काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्तालगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गर्नुभएको छ । आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्तालगाइदिन आग्रह गर्नुभएको हो ।
इजरायलमा पढ्न जानुभएका विपिन जोशी हाल बेपत्ता हुनुहुन्छ । उहाँलाई हमासले बन्धक बनाएको बताइएको छ । जोशीसँगै रहेका विद्यार्थीहरूले पनि हमासले थाइल्याण्डका नागरिकसँगै लगेको बताएका छन् । उहाँको उद्दारका लागि सरकारले विभिन्न माध्यम प्रयोग गरिरहेको मन्त्री साउदले जानकारी दिनुभएको छ ।
‘विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बंकरमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बंकरबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन,’ साउदले भन्नुभयो, ‘इजरायलभित्रको परिस्थितिका बारेमा हामीले पटक–पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौं । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशंकामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौं ।’
परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीको थप उद्दार गर्नका लागि सरकार तयार रहेको पनि बताउनुभएको छ । सरकार पुनः चार्टर्ड उडानको माध्यमबाट त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन तयार रहेको उहाँले जानकारी दिनुभयो ।
‘उद्धार गर्नुपर्ने नेपाली नागरिकको संख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भए पनि उद्धार गर्न तयार छौं । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै व्यहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना जारी गरेका छौं । स्वदेश फिर्ता गर्न हामीले त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेका छौं,’ उहाँले भन्नुभयो, ‘संख्या निर्धारण गरेका छैनौं, तर यो निर्णय त्यहाँ रहेका सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ ।’
इजरायलमा कार्यरत सबै नेपाली फर्किन चाहेको जस्तो सरकारलाई नलागेको पनि मन्त्री साउदले बताउनुभएको छ । धेरै नेपाली केयर गिभरका रूपमा गएकाले त्यहाँ इजरायली परिवारसँग बसिरहेको उहाँको भनाइ छ । इजरायलको सुरक्षा प्रोटोकलसँग उनीहरू अभ्यस्त भइसकेको हुनाले उनीहरू हतार गरेर फर्किएलान् जस्तो सरकारलाई नलागेको उहाँको भनाइ छ ।
‘नेपालीको शव इजरायलले नै ल्याइदिने प्रतिबद्धता दोहोर्याएको छ’
परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणमा परी इजरायलमा निधन भएका १० नेपालीको शव प्रक्रिया पूरा भएपछि नेपाल नै ल्याइदिने प्रतिबद्धता इजरायल सरकारले दोहोर्याएको बताउनुभएको छ । इजरायलमा निधन भएका नेपालीहरूको शव परीक्षण कार्य सकिएपछि नेपाल सरकारलाई हस्तान्तर गर्ने प्रतिबद्धता इजरायली अधिकारीले दोहोर्याएको मन्त्री साउदले जानकारी दिनुभएको हो ।
मन्त्री साउदले इजरायलका विदेशमन्त्री र काठमाडौंस्थित इजरायली राजदूतले पनि उक्त प्रतिबद्धता दोहोर्याएको बताउनुभयो । ‘आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा बढी संख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यति नै संख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियानुसार सम्बन्धित देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ,’ उहाँले भन्नुभयो, ‘यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफैं ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेश मन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरूले सो कुरा दोहोर्याउनुभएको छ ।’
नेपाल सरकारले ती शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न चाहेको तर इजरायल सरकारको प्रक्रियाले ढिलो हुनगएको मन्त्री साउदको भनाइ छ । विद्यार्थीको उद्दार गर्न गएको विमानमा नै मृतकको शव ल्याउन चाहँदा पनि प्रक्रियागत ढिलाइले सम्भव नभएको उहाँको भनाइ थियो ।
असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चारजना घाइते छन् भने एकजनाको अवस्था अज्ञात छ । इजरायली अधिकारीका अनुसार शवलाई प्लाष्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको छ । यसैबीच, इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई आफू असुरक्षित बन्दै गएको महसुस भएमा रोजगारदातासँग सल्लाह गरी सुरक्षित स्थानमा स्थानान्तरण हुन सुझाब दिएको छ । दूतावासले एक सूचना जारी गर्दै नेपालीहरूलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन आग्रह गर्दै उक्त सुझाब दिएको हो ।
हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दाबी
प्यालेस्टाइनी लडाकु समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार तीन सय जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए ।
त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् । सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासि गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताउनुभएको छ ।
इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमणस्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको संख्यामा परिमार्जन गरिएको बताएका छन् । हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताउनुभएको छ । यो संख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो संख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् । सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेलापारेको पनि बताएको छ ।
हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच