काठमाडौं । स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ सप्ताहव्यापीरूपमा राष्ट्रिय कर सुरु भएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० सम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ५५ लाख २५ हजार नौ सय १९ रहेको छ । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी-पान) लिने करदाता १८ लाख ७६ हजार तीन सय पाँच र व्यक्तिगत स्थायी लेखा नम्बर (पी-पान) लिने करदाता ३६ लाख ४९ हजार छ सय १४ रहेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा सरकारले कुल नौ खर्ब ५७ अर्ब बराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्वमात्र चार खर्ब ७९ अर्ब थियो । जुन कुल वार्षिक राजस्व असुलीको ५०.१२ प्रतिशत हो । गत आव सरकारले विभागलाई छ खर्ब २६ अर्ब ६१ करोड राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् चार खर्ब ७९ अर्ब ७९ करोड बराबर राजस्व असुली भएको थियो ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ । कुल आन्तरिक राजस्वमा आयकर हिस्सा ४४.५२ प्रतिशत छ । मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान २४.५० र अन्तःशुल्कको योगदान २१.६७ प्रतिशत रहेको छ । ब्याजदरको योगदान ६.६७ प्रतिशत, घरबहाल करको योगदान ०.६४ प्रतिशत, स्वास्थ्य सेवा शुल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शुल्कको अंश ०.४२ प्रतिशत रहेको छ । गत आवमा ठूला करदाता कार्यालयले ३९ प्रतिशत, मध्यमस्तरीय करदाता कार्यालयले चार प्रतिशत, आन्तरिक राजस्व कार्यालयले ५३ प्रतिशत र करदाता सेवा कार्यालयले चार प्रतिशत कर असुली गरेका थिए ।
विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी कुल ८४ कार्यालय सञ्चालनमा रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच