हेटौंडामा सबै विधाका इञ्जिनियरको भेला

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एस्ट्रोनोभा फाउण्डेसन नेपालले हेटौंडामा पहिलोपटक ‘हेटौंडा इञ्जिनियर्स मिटअप २०८०’ आयोजना गरेको छ । स्टुडेन्ट डेको अवसर पारेर गरिएको भेलामा इञ्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक, मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इण्ड्रष्टियल, केमिकल, अटोमोबाइल क्षेत्रका साथै विज्ञान प्रविधिका अन्य क्षेत्र बिटेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साइन्स, आर्किटेक्ट, मेडिकल साइन्सलगायतको सहभागिता थियो ।

एस्ट्रोनोभा फाउण्डेसन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षतामा भएकोमा कार्यक्रममा संस्थाका महासचिव चिरञ्जीवी लामिछाने, कोषाध्यक्ष आयुष बस्नेत, बोर्ड सदस्य अनुज अधिकारी तथा इञ्जिनियर लिलानाथ घिमिरेले संस्थाको भिजन, मिसन र लक्ष्यका साथै आफूहरूले हाल गरिरहेका इनोभेटिभ प्रोजेक्टका बारेमा जानकारी दिएका थिए ।

फाउण्डेसनका संस्थापक अध्यक्ष बास्तोलाले विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन, उद्यमशीलता जस्ता कुरामा बालबालिकालाई विद्यालयस्तरदेखि नै अग्रसर गराउँदै उनीहरूमा दीर्घकालीन सोच, वैज्ञानिक सोच संस्कृति, नवीनतम विचारधाराको संस्कृति विकास गराई हेटांैडालाई विज्ञान, प्रविधि, नवप्रवर्तनशीलता, उद्यमशीलता तथा शैक्षिक र पर्यटनका हिसाबले देशकै नमुना शहरका रूपमा कसरी विकास गराउन सकिन्छ भन्ने प्रस्तुतीकरण गर्नुभएको थियो । हेटौंडालाई आइटी हबका रूपमा विकास गराउन कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा विचारविमर्श गर्दै फाउण्डेसनको पहिलो लक्ष्यअन्तर्गत प्रस्तावित क्रियटिभी एण्ड इन्नोभेसन वर्कसप ल्याबरोटरी-एएफएन थिंकरिङ ल्याबका बारेमा पनि छलफल भएको थियो ।

समयानुकूल दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयस्तरबाटै विद्यार्थीमा फरक सोच संस्कृतिको विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ स्थापित संस्थाले हेटौंडा उपमहानगरपालिकाभित्र अध्ययन गर्ने हजारौं विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्ने, सयौं विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्ने, विद्यालय तथा कलेजलाई सहयोग पुर्‍याउने र आगामी पुस्ताका लागि विज्ञान, सूचना-प्रविधि, नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको क्षेत्रमा विद्यालय/कलेजमा अध्ययनरतका लागि दरिलो आधार निर्माण गर्ने, एक विद्यार्थी-एक सीप तथा पढ्दै सीप सिक्दै-कमाउँदै कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

फाउण्डेसनले आफ्नो उद्देश्यअनुरूप वैज्ञानिक एवं प्रविधिमय वातावरणका लागि रोबटिक्स एण्ड अटोमेसन, आर्टिफिसियल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी, ड्रोन टेक्नोलोजी, रकेट एण्ड एभिएसन, वैदिक गणित, एष्ट्रोनोमी केन्द्रित कार्यशाला गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *