
हुन त वैदेशिक रोजगारीको सम्भावना थपिँदा खुशी हुनुपर्ने होइन तर हाम्रोजस्तो पराधीन भएर बाँच्नुपर्ने देशका लागि यो पनि एउटा गौरवको विषय मान्नुपर्ने अवस्था छ । अब हङ्कङले पनि नेपालीलाई रोजगारीका लागि भिसा दिने भएको छ । रोजगारीको साथै अध्ययन र तालिमका लागि उक्त अवसर दिएर हङ्कङले नेपालीलाई भिसा दिने निर्णय भएको हो । हामी जस्ता आत्मनिर्भर बन्न नसकेका देशका नागरिकले खुशीका रूपमा स्वीकार्नुपर्छ । हाम्रो देश हालका दिनमा वैदेशिक रोजगारीमा रहेका नागरिकहरूले परदेशमा परिश्रम गरेर कमाएको विप्रेषणकै भरमा चलिरहेको छ । हाल संसारका धेरै देशमा छरिएर रहेका नेपालीहरूको यकिन संख्या थाहा नभए तापनि यो संख्या पचास लाखभन्दा कम छैन भन्ने अनुमान छ ।
विदेश जाँदा सम्बन्धित निकायमा भिसालगायत कागजात तयार पारी त्यहाँ जाने प्रक्रिया पूरा गर्नुपरेका कारण देशबाहिर भएका नागरिकको यकिन तथ्यांक सरकारसँग हुनुपर्ने हो तर खास तथ्यांक उपलब्ध छैन, यसको मुख्य कारण सरकारको कमजोरी हो भने अर्कातिर अन्य देशको बाटोबाट पनि नेपालीहरू विदेशिने भएकाले त्यसको सही तथ्यांक उपलब्ध हुन नसकेको हो । अर्को कारण भनेको नेपालको दक्षिणी छिमेकी भारत एउटा विशाल देशका रूपमा छ र नेपाललाई तीनतिरबाट भारतले छेकेको छ । खुला सिमाना भएकाले नेपाल-भारत आउजाउमा रोक लगाइएको छैन र लगाउन सम्भव पनि छैन ।
नेपालीहरू रोजगारीका लागि भारतका विभिन्न ठाउँमा छरिएर रहेका छन् । नेपालीहरू नभएको भारतको कुनै शहर छैन । तेस्रो मुलुक बाहिर भएका नेपालीहरूको तथ्यांक निकाल्न सम्भव छैन । नेपालको जनसंख्याको एक चौथाइ नागरिक देशबाहिर रहेको अनुमान छ । उनीहरूको श्रमबाट हुने आर्जन हालका दिनमा नेपालको सबैभन्दा ठूलो आयस्रोत बनेको छ । वैदेशिक रोजगारीको अवसरलाई हामीले एउटा गौरवका रूपमा लिनुपरेको छ । विदेश जानेले आ-आफ्नो योग्यता क्षमता र सम्पर्क आदिका आधारमा एउटै स्तरको काम पाएका छैनन्, फरक-फरक देशमा रहेर फरक प्रकृतिको काम गरिरहेका छन् । खाडी मुलुक, मलेशिया, कोरिया, जापान, युरोप र अमेरिका जानेहरूको काम एकै प्रकारको छैन । अध्ययन तथा बौद्धिक श्रम गर्ने पनि धेरै छन् ।
हामीले एउटा अवसर र आर्जनको मौकाका रूपमा लिने गरेको वैदेशिक रोजगारमा थपिन जाने अर्को गन्तव्य बन्न पुगेको छ हङ्कङ । हङ्कङ पहिले चीनको भूभाग थियो र पछि लामो समयसम्म बेलायतले लिजमा लिएको थियो । नेपालीहरू बेलायती सेनामा काम गर्ने भएका कारण बेलायतले त्यहाँ नेपाली सेनालाई राखेको थियो । गोर्खाली भनेर चिनिने नेपाली सेनाले हङ्कङमा बसेर काम गर्ने मौका पाएका हुँदा उनीहरूलाई नेपाल फर्किँदा हङ्कङको लाहुरे भन्ने गरिन्थ्यो । नेपाली समाजमा उनीहरूको उच्च सम्मान थियो । पछि लिज अवधि समाप्त भएपछि बेलायतले हङ्कङ चीनलाई हस्तान्तरण गर्यो । चीन साम्यवादी राज्यप्रणाली भएको मुलुक, बेलायत प्रजातान्त्रिक राज्यप्रणालीको जननी । उसले हङ्कङलाई एक शताब्दी जति आफ्नो माताहतमा राखेका कारण त्यहाँ पनि प्रजातान्त्रिक स्वतन्त्रता प्रदान गरिएको थियो ।
चीनलाई फिर्ता गरेपछि हङ्कङका नागरिकहरूलाई साम्यवादी चीनसँग रहन असजिलो भयो । त्यसकारण हङ्कङमा हाल चीनले सबै प्रजातान्त्रिक स्वतन्त्रताहरू प्रदान गरेको छ, केबल स्वामित्वमात्र आफूले लिएको छ । त्यसो भएकै कारण बेलायतमा रहेर काम गरेका नेपालका पूर्वसैनिकहरूले त्यहाँ आवासीय सुविधा पाउँदै आएका छन् । त्यहाँ बस्ने नेपालीको संख्या ठूलो छ । यस अर्थमा हङ्कङसँग नेपालीहरूको आत्मीयता निकै पुरानो हो । अब त्यहाँको सरकारले नेपालीहरूका लागि रोजगारीको भिसा खुलाउने भएको छ ।
पहिले पनि नेपालीहरूले यस्तो अवसर पाएका थिए तर पछि सन् २००५ देखि त्यो स्थगित थियो । लामो समयपछि पुनः यसलाई स्वीकृति प्रदान गरिएको छ । यसका साथै त्यहाँ नेपालीहरूका लागि अध्ययन र तालिमको अवसर प्रदान गरिएको छ । यो दुवै देशका लागि एउटा अवसर हो । नेपालीहरूले त रोजगारी, अध्ययन र तालिमको मौका पाउने छन् साथै हङ्कङले पनि नेपालीहरूबाट श्रम, अध्ययन र तालिममा जनेबाट केही आर्जन गर्न सक्नेछ । यस अर्थमा यसलाई हामीले एउटा अवसरका रूपमा लिनुपर्ने हुन्छ, यसबाट सकेसम्म बढी लाभ लिन सक्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच