मध्यपूर्वमा तनाव :

इजरायल र प्यालेस्टाइनी हमासबीच भयावह युद्ध, विश्वजगत त्रसित, १० नेपालीले गुमाए ज्यान

अनिल क्षेत्री
Read Time = 23 mins

काठमाडौं । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि सुरु भएको युद्ध जारी छ । प्यालेस्टाइनका हमास विद्रोहीले अचानक इजरायलमा छिरेर व्यापक आक्रमण सुरु गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गर्नुभएको थियो । इजरायललाई थाहै नदिई सयौँ हमास विद्रोहीहरूले शनिबार इजरायल छिरेर अन्धाधुन्ध आक्रमण सुरु गरेका थिए । प्यालेस्टाइनीहरूले गाजा क्षेत्रमा ठूलो मात्रामा इजरायलीहरूलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एकाएक हमास विद्रोहीहरूले आक्रमण सुरु गरेपछि इजरायल अप्रत्याशित संकटमा परेको छ । हमास विद्रोहीहरूले गाजाबाट हजारौँ मात्रामा रकेटहरू एकैपटक इजरायलमा प्रहार गरे । योपटक उनीहरू प्यारासुटबाट धमाधम इजरायली सहरमा झरेर अन्धाधुन्ध गोली प्रहार गर्दै सर्वसाधारणको हत्या गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ ।

इजरायलमा हमासले गरेको आक्रमण र त्यसपछि इजरायलको प्रतिक्रियापछि स्थिति निकै तनावपूर्ण बनेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको थियो । पछिल्लो चौबीस घण्टामा घटनाक्रमहरू तीव्र रूपमा परिवर्तन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हालसम्म इजरायलमा हमासले गरेको आक्रमणमा परी तीन सय इजरायलीको मृत्यु भएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार दुई हजारभन्दा बढी इजरायली घाइते भएका छन् । इजरायलको प्रतिकारात्मक कारबाहीमा ३१३ जना प्यालेस्टाइनीको मृत्यु भएको, करिब दुई हजार घाइते भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिबार हमासले आफूविरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ । हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन् । दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएका छन् । हमासले आफूले इजरायलको एसकलोन सहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत्, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ । इजरायली सेना र हमास विद्रोहीहरूबीच लडाइँ जारी रहँदा प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकहरूलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ मा प्रवेश गरिएको बताउनुभएको छ । इजरायली रक्षा बल (आइडिएफ)ले आफ्ना सैनिकहरू इजरायलका २२ ठाउँमा अतिवादीहरूसँग लडिरहेको जनाएको छ । प्यालेस्टाइन मिलिटेन्ट समूहका एक अधिकारी मोहम्मेद डेइफले इजरायलको अत्याचारको सीमा नाघेको भन्दै आफूहरूसँग आक्रमणको विकल्प नभएको बताएका छन् । अहिले इजरायलीहरूको भागाभाग भएको छ । सरकारले घरमा नै झ्याल ढोका लगाएर सुरक्षित बस्न आग्रह गरे पनि स्थानीयहरू त्रसित बनेका छन् ।

हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ । तर, इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ । इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका सर्वसाधारणलाई आ–आफ्नो ठाउँमा शरण लिन आग्रह गरेको छ । इजरायलले गाजापट्टीमा हमासको स्थानमा आक्रमण गर्ने उद्देश्यले यस्तो आग्रह गरेको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई कालो दिनको संज्ञा दिँदै दुस्मनले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । हमासका प्रवक्ताले बिबिसीलाई इजरायलमाथिको यो अचानक आक्रमणमा इरानको समर्थन रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा ‘शान्ति र स्थायित्व’ कायम गर्न अपिल गर्नुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न आग्रह गर्नुभएको छ ।

समुद्रको बाटो इजरायल छिर्न खोजेका दर्जनौँ आक्रमणकारीलाई इजरायली जलसेनाले मारेको पनि बताइएको छ । इजरायलको विगतको इतिहास र व्यवहारलाई हेर्दा युद्धले अत्यन्तै भयावह मोड लिने अनुमान गरिएको छ । यसपल्टको हमास आक्रमणले इजरायललाई आश्चर्यचकित तुल्याएको छ । यसलाई इजरायली खुफियातन्त्रको नाकामीका रूपमा समेत लिइएको छ । यो तहको एकैपटकको संगठित आक्रमणको अपेक्षा पटक्कै गरिएको थिएन । झण्डै ५० वर्षअघि इजरायलीहरू यहुदीहरूको सबैभन्दा ठूलो चाँड योम किपुर मनाइरहेका बेला यस्तैखाले चौतर्फी आकस्मिक घातक आक्रमण गरिएको थियो । अहिले पनि योम किपुरकै मौसम छ । शनिबार यहुदीहरू सबाथ (साप्ताहिक शान्त प्रार्थना) मनाउँदै थिए । यी सबै कारणले पनि इजरायलले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउने र अत्यन्तै आक्रामक ढंगले प्रत्याक्रमण हुने अनुमान गरिएको छ । आइतबारका दिन इजरायलका स्कुल कलेजहरू बन्द गरिएका थिए ।

इजरायल-प्यालेस्टाइनी युद्धको इतिहास
इजरायल–प्यालेस्टाइन द्वन्द्वको इतिहास अरब प्रायद्वीपमा यहुदी बहुल मुलुकको स्थापनासँगै सुरु भएको थियो । सन् १९४७ नोभेम्बरमा संयुक्त राष्ट्रसंघले ब्रिटिस म्यान्डेट (शासनमा रहेको) प्यालेस्टाइनलाई अरब र यहुदी राज्य गरी दुई भागमा बाँढ्ने योजना अर्थात् रिजोलुसन १८१ ल्यायो । यो प्रस्ताव पास भएसँगै प्यालेस्टाइनमा यहुदी र अरबबीच युद्ध भड्कियो । दशकौँदेखि यहुदी समूहहरूले प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्र बनाउन अभियान चलाइरहेका थिए । यस अभियानअन्तर्गत विश्वभरबाट यहुदीहरू प्यालेस्टाइन आउन आहृवान गरियो । कतिलाई सहयोग दिएर ल्याइयो । बेलायत प्यालेस्टाइनबाट बाहिरिएसँगै सन् १९४८ मे १४ मा इजरायल स्थापना भयो । छेउछाउका सबैजसो मुस्लिमबहुल अरब मुलुक आफ्नो छेउमै यहुदी बहुल राष्ट्र निर्माणको विरोधमा थिए । त्यसैले स्थापनाको घोषणालगत्तै तिनले इजरायलमाथि आक्रमण गरे । सन् १९४९ मा अन्त्य भएको युद्ध इजरायलले जित्यो र परिणामस्वरूप इजरायलले दाबी गरेको भूभागमा बसोवास गर्ने क्षेत्रबाट सात लाख ५० हजार विस्थापित भए । यो युद्धमा जितेसँगै पहिलेको ब्रिटिस म्यान्डेट प्यालेस्टाइन अब यहुदीबहुल इजरायल र त्यसको दुई छेउमा अरबी बहुल वेस्ट बैंक र गाजापट्टी गरी तीन भागमा विभाजित भयो । त्यसयता पटक-पटक इजरायलविरुद्ध छिमेकी अरबी मुलुकले आक्रमण गरे । तर, अधिकांश युद्ध इजरायलको जितमा गएर टुंगिन्थ्यो । हरेक युद्धपछि इजरायलले उसको भूमिको आकार बढाउँदै लग्यो । सन् १९८० को दशकदेखि इजरायल र उसका छिमेकी अरबी मुलुकबीच युद्ध भएको छैन । पछिल्लो समय इरायल–अरब संघर्ष इजरायल र गाजास्थित सशस्त्र समूहबीच केन्द्रित छ ।

पछिल्लो १५ वर्षको अवधिमा इजरायल र प्यालेस्टाइनबीच जारी युद्धसहित ६ ठूला युद्ध भएका छन् । सन् २००८ यता इजरायल र प्यालेस्टाइनी पक्षबीच गाजापट्टीमा आधा दर्जन ठूला भिडन्त भइसकेका छन् । सन् २००८ डिसम्बेरमा २२ दिनसम्म चलेको भिडन्तमा १४ सय प्यालेस्टाइनी र १३ इजरायली मारिएका थिए । सन् २०१२ अक्टोबरमा आठ दिन चलेको आक्रमणमा पाँच इजरायली र १५८ प्यालेस्टाइनी मारिएका थिए । चार संघर्षमध्ये सबैभन्दा लामो यो ५० दिन चलेको थियो । हमासले तीन इजरायली किशोरको अपहरणपछि हत्या गरेपछि इजरायलले बमबारी सुरु गरेको थियो । यसपटक २१ सय प्यालेस्टाइनी मारिए भने ७३ इजरायली मारिए । जसमा ६७ सैनिक थिए । सन् २०१४ मा पनि हमास र इजरायलबीचको द्वन्द्वमा इजरायलले गाजामा भीषण कारबाही गरेको थियो । सात हप्ता चलेको त्यस युद्धमा झण्डै दुई हजार २०० प्यालेस्टिनीको मृत्यु भएको थियो जसमा झण्डै एक तिहाई बालबालिका र महिला थिए । सन् २०१९ नोभेम्बरमा इजरायलले प्यालेस्टाइनी इस्लामिक जिहाद (पिआइजे) का एक कमान्डरलाई मारिदिएपछि इजरायल र पिआइजेबीच पाँच दिन संघर्ष भएको थियो । गत वर्ष प्यालेस्टाइन इस्लामिक जिहादका दुई नेता खालेद मन्सुर र तेसिर जाबेरी इजरायली सेनाको हवाई आक्रमणमा गाजा क्षेत्रमा मारिएसँगै इजरायल र प्यालेस्टाइनबीचको विवादले चरम हिंसाको रूप लियो । दुवैतर्फ एक-अर्काविरुद्ध आक्रमण भयो ।

इजरायलतर्फ खासै क्षति नभए पनि गाजामा भने मानवीय र भौतिक क्षति भयो । १५ बालबालिकासहित ४४ जना मारिए भने तीन सयभन्दा बढी घाइते भए । सन् २०२१ को मे १० देखि सुरु भएको युद्धमा इजरायल र प्यालेस्टाइन दुवै पक्षमा क्षति भयो । ११ दिने यस युद्धमा १२ जना इजरायली र २३० प्यालेस्टिनीको मृत्यु भयो । १७ सयभन्दा बढी घाइते र ६० हजार प्यालेस्टिनी विस्थापित भए । गाजा क्षेत्रमा करिब पाँच सय भवन ध्वस्त भएका थिए ।

इजरायलमा रहेका नेपालीको अवस्थाबारे गृहमन्त्रीको चासो
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच शनिबारदेखि जारी द्वन्द्वका कारण नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गृहमन्त्रीले चासो देखाउनुभएको हो । मन्त्री श्रेष्ठले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गोडरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिनुभएको हो । नेपाली राजदूत रिजालले घाइते एवं युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताउनुभएको छ । त्यस्तै, इजरायली राजदूत गोडरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताउनुभएको छ ।

इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काउन कांग्रेसको माग
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो । विज्ञप्तिमार्फत सभापति देउवाले भन्नुभएको छ, ‘इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ इजरायलमा भएको आक्रमणमा परी करिब एकदर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले भनेको छ, ‘यस घटनाको भत्र्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ ।’ इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवाससम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।

इजरायली समकक्षीसँग कुरा गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ पहल लिनुपर्ने माग गर्नुभएको छ । सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने र प्रधानमन्त्री स्वयंले समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवनरक्षाका लागि पहल लिनुपर्ने माग गर्दै गिरीले भन्नुभयो, ‘सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसद्मा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीलाई फोन गरेर संवाद गर्नुपर्छ । हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवनरक्षा गर्नुपर्‍यो । उनीहरूको उद्धार गर्नुप¥यो । उपचारको काम तुरुन्त हुनुपर्‍यो । यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधासिधी कुरा गर्नुपर्छ ।’ उहाँले संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपाली प्रतिनिधिले नेपाली नागरिकका बारेमा सघन ढंगले विषय उठाएर युएनको ध्यानाकर्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

इजरायलमा रहेका नेपाली भन्छन्- ‘बंकरै थर्किने बमको आवाज सुनिन्छ’
शनिबार बिहानदेखि प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण जारी राखेको वैदेशिक रोजगारीमा गएकी इलामकी सावित्रा राई बताउनुहुन्छ । आफू हमासले रकेट, बम र अन्य आक्रमण गरेभन्दा ३० किलोमिटर टाढा बंकरमा लुकेर बसेको उहाँले जानकारी दिनुभयो । शनिबारदेखि लगातार बम र रकेट पड्किएको आवाज मात्र आउने गरेको बताउँदै सावित्राले भन्नुभयो, ‘हमासले बम हानेको हान्यै छ । इजरायलले पनि जवाफी कारबाही गरिरहेको छ । बंकरभित्र नै ठूलो बम पड्किएको आवाज आउँछ । यस्तो आवाज हरेक एकघण्टा नबित्दै सुनिन्छ । हमासले शनिबार बिहानदेखि गरेको आक्रमणका कारण बाँचिएला जस्तो छैन । आक्रमण भएको स्थानबाट नजिकै आफू बस्ने ठाउँ भएका कारण आक्रमणकारी बंकरमा प्रवेश गर्छन् कि भन्ने त्रास पनि उत्तिकै छ ।’ दुई वर्षअघि भएको आक्रमणमा हमास समूहले यो स्थानमा घरभित्रै पसेर आक्रमण गरेका थिए रे । योपटक पनि त्यस्तै हुने हो कि भनेर आफू काम गर्ने मालिक्नीले बताइरहेको उहाँले बताउनुभयो । १७ महिनाअघि मात्र रोजगारीका लागि इजरायल पुग्नुभएकी राई बमको आवाज छिनछिनमा सुन्दा बाँचिन्छ जस्तो लाग्न छाडेको बताउँदै सामाजिक सञ्जालमार्फत भन्नुहुन्छ, ‘बंकरमाथि र माथिबाट झिरझिर गर्दै रकेट उडेको देख्दा मरिने भइयो जस्तो लाग्छ । मिनेट-मिनेटमा बम पड्किएको आवाज आउँछ । यहाँका मान्छेलाई त्यस्तो आक्रमण सामान्य लाग्छ । तर, हामीलाई भने अहिल्यै मरिएला जस्तो हुन्छ ।’

१० नेपालीले गुमाए ज्यान

इजरायलमा भएको हमास आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन् । शनिबार बिहानैबाट भएको आक्रमणमा परी पछिल्लो समयसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी गराउनुभयो । सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए । किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो ।

सोही फार्ममा रहेका विद्यार्थीमध्ये दुई जना सुरक्षित छन् । अन्य चार जनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन् ।
मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेशकुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेशराज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेशकुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी र दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहनुभएको छ ।

सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित हुनुहुन्छ । सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धनबहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते हुनुहुन्छ । उहाँहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
कञ्चनपुर, भीमदत्त–३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?