माटोको सुवास मञ्जु श्रेष्ठको कवितासङ्ग्रह हो । श्रेष्ठ विराटनगरकी स्रष्टा हुनुहुन्छ । छन्दवाटिका नेपाल विराटनगरबाट प्रकाशित भएको यो पुस्तकको सर्वाधिकार कवयित्रीमै निहित छ । यो यस पुस्तकको पहिलो संस्करण हो । डिएमआई साइजमा छापिएको यस पुस्तकमा पहेंलो हलुका कागज प्रयोग भएको छ, छपाइ स्तरीय छ तर अशुद्धिहरू भने भेटिन्छन् ।
भूमिका खण्डमा २२ र पाठ्य खण्डमा ५० गरी यस पुस्तकमा ७२ पृष्ठ रहेका छन् भने पुस्तकको मूल्य दुई सय रुपैयाँ छ । रोशन शाहको डिजाइन र सुजन पोखरेलको टंकन रहेको यस पुस्तकको मुद्रण अरनिको छापाखाना विराटनगरबाट भएको छ । यस पुस्तकको आवरण आकर्षक छ । माथि माछापुछे हिमाल छ भने त्यसमुनि पहाडी धरालतमा ढुङ्गामाटाले बनेका दुईवटा पहाडी घर देखाइएको छ ।
मूर्तकलाका आवरणका यी घरहरू ढुङ्गाले छाएका छानोसहितका छन् र त्यहाँ चौगारो र बाटोसहित देखाइएको छ । बाटामा डोकामा घाँस बेकेर हिँडिरहेकी एकजना महिला छन् र यहाँ हरियो चहुर देखाइएको छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘माटोको सुवास’ भनिएको छ भने तल साना सेता अक्षरमा कवयित्रीको नाम दिइएको छ ‘मञ्जु श्रेष्ठ’ भनेर ।
पृष्ठ आवरणमा फोटोसहित कवयित्रीको चिनारी दिइएको छ । जसअनुसार उहाँ हरिपुर सुनसरीमा २०३१ सालमा जन्मिनुभएको, स्थायी ठेगाना बर्दिवास महोत्तरीमा भएको तर हाल बसोवास भने विराटनगरमा गर्दै आउनुभएको जानकारी प्राप्त हुन्छ । गोपिकृष्ण श्रेष्ठ तथा ज्योति श्रेष्ठकी छोरी मञ्जु एमए र एमएड गरेर शिक्षण पेशामा संलग्न हुनुहुन्छ । उहाँको यसपूर्व २०७२ सालमा बालुवाको घर शीर्षकको कथासङ्ग्रह प्रकाशित भएको छ भने उहाँ बेलाबेलामा विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित गर्दै आउनुभएको छ ।
श्रेष्ठका शास्त्रीय छन्दका यी कविताहरूमा विविधता पाइन्छ । राष्ट्रियता, प्रकृति चित्रण, शान्तिको चाहना, अग्रजहरूप्रति सम्मान, जीवन र जगत, समाज र नातागोता, आधुनिक प्रविधि र सामाजिक सञ्जाल, माया ममता र प्रेम, चाडपर्व, प्रसव पीडालगायत विषय कवितामा आएका छन् ।
साथै यहाँ उहाँको आबद्धता दिइएको छ । उहाँ प्रगतिशील लेखक सङ्घ मोरङ, छन्दवाटिका विराटनगर तथा विराट साहित्य सङ्गममा संलग्न हुनुहुन्छ । यसका साथै यही पृष्ठमा उहाँ र उहाँको पुस्तका सम्बन्धमा साहित्यकार रमेश खकुरेल, दधिराज सुवेदी, प्रा.डा.गोपाल भण्डारी, विवश पोखरेल र हरि कट्टेलका भनाइहरू पनि दिइएका छन् । यसका साथै तल प्रकाशक संस्था छन्दवाटिका नेपालको नाम र लोगो दिइएको छ ।
पुस्तकको भूमिका खण्डमा छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको ‘माटोको सुवास एउटा उज्यालो सङ्केत’ शीर्षको प्रकाशकीय, रमेश खकुरेल र दधिराज सुवेदीको ‘शुभकामना’, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको ‘काव्यात्मक यात्राका लागि हार्दिक शुभकामना’, प्रा.डा. गोपाल भण्डारीको ‘कवयित्री मञ्जु श्रेष्ठका कविताको सङ्क्षिप्त परिचय’ र कवयित्री श्रेष्ठको ‘आफ्ना कुरा’ रहेका छन् । त्यसपछि विषयसूची छ ।
यस सङ्ग्रहमा जम्मा ४९ वटा कविता समावेश छन् । यी कविताहरूमध्ये २८ वटा कविताको शीर्षक एक शब्दमा, १६ वटा कविताको शीर्षक दुई शब्दमा, चारवटा कविताको शीर्षक तीन शब्दमा र एउटा कविताको शीर्षक चार शब्दमा छन् । यसबाट कवयित्री श्रेष्ठको छोटा शीर्षक चयन प्रवृत्ति देखिन्छ । यसैगरी उहाँका कविताहरू पृष्ठ फैलावटका आधारमा छोटा–छोटा छन् । एउटा कविताको फैलावट दुई पृष्ठको छ र बाँकी अन्य ४८ वटा कविता एकै पृष्ठमा अटाइएका छन् । शास्त्रीय छन्दका कविता भएका कारण गद्यजस्तो लामो आयतनमा यहाँका कविता तन्किएका छैनन् । कविता तीन श्लोकदेखि दश श्लोकसम्मका छन् जसले गर्दा पाठकलाई पढ्न झन्झटिला बनेका छैनन् ।
श्रेष्ठका यी शास्त्रीय छन्दका कवितामा विविधता पाइन्छ । राष्ट्रियता, प्रकृति चित्रण, शान्तिको चाहना, अग्रजहरूप्रति सम्मान, जीवन र जगत, समाज र नातागोता, आधुनिक प्रविधि र सामाजिक सञ्जाल, माया ममता र प्रेम, चाडपर्व, प्रसव पीडालगायत विषय कवितामा आएका छन् । यी विषयमध्ये केही निजी विषय छन् भने केही शाश्वत विषयन छन् । पुस्तकका लागि स्रष्टा श्रेष्ठलाई बधाई छ र केही पहिले नै प्रकाशित पुस्तक भएका कारण त्यसभन्दा पछि पनि उहाँका अरू पुस्तक प्रकाशित भइसकेका हुन सक्छन् । कवयित्री श्रेष्ठालाई आगामी पुस्तकहरूका लागि समेत अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच