काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले सञ्चालकहरूकै कारण सहकारी संस्थामा समस्या आएको बताउनुभएको छ । राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नरसमेत रहनुभएका शिवाकोटीले सञ्चालकहरूको स्वेच्छाचारी प्रवृत्तिका कारण सहकारी संस्थामा समस्या आएको बताउनुभएको हो । लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८० लाई सम्बोधन गर्दै उहाँले सहकारी बदनाम र विकृत हुनुमा बढी सञ्चालककै दोष रहेको र जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्ने बताउनुभयो ।
धेरै सहकारी संस्थाले सहकारी सिद्धान्त, नीति, नियममा नरही बिनाकार्ययोजना मनलाग्दी वित्तीय कारोबार गरिरहेको र कमजोर लेखा समितिको फाइदा उठाउँदै सञ्चालकहरूले मनलाग्दी गरेका कारण सहकारीमा समस्या आएको शिवाकोटीको भनाइ थियो ।
राष्ट्रिय सहकारी बैंकद्वारा आयोजित लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चालक शिवाकोटीले यस्तो बताउनुभएको हो । धेरै सहकारीले नीति तथा कार्ययोजना नबनाई सञ्चालक समितिको एकल निर्णय गर्नाले र संवेदनशील निर्णयमा समेत सदस्यलाई बाइपास गरेकाले थप समस्या आएको उहाँले जिकिर गर्नुभयो ।
शिवाकोटीले भन्नुभयो, ‘संस्थाको लक्ष्य प्राप्त गर्न जवाफदेहिता, कार्यकुशलता, मितव्ययिता, ऐन नियम परिपालना, विश्वसनीयता जस्ता विषय अपरिहार्य छन््, सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्छ ।’
सहकारीभित्रका लेखा सुपरीवेक्षणले सञ्चालक समितिले गरेको निर्णय तथा आर्थिक क्रियाकलापलाई निरन्तररूपमा अनुगमन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सहकारी संस्थाले सदस्यलाई संस्थाका गतिविधिसम्बन्धी सूचना समयमै उपलब्ध गराउनुपर्ने भन्दै शिवाकोटीले आगामी दिनमा सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तरिक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षेपबिना पूर्ण गर्नुपर्ने बताउनुभयो । संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बिमा, एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकूल व्यक्ति नियुक्त गर्दा समस्या आएको शिवाकोटीको भनाइ थियो ।
पूर्वसचिव गोपीनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेष गरी आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको भन्दै सहकारीमा लेखा समितिले संस्थाभित्रको स्वमूल्यांकन, जवाफदेहिता र पारदर्शिता नियमन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सञ्चालकहरूले गल्ती गरे लेखा सुपरीवेक्षण समितिले नियन्त्रण गर्ने भनिए पनि समितिलाई विकल्पका रूपमा मात्र हेर्ने गरिएको गुनासो गर्नुभयो । गुरागाईंले वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव र अन्य थुप्रै कारण सहकारीमा जोखिम आउने गरेको र हाल सहकारीले विश्वासको संघर्ष गरिरहनुपरेको बताउनुभयो । नियमनकारीको अप्रभावकारिता, संस्थामा सुशासन अभाव, सामूहिक भावनाको कमी, स्रोत लागत विश्लेषण अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परिपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको गुरागार्इंको भनाइ थियो ।
टिप्पणीकार नरहरि ढकालले सहकारीमा सञ्चालक, कर्मचारीको विशेष सक्रियता रहनुपर्ने बताउनुभयो । सहकारी शहर केन्द्रित र नाफामुखी हुँदा समस्या निम्तिएको भन्दै सहकारी सफल र दिगो बनाउन संस्थाभित्रका आन्तरिक नीति तथा कार्यविधि कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रममा सहभागीहरूले वित्तीय संकटका कारण सहकारीले गरेको लगानी संकटमा परेकाले असुली विधिसमेत दिन सकेको भए कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच