सरकारका काम कारबाहीको समीक्षा गर्न बैठक बोलाउने कांग्रेसको तयारी

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही ।

अनिल क्षेत्री
Read Time = 6 mins

काठमाडौं । सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसले सरकारको कार्यसम्पादनको समीक्षा गर्न बैठक बोलाउने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी बैठकले सरकारको काम कारबाहीको समीक्षा गर्ने गरी केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । यद्यपि, बैठक बस्ने मिति भने तय गरिएको छैन । सरकारको प्रभावकारिताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै महामन्त्री गगन थापाले भन्नुभयो, ‘केही दिन भित्रमा पार्टीका पदाधिकारी, नेताहरू, कार्यसम्पादन समितिका सदस्य र सरकारका मन्त्रीहरूका बीचमा सरकारका काममा केन्द्रित भएर बैठक गर्ने कुरा भएको छ । एउटा केन्द्रीय समिति र संसदीय दलको बैठक पनि सरकारकै विषयमा मात्रै केन्द्रित भएर छलफल गर्ने कुरा छ ।’

पदाधिकारी बैठकले पछिल्लो राजनीतिक परिवेश, अर्थतन्त्रका चुनौती र सरकारले गरिरहेका कामका विषयमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई बोलाएर छलफल गर्ने तयारी गरेको जानकारी दिँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘कांग्रेस पदाधिकारी बैठकले पछिल्लो राजनीतिक परिवेश, सरकारका काम कारबाही, अर्थतन्त्रमा देखिएका चुनौतीका विषयमा पार्टीमा छलफल गर्न खोजेको छ । यसका लागि छिट्टै बैठक बोलाउने समझदारी भएको छ । त्यस्तो बैठकमा सरकारका मन्त्री र केन्द्रीय सदस्यबीच छलफल हुन्छ । मन्त्री र सांसदबीच पनि छलफल हुन्छ । यस्ता छलफलमा सरकारको क्रियाशीलता, कमजोरी र अब गर्नुपर्ने कामका विषयमा संवाद हुन्छ ।’

बैठकको संयोजन गर्ने जिम्मा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएको विश्वकर्माले जानकारी दिनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भए पनि कांग्रेसका मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठेपछि कांग्रेसले मन्त्रीलाई नै बोलाएर छलफल गर्न लागेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा एक हजार घर बनाउन टोली परिचालन
कांग्रेसले जाजरकोट भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय पनि गरेको छ । प्रभावित क्षेत्रमा भिडभाड नहुने गरी दक्ष जनशक्ति सहितको टोली पठाउने निर्णय भएको महामन्त्री थापाको भनाइ छ । सरकारले अनुदान रकम दिए पनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव हुन सक्ने भएकाले यस विषयमा छलफल गरेको जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाए पनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन । स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी घर बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौँ ।’ भूकम्प व्यवस्थापन सहजीकरण समितिको आज (मंगलबार) बैठक बसेर थप निर्णय गरिने महामन्त्री थापाले जानकारी दिनुभयो । पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गर्नुभएको थियो । महामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामको महामन्त्री थापाले जानकारी गराउनुभएको थियो ।

टहरा बनाउन इञ्जिनियर र डकर्मीसहित २५ वटा स्वयंंसेवक टोली जाजरकोट र पश्चिम रुकुम पठाउने कांग्रेसले निर्णय गरेको छ । प्रत्येक टोलीमा एकजना इञ्जिनियर, एकजना डकर्मी र एकजना व्यवस्थापकसहित १० जना रहनेछन् । कांग्रेसले चिसोका कारणले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो । साथै कांग्रेसले टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई आग्रह गरेको छ । कांग्रेसले भूकम्प पीडितलाई सहयोगका लागि सरकारी कोषमा ५० लाख रुपैयाँ पनि सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *