म्याग्दी । दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार गरिएको छ ।
गोर्खा आन्दोलनका महानायकका रूपमा समेत चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा भिसी तुलबहादुरको नाममा संग्रालय बनाउन करिब ४ आनाको घर खरिद गरेको करिब आधा दशकपछि गाउँपालिकाले डीपीआर तयार गरेको हो ।
स्व. तुलबहादुर पुनको जन्मघर रघुगङ्गा गाउँपालिका–१ बादुक र सोही वडाको बजारी क्षेत्र पर्ने बेनी–जोमसोम सडकखण्डको कालिका मावि नजिकै स्वर्गीय पुनको परिवारले जग्गा किनिसकेको अवस्थामा अब संंग्राहालय निर्माणका लागि थप स्रोतको खोजी सुरु भएको छ । त्यसैगरी बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्न आफूले पहल गर्ने संघीय सांसद खमबहादुर गर्बुजा (खमवीर)ले बताउनुभयो ।
विश्वभर नै चर्चित व्यक्ति जन्मिएको ठाउँ बाँदुकलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना रहे पनि अहिलेसम्म त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसेकेको भन्दै भिसी पुनको सक्रियतामा सुरु भएको अभियानलाई जनप्रतिनिधिले समेत सघाएपछि अब पुनको जन्मथलोलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सजिलो भएको छ ।
जन्मघर र तिप्ल्याङमा खरिद गरिएको घरमा सङ्ग्रहालयका रुपमा विकास गर्न भिसी पुनले प्रयोग गरेका सामानलाई संरक्षण गर्ने, पुराना र स्थानीय औजार, सामान, उपज, संस्कृति र भेषभुषालाई समेत सङ्ग्रहालयमा राख्ने गरी भिसीको सम्झनामा सङ्ग्रहालय बनाउने रघुगंगा गाउँपालिका वडा नं १ का वडा सदस्य एवम् तुलबहादुर पुन भिसी यूवा क्लवका अध्यक्ष बलमान गाँैचनले बताउनुभयो ।
जन्मस्थानको अवलोकन भ्रमण गराउन र भिसीका जीवन्त र वास्तविक कथा सुनाउन स्थानीय पथप्रदर्शकलाई उचित सीपमूलक र भाषामूलक तालीम सञ्चालन गर्ने योजना बनाइएको छ । संग्रालयबाट प्राप्त आम्दानीलाई स्थानीय सामुदायिक विद्यालयमा खर्च गर्ने योजना समेत रहेकाले सरकारी निकायबाट सहयोग प्राप्त नभए बेलायतमै अभियान सञ्चालन गर्ने योजना छ ।
मगर कला संस्कृति, बेगसँग जोडिएको दोस्रो अग्लो र लामो पुल झोलुङ्गे पुल भएको बादुक गाउँमा स्व. पुन नाममा सङ्ग्रहालय निर्माण गर्न सकेमा आन्तरिकसँगै बाह्य र अध्ययनका लागिसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पु¥याउने वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । उहाँले वडाबाट सक्ने बजेट विनियोजनसँगै पालिका, प्रदेश र संघीय सरकारबाट बजेट आवश्यकता रहेको बताउनुभयो ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संग्रालयको डिपिआर तयार गरिएकाले अव कामले गति लिने बताउनुभयो । उहाँले भिसी पुनको जन्मस्थल आसपासका क्षेत्रमा निर्मित हुने ठूला योजनाहरुको नामाकरण सहित आन्तरिक पर्यटकलाई समेत आर्कषित गर्ने योजनाहरुका बारेमा आवश्यक अध्ययन भइरहेको जानकारी दिनुभयो ।
संग्रालयको संरचना तयारपछि आवश्यक सजावटमा भिसी परिवारले खर्च गर्नेछन् । जन्मभूमी र स्वर्गारोहण भएको स्थानमा संग्रालय बनाउने भिसी पुन परिवारको चाहनालाई गाउँपालिका र स्थानीयबासीले समेत सघाएका छन् । भिसी पुनको समाधीस्थलमा समेत स्थानीयले संरक्षण तथा पुन्यतिथिमा श्रद्धाञ्जली सभ सभा गर्ने गरेका छन् ।
म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले तुलबहादुर पुन भिसी वीरता, समाज सेवा र समानताको आन्दोलनका प्रेरणा भएकाले समुदायका अभियानमा पूर्ण साथ र सहयोग हुने बताउनुभयो । उहाँले संग्रहालय बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत भित्राउन थप पूर्वाधारहरु समेत विस्तार गर्न सकिने बताउनुभयो ।
गोर्खा सेनाबाट अवकाश पाएसँगै भिसी पुन आफ्नै गाउँ फर्किएर गोरखा वेलफेयर ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिए । सामाजिक सेवाकै क्रममा गाउँको प्रधानपञ्चमा समेत निर्वाचित हुनुभएको थियो । जिल्ला पञ्चायत तथा धवलागिरी अञ्चलको सदस्यको रुपमा पनि काम गरेका तुलबहादुरले खानेपानी र विद्यालय स्थापनासँगै अन्य सामाजिक अभियानमा समय दिनुभयो । विसं २१ फागुन १९६९ –२३ मार्च १९२३) मा बाँदुकमा जन्मिएका तुलबहादुरको ८९ बर्षको उमेरमा २०६८ सालमा तिप्ल्याङमा निधन भएको थियो ।
बेलायतको उच्च शैन्य सम्मान पाएका भिसी तुलबहादुरका नाममा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग भनेर नामकरण गरिएको छ । बादुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालीन कालिका माविको संस्थापकसमेत रहेका पुनले गाउँको विकासमा समेत ठूलो योगदान पुर्याउनुभएको थियो ।
बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकाका पुनले एक्लैले जापानी सैनिकलाई परास्त गरी २ वटा मेशिनगन समेत धेरै हतियार कब्जा गर्नुभएको थियो । यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो ।
जनवरी २९, १८५८ मा संयुक्त अधिराज्य वेलायतका महारानी भिक्टोरियाबाट राजकीय घोषणाको अधिकार प्रयोगगरी भिक्टोरिया क्रसको स्थापना भएको हो । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आफनो राष्ट्रको लागी अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने ब्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।
बेलायतको एक रेल सेवाले स्व. तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ । बेलायती अभिनेत्री जोअना लुम्लेले बेलायती जनताको हृदयमा सधैं स्थान पाउने एउटा निष्ठावान् कमाण्डर, बेलायतीको महानायक भएको घोषणासमेत गर्नुभएको थियो । पुन भिक्टोरिय क्रस पाउँदा २१ वर्षका हुनुहुन्थ्यो । गोरखा सैनिकले हालसम्म १३ वटा भिक्टोरिया क्रस प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच