राज्यले व्यवसायीलाई आतंकित बनाएको गुनासो

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । उद्योग संगठन मोरङ र राजस्व अनुसन्धान विभागबीच चोरी पैठारी नियन्त्रण तथा राजस्व चुहावटलगायत समसामयिक विषयमा छलफल भएको छ । उद्योगी व्यवसायी र विभागका महानिर्देशक नवराज ढुंगानाबीच उद्योग संगठन मोरङमा छलफल भएको हो ।

सो अवसरमा संंगठनका अध्यक्ष राकेश सुरानाले नियतवश हुने कसुर तथा भुलवश हुने गल्ती छुट्याई अनुसन्धानपछि मात्र कारबाही अघि बढाउन आग्रह गर्नुभयो । शंकाकै आधारमा व्यवसायीमाथि भइरहेको धरपकडले व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आई डर र त्रासको वातावरणसँगै लगानी संकुचित हुँदै गएको उहाँले बताउनुभयो । राज्यले गैरकानुनी कारोबारलाई निरुत्साहित गर्दा कानुनको अधिनमा रही व्यापार व्यवसाय गर्दै आएकालाई प्रोत्साहित गर्ने वातावरण तयार गर्नुपर्ने अध्यक्ष सुरानाको भनाइ थियो ।

विभागका महानिर्देशक ढुंगानाले राजस्व चुहावट तथा चोरी पैठारी नियन्त्रणका लागि सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट विश्वासको वातावरण बन्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा आन्तरिक व्यापार, वित्तीय क्षेत्र सुधारको अपेक्षा गर्दै कानुनसम्मत व्यवसाय गरी राजस्व लक्ष्य प्राप्तिमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । व्यापार र उत्पादन लागत घटाउन सरकार र निजी क्षेत्र दुवै जिम्मेवार हुनुपर्ने महानिर्देशक ढुंगानाको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारबाट सबै प्रक्रिया पूरा गरी छुटेका सामान बीच बाटोमा चेकजाँच गर्ने परिपाटीको अन्त्य गर्दै एउटै स्थान र निकायबाट सम्पूर्ण प्रक्रिया पूरा हुने व्यवस्था हुनुपर्ने बताउनुभयो ।

संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले गैरकानुनी क्रियाकलापमा संलग्न र कानुनसम्मत कारोबार गर्नेलाई राज्यले समान प्रकृतिको व्यवहार गर्दा निजी क्षेत्रको मनोबल घट्दै गएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवन सारडा, संगठनका उपाध्यक्ष, कार्यसमिति सदस्य, मोरङ व्यापार संघ, इनरुवा, इटहरी, झुम्का, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं विभागका अधिकारीहरूको सहभागिता रहेको संगठनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?