परिषद्ले ३५ वटा शहरलाई कला नगरी धोषणा गरेको भए तापनि हाल २८ वटा शहरमात्रै यो उपाधिबाट विभूषित रहेको पाइन्छ । परिषद्बाट प्रत्येक दुई-दुई वर्षमा गरिने अडिट (मूल्यांकन)बाट मापदण्ड पूरा नगरेका शहरहरूलाई कला नगरीको सूचीबाट हटाएका हुन्छन् ।

विश्व कला परिषद्ले ३५ वटा शहरलाई कला नगरी धोषणा गरेको भए तापनि हाल २८ वटा शहरमात्रै यो उपाधिबाट विभूषित रहेको पाइन्छ । परिषद्बाट प्रत्येक दुई दुई वर्षमा गरिने अडिट (मूल्यांकन) बाट मापदण्ड पूरा नगरेका शहरहरूलाई कला नगरीको सूचीबाट हटाएका हुन्छन् । तसर्थ ललितपुरले पनि आफ्नो साख कायम राख्न थप मिहिनेत गर्नुपर्ने हुन्छ । यसलाई अझ प्राथमिकतामा राखेर संस्कृति खोजी गर्दै अघि बढनुपर्ने देखिन्छ । महाभूकम्पबाट क्षति पुगेका सम्पदाहरूको पूननिर्माणमा जोड दिनुपर्ने हुन्छ । ललितपुर नगरीको काष्ठकला, मूर्तिकला, धातुकला, प्रस्तरकला आदि जस्ता स्थानीय कला, सम्पदाको संरक्षण गर्दै अघि बढ्नुपर्ने हुन्छ ।

विश्व कला नगरी घोषित ३५ वटा शहरमध्ये हाल २८ वटामात्रै सूचीकृत छन् । एशिया प्यासिफिक राष्ट्रहरूमा मात्रै २० वटा शहर विश्वकला नगरीमा सूचीकृत छन् । तीमध्ये इरानमा मात्रै सातवटा शहरहरू लालेजिन, ताब्र्रिज, मस्सद, सिरजान, मारिभान, कालपोरगान र इस्फान कला नगरीको सूचीमा छन् । त्यस्तै चीनका फुक्सिन, डोङगार्ड, देहुआ, हुयान तथा छयानयउ गरी पाँचवटा शहर सूचीकृत भएका छन् । त्यसैगरी भारतका ममरपुरम तथा जयनगर, जोर्डनको माडाबा, प्यालेष्टाइनको हेब्रोन, थाइल्याण्डको साकोन नाखोन, लेवननको ट्रिपोली, इण्डोनेसियाको यज्ञकार्ता तथा हालैमात्र नेपालको ललितपुर शहर विश्वकला नगरीको सूचीमा पर्न सफल भएका छन् ।

यसका साथै युरोपबाट डेनमार्कको बर्नहोल्म तथा स्कटल्याण्डबाट आउटर हेब्रिड सूचीकृत छन् भने ल्याटिन अमेरिकाबाट चिलीका चिम्बारोङगो, रारी, डोनिहृयू, लिक्विन गरी चारवटा शहर कला नगरीको सूचीमा छन् । त्यस्तै क्युबाको त्रिनिडाड तथा उरुग्वेको आर्टिगास पनि सूचीकृत छन् । विश्वकला परिषद्मा सन् १९९० देखि नै नेपाल हस्तकला महासंघले नेपालको प्रतिनिधित्व गर्दै आइरहेको छ । ललितपुर महानगरलाई कला नगरी घोषणा गराउनुमा पनि महासंघको महत्वपूर्ण भूमिका छ । साथमा ललितपुर उद्योग वाणिज्य संघ एवं ललितपुर महानगरपालिकाको पनि भूमिका रहेको छ ।

आगामी समयमा यी संस्थाहरूको समन्वयकारी भूमिका महत्वपूर्ण रहनजाने हुन्छ । विशेष गरेर प्रत्येक दुई-दुई वर्षमा हुने अडित (मूल्यांकन)बाट जोगिनुपर्ने हुन्छ । त्यसका लागि यस क्षेत्रमा थप सक्रियताको आवश्यकता पर्नजाने हुन्छ । यसका लागि ललितपुर महानगरपालिका कार्यालयबाटै सरोकारवाला सम्मिलित एक अधिकार सम्पन्न समितिको गठन गरी विभिन्न क्रियाकलाप अगाडि बढाउँदा उपयुक्त हुनजान्छ । महानगरपालिका तथा सरोकारवाला संघसंस्थाहरूले आआफ्ना प्रचार सामग्रीमा कला नगरी अंकित लोगो, प्रतिक चिहृन प्रयोग गर्न सकिन्छ ।

यसका साथै ललितपुरमा उत्पादित हस्तकलाका सामग्रीमा गुणस्तरीयता कायम गर्दै कला नगरीमा उत्पादित भनेर प्रमाणित गर्न सकेमा पनि उपयुक्त हुनेथियो । यसका साथै स्थानीय हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन पनि गरिँदै लग्नुपर्दछ । कला नगरी घोषणापश्चात स्थानीयवासीको आर्थिक स्तरलाई माथि पुर्‍याउन सकेमात्र कला नगरी घोषणाको सार्थकता देखिन जानेछ । नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई योगदान पुग्ने किसिमबाट पनि कला नगरीलाई प्रवद्र्धन गर्न सकिन्छ । जे होस्, कला नगरी घोषणालाई सार्थक तुल्याउन एकल प्रयासले मात्र सम्भव हुन सक्दैन । तसर्थ ललितपुर महानगरपालिकाले सरोकारवाला सबैलाई साथमा लिएर दृढ इच्छा शक्तिका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?