गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु

पहिलो नागरिकता कुल आचार्य र बद्री केसीलाई प्रदान

नारायण भण्डारी
Read Time = 16 mins

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारस्थित निवासमा मंगलबार बिहान एनआरएनएका पदाधिकारीलाई नागरिकता दिएर वितरणको शुभारम्भ गर्नुभएको हो । कुल आचार्य र बद्री केसीले पहिलो गैरआवासीय नेपाली नागरिकता पाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आचार्य र केसीलाई प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली नागरिकको नागरिकता प्रदान गर्नुभयो । आचार्य र केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष हुनुहुन्छ । अब अन्य गैरआवासीय नेपालीहरूले पनि नागरिकता पाउने बाटो खुलेको छ । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले यसअघि नै नागरिकता नियमावली स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । यो नागरिकता पाउनेले नेपालमा राजनीति गर्न, सरकारी पदमा बस्न र मतदानको अधिकार पाउने छैनन् । उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उनीहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन तथा ११औं महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताउनुभएको हो । ‘नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाको तर्जुमा गरेको छ । संविधान बमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपार्इंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ,’ उहाँले भन्नुभयो ।

नेपाली नागरिकताले एनआरएनएलाई नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनुभयो । विश्वको जुनसुकै कुनामा पुगेर रहे पनि नेपाली नेपाली नै हुने उहाँको धारणा छ । राष्ट्रपति पौडेलले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको भन्दै नेपालमा लगानी गर्नसमेत आग्रह गर्नुभयोे । ‘नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको छ, वास्तवमा विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो,’ राष्ट्रपति पौडेलले भन्नुभयोे । उहाँले नेपाल अब आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित रहने बताउनुभयो । ‘एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन्,’ राष्ट्रपति पौडेलले भन्नुभयोे, ‘यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायत विकासमा केन्द्रित भएको छ । यसका लागि बुहपक्षीय साझेदारीता अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पुँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुनसक्छ ।’ राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र बसोवास गरेको मुलुकमा रहेका लगानीकर्तालाई समेत नेपालमा लगानीका लागि अभिप्रेरित गर्न आग्रह गर्नुभयो । पौडेलले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्न सरकारले विभिन्न कानुनी प्रबन्ध गरेको बताउनुभयो ।

गैरआवासीयलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्‍यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताउनुभएको छ । गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरण कार्यक्रमलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उहाँले भन्नुभयोे, ‘पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो ।’ उहाँले अगाडि भन्नुभयो, ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गर्न हामीले निकै ठूलो मिहिनेत गर्नुपरेको थियो । त्यसकै बलमा तपाईंहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न फेरि अर्को ठूलै मिहिनेत र संघर्ष गर्नुपर्‍यो । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं ।’
आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रपतिबाट नागरिकता विधेयक जारी भएको र त्यससम्बन्धी नियमावली बनेर एनआरएनले नागरिकता पाउने बाटो खुलेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो उपलब्धि कसको संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रहसमेत गर्नुभयोे । प्रधानमन्त्री प्रचण्डले एनआरएनहरूले देखाएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् भन्ने कामना गर्दै गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सरकारले एनआरसँग हातेमालो गर्न चाहन्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताउनुभएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको संघको ११औं विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभर फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकमा लबिङ गर्न र सहयोगी हातहरू विस्तार गर्न एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यससँगको सहकार्यलाई थप प्रभावकारी बनाउन सरकारले सबै प्रयत्न गर्ने स्पष्ट पार्नुभयो । मन्त्री साउदले गैरआवासीय नेपालीहरूलाई सरकारले अवैतनिक राजदूतको रूपमा ग्रहण गरेको समेत बताउनुभयो । नेपालको राजनीतिमा पनि महत्वपूर्ण एजेण्डा बन्न सकेको भन्दै एनआरएनएको प्रशंसा उहाँले गर्नुभयो । मन्त्री साउदले नेपाल राष्ट्रको विकास र समृद्धिमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री साउदले गैरआवासीय नेपालीलाई नागरिकता दिने कामको सुरुवात भएको उल्लेख गर्दै त्यसलाई सहजीकरण गर्न पनि सरकार कटिबद्ध रहेको बताउनुभयो ।

देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पायो : महतो
गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताउनुभएको छ । गैरआवासीय नागरिकता कागजको टुक्रामात्र नभई मुटुको अंश बनेको भन्दै उहाँले भन्नुभयोे, ‘प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरू नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुशी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं ।’ गैरआवासीय नेपालीहरू जुन देशमा बसे पनि हामी नेपाली नै हौं भन्ने भावबाट ओतप्रोत भएर आफ्नो देशलाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै उहाँले त्यसले आज वैधानिकता पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

गैरआवासीयलाई नागरिकता दिनु राष्ट्रघाती कदम : साह
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरुवात भएको टिप्पणी गर्नुभएको छ । गैरआवासीय नेपालीलाई नागरिकता दिने निर्णय देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गर्नुभएको हो ।

‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको सुरुवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’, शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँका अनुसार गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरूको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरी विदेश लैजानका लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पत्ति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनीहरूले अब आफ्नो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन्’, साहले लेख्नुभएको छ, ‘नेपालमा लुटेर राखेका सम्पत्तिसमेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाई खोक्रो बनाउने उहाँको भनाइ छ । उहाँले लेख्नुभएको छ, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’ विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्लामात्रै भएको उहाँको भनाइ छ । साहले भन्नुभएको छ, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठूलो राष्ट्रघाती कार्य हुँदैछ । यस अपराधजन्य कार्यकोविरुद्ध एक भएर प्रतिवाद गरौं । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरू होशियार ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?