यो हप्ता पनि राजनीतिको गर्मागर्मीमै बित्यो । राजनीति पनि जनता अलमल्याउने, नागरिकलाई सास्ती दिने अनि भय सिर्जना गर्ने कामकै निम्ति खोपडी खर्च गरिएको देखियो । राजनीति उद्देश्यमूलक ढङ्गले अगाडि नबढेपछि भए गरेका कामहरू पनि प्रहसनजस्ता लाग्ने रहेछन् । त्यस हिसाबले यो हप्ता प्रहसनहरू हेरेरै, सुनेरै बित्यो । सत्ताधारी, सत्ताकाङ्क्षी अनि व्यवस्था विरोधीहरूका भाँतीभाँतीका कुतर्क अतिशय चेष्टा अनि अतिवादी अभियानले गर्दा निर्णायक भनिएका गतिविधिहरू प्रहसनजस्ता लाग्थे । संवाद अनि वादविवादकै दृश्यहरू सडकमा, सदनमा अनि सञ्चारमाध्यममा प्रदर्शन भइरहे । सरकार, प्रतिपक्ष अनि मार्जिनल मानिएका पक्षहरूको संयुक्त जस्तो देखिने प्रहसनका झाँकी उदेक लाग्दै देखिन्थे ।
एकथरि सत्तामा रहेर, अर्कोथरि प्रतिपक्षमा रहेर अनि यी सबैभन्दा पृथक कतै पूर्वसत्तावादीजस्ता कतै गणतन्त्र विरोधीजस्ता लाग्ने सबै पक्षले आन्दोलनलाई वा प्रहसनलाई मलजल गरेको देखिन्थ्यो । एकथरिले आजै अहिल्यै गणतन्त्र फालिन्छझैँ गरी दम्भ देखाइरेहको सुनिन्थ्यो । सत्ताधारी अनि सत्ताकाङ्क्षीमा पनि गणतन्त्र गइहाल्ने त होइन भन्ने भय सिर्जना भएजस्तो देखिन्थ्यो । परिवर्तनकारी आम नागरिक भने दुबैतर्फबाट केही हुनेवाला छैन भन्नेमा ढुक्क नै थिए । सरकारदेखि दिक्क भएका तर गणतन्त्रको विकल्प खोजिनहाल्नेको सङ्ख्या अझै पनि देशमा बढी नै छ । उनीहरूपनि सन्तुष्ट भएर सत्ता जोगाइदिने अभियानमा त छैनन् तर यही व्यवस्थामा आजको भन्दा राम्रो काम हुन आवश्यक छ भन्ने पक्षमा आफूलाई सहनशील बनाइराखेका छन् ।
लोकतान्त्रिक गणतन्त्र सबै देशवासीको प्रिय कुरा हुनुपर्नेमा नागरिक चिढाएर साँघुरो दायरामा सशङ्कित मानसिकतामा शासन गर्ने सरकारको सानो चित्त देख्दा निश्चय पनि गणतन्त्रका परिसूचकहरू त्यति उकालो गतिमा छैनन् नै भन्ने बुझ्न सकिन्छ ।
अहिले जसरी जनभावनाको कदर हुन सकेको छैन, जनताका खास समस्या र देशको दीर्घकालीन अभ्युत्थानमा अभिरुचि राखिएको छैन नितान्त सत्ता बनाउने र बिगार्ने, सत्तामा जाने र सत्ताबाट फाल्ने प्रकृतिको जुन चलखेल चलिरहेको छ यस्तो शासकीय स्वरूपको अन्त्य हुनुपर्छ भन्ने विषयमा मूलधारका जनता पनि सहमत भइसकेको अवस्था छ । नेता फेरेर हुन्छ कि नेतृत्व फेरेर हुन्छ यही व्यवस्थाबाटै देश र जनताको हित हुने बाटो खोज्नुपर्छ भन्ने आम नागरिक नै खासमा अहिले पनि सच्चा लोकतन्त्रवादी समूह हो ।
गणतन्त्र ल्याएर देश र जनतालाई ठूलो गुन लगायौँ भन्नेहरूको अहङ्कार जति अग्लो छ त्यति नै गहिरो उनीहरूको गणतन्त्रप्रतिको प्रतिबद्धता छैन । सिद्धान्त, आचरण र व्यवहारमा एकरूपता छैन । अर्कोतिर गणतन्त्रको श्रेय लिन तँछाडमछाड गरिरहेका पार्टीहरूले पनि आफूलाई निखरा प्रस्तुत गर्न सकिरहेका छैनन् । छिनभरमै कुनै पनि व्यवस्था पल्टिँदैन । प्रजातन्त्र ल्याउँदा होस् वा गणतन्त्र ल्याउँदा होस् मूलधारका जनताले मूल्य चुकाउनु परेको हो । अहिले त्यसरी व्यवस्था फाल्नको निम्ति मूलधारका जनता तातेको अवस्था निश्चय पनि होइन । तापनि गणतन्त्र फाल्छौँ भन्ने र जोगाउनुपर्ने बेला अहिल्यै हो भनेर ठूला क्रान्तिकारी कुरा गर्नेहरूले पनि बुझ्नुपर्ने कुरा हो ।
यति कुरा निश्चय हो देशमा गणतन्त्रका परिसूचकहरू क्रमशः ओरालो गतिमा छन् । हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउने नेपालीहरूको स्वभावको प्रतिबिम्ब गणतन्त्रमा पनि देखापरेको हो कि भनेजस्तो छ । देशमा गणतन्त्र किन चाहिएको हो ? गणतन्त्रका आधारभूत मूल्य र मान्यताहरू के के हुन् ? गणतन्त्रको संस्थागत स्थिरताका सबलताका निम्ति हामीबाट के कस्ता कुराहरू गरिनुपर्ने हो ? गणतन्त्रको जग के गर्दा अझै मजबुत बन्न सक्छ । गणतन्त्रका सबल खम्बाहरू के के हुन् ? कहाँ हामी चुकिरहेका छौँ र किन चुकिरहेका छौँ ? भन्ने विषयमा हामी स्पष्ट हुन सकेको अवस्था छैन ।
परिवर्तनको समयमा कति कुरा आवश्यक भएर फेरिन्छन् कति कुराहरू लहडमै फेरिन्छन् । कतै हामी त्यस्तै लहडमा गरिएका निर्णयको शिकार त बनिरहेका छैनौँ भनेर चिन्तन गर्नुको साटो असन्तुष्टहरूलाई गाली गर्ने, उनीहरूलाई सत्ताविरोधी ठान्ने, उनीहरूलाई प्रतिगामी नै मान्ने र सत्ताको सक्दो दुरुपयोग गरेर उनीहरूमाथि डण्डा चलाउन रहर गर्ने नियति नै हामीले आर्जन गरेको गणतन्त्रको प्राप्ति हो भने मूल धारका नागरिक पनि सधैँभरि कुनै सत्ताधारीका भइरहन बाध्य हुँदैनन् ।
अस्तिको प्रदर्शनमा सरकारले काठमाडौँ खाल्डोलाई दुई भागमा बाँडेर उत्तरपूर्वी मोहोडा गणतन्त्रवादीहरूलाई अनि दक्षिणपश्चिमी मोहोडा गणतन्त्र विरोधीहरूलाई हो जस्तो गरी बनाइदिएको रोचक घटनाले पनि त्यस्तै सूचना गर्दछ । लोकतान्त्रिक गणतन्त्र सबै देशवासीको प्रिय कुरा हुनुपर्नेमा नागरिक चिढाएर साँघुरो दायरामा सशङ्कित मानसिकतामा शासन गर्ने सरकारको सानो चित्त देख्दा निश्चय पनि गणतन्त्रका परिसूचकहरू त्यति उकालो गतिमा छैनन् नै भन्ने बुझ्न सकिन्छ । सानो मुलुकका आफ्ना असीमित बाध्यताहरूमा चलखेल गर्न रुचाउने मित्रशक्ति र शत्रुशक्ति दुवैथरिको रङ्गमञ्च बन्दै गइरहेको देशको अवस्था हेर्दा लाग्छ राजनीति हाम्रो निम्ति दिशा होइन दशा हो ।
आजभन्दा पचास वर्ष पहिलेसम्म हाम्रोजस्तै हैसियत भएका संसारका धेरै देशहरू उन्नतिको शिखर चढ्दै छन् तर हामीहरूअझै पनि कुन बाटो हिँड्दा राम्रो भन्ने बहसमै सीमित हुन बाध्य छौँ । भन्न त आजसम्मका सबै सत्ता र सबै शासकहरूले हामी हिँडेको वा हामीले हिँडाएको बाटो सही हो । यसै मार्गबाट गन्तव्यमा पुगिन्छ भनेकै छन् र भनिरहेकै छन् तर त्यसको रत्तिभर प्रत्याभूति जनताले गर्न पाएको अवस्था छैन । केही हुँदै भएन भन्नु पनि अतिवादी कुरा होला केही बाटाघाटा बने, सूचना र सञ्चारको केही विस्तार भयो । जनचेतनाको स्तर केही बढ्यो यी केही कुराहरू समयसँगै हुनै पर्ने केही आधारभूत परिवर्तनका कुराहरू भए । देशको नीति र कार्यक्रममा समावेश गर्न थाहा नपाइएका तर समयले दबाब दिँदा फेरिन पुगेका केही कुरामात्र बने ।
धमिलो पानीमा माछा मार्ने तत्वलाई हामीले प्रश्रय गरिरहेका छौँ । अहिले कतै धर्म गुरुहरूले, कतै ऋणपीडितहरूले, कतै पूर्वसत्ताका आसेपासेहरूले, कतै नयाँ शक्तिका उदयकर्ताहरूले जसरी आफ्ना विचार राख्ने काम गरिरहेका छन् ती सबै अस्वीकार्यमात्रै नहुन सक्छन् ।
हामीले थाहा पाएका धेरै कुराहरू भएनन् देशमा भएका धेरै विकासका आधारहरू भत्किए, उद्योग, कलकारखान बन्द भए, संरचनाहरू हटेहटाइए, देशमा बेरोजगारीको विकराल अवस्था सिर्जना हुँदै गयो । जनताहरू गरिबी र बेरोजगारीको सिकञ्जामा छन् । अनि हामीले देशको उन्नति प्रगतिको सम्भावना खोज्ने क्रममा युवाजनशक्तिलाई निर्यात गर्ने घातक नीति तय ग¥यौँ र भन्न आँट गर्यौँ कि अबदेखि देशबाट हाम्रा होनहार कर्णधारलाई खाडीको बाटो खोल्न सफल भयौँ । फलानो देशले हाम्रा यति युवा र युवतीहरू लैजान सहमत भयो भनेर यसरी मानवशक्तिलाई सस्तो मूल्यमा बेचेर आएको थोरै रेमिट्यान्सको पैसामा सरकार चलाउने कुरामा हामी गौरव गर्ने भयौँ ।
म अर्थशास्त्रको विद्यार्थी होइन तर विज्ञहरूको भनाइनुसार अहिले देश तिनै सस्तो श्रममा बेचिएका भाइबहिनी भतिजाभतिजीहरूको रेमिट्यान्समा चलिरहेको छ । अरबको तातो बालुवामा ऊँट हेर्न पठाउने नीति लिनुको साटो देशमा भएका उद्योगहरूलाई संस्थागत गर्ने, व्यवस्थित पार्ने, नयाँ उद्योगहरू खोल्ने, देशको अपार जलसम्पदालाई सदुपयोग गर्ने, भौगोलिक एवम् प्राकृतिक सौन्दर्यको वरदान पाएको हाम्रो मुलुकको पर्यटकीय विकास गर्ने,विश्वलाई आफ्नो मुलुकतर्फ आकर्षित गर्ने, सांस्कृतिक वैभवले युक्त देशका सांस्कृति पम्पदाहरूको महŒवलाई विश्वका माझ पस्किने, शान्तिदूत गौतमबुद्धको जन्मभूमिको महत्वलाई प्रभावकारी ढङ्गले विस्तारित गरेर बुझाउने, पौरस्त्य वाङ्मयको खानीको रूपमा रहेको यस पुण्यभूमिको ज्ञानपरम्परालाई विस्तार गर्ने, सर्वोच्च शिखरको महिमा र र गरिमा बचाउँदै त्यतातर्फ विश्वको ध्यान आकृष्ट गर्ने, कृषिप्रधान देशको कृषिलाई अद्यावधिक गर्दै नयाँ प्रविधिसँग देशको कृषि व्यवशायलाई जोड्ने यी केही हामी सर्वसाधारणले पनि जानेका कुराहरू जसले देशलाई उन्नतिको मार्गमा अग्रसर गराउँथे त्यतातर्फ लोकतन्त्र आएको यतिका वर्षसम्म पनि कुनै प्रभावकारी कार्ययोजना नहुनु, भएका उद्योग कलकारखाना बन्द हुनु, विदशी वस्तुको एकछत्र आयात मात्रैमा निर्भर रहने पराधीन हुने नीति लिनु, कृषिप्रधान देशले विदेशबाट अनाज ल्याएर जनता पाल्ने व्यवस्था गर्नु, धार्मिक र सांस्कृतिक आस्थाले जोडिएको मुलुकलाई यिनै विषयमाथि हात हालेर छिन्नभिन्न पार्नेमात्र होइन यिनै विषयलाई विकासका बाधक ठान्नु र निर्णायक ठाउँमा बसेका व्यक्तिबाट यसैका विपक्षमा अभिव्यक्ति आउनु, भाष, भेष, धर्म, संस्कृति र परम्परागत आस्थालाई जातीय द्रोह सिर्जना गरेरजनतालाई विभाजित गर्ने र राष्ट्रिय संस्कृतिको एकतालाई टुक्र्याउनु, नेपाली काङ्ग्रेसजस्तो ऐतिहासिक, विशाल पार्टी देशको यो हविगत हुँदा आफ्नो कोठरी र गुट खडा गरेर एकापसकै द्वन्द्वमा अल्झिनु, मुलुकका जल्दाबल्दा विषयमा आफ्नो गुणात्मक उपस्थिति जनाउन नसक्नु, कहिले कसको कहिलेकसको साथ लागेर सत्ताको वरपर घुम्ने खेलमा लाग्नु, खासगरी देशका कुनाकुनामा पुगेको यस पार्टीका नेतामा त्यो प्रकारको जनता समेट्ने र देशलाई समृद्धितिर लैजाने ठोस नीति नै नहुनु, असल नेतृत्वको खडेरी पर्नुजस्ता केही दुर्भाग्यले गर्दा देशको वर्तमान परिस्थिति सन्तोषजनक हुन सकेको छैन ।
देशका अर्थमन्त्रीले बाहिर भनेजस्तो देशको अर्थतन्त्र बिग्रिएको छैन भने भनेर सिंहदरबारबाट विज्ञप्ति निकालेजस्तो देश कहाँ छ र महाशय, न त प्रमले भनेजस्तै हामी समृद्धिको र सुशासनको मार्गमा छौँ । बरू धमिलो पानीमा माछा मार्ने तत्वलाई हामीले प्रश्रय गरिरहेका छौँ । अहिले कतै धर्म गुरुहरूले, कतै ऋणपीडितले, कतै पूर्वसत्ताका आसेपासेहरूले, कतै नयाँ शक्तिका उदयकर्ताहरूले जसरी आफ्ना विचार राख्ने काम गरिरहेका छन् ती सबै अस्वीकार्यमात्रै नहुन सक्छन् । सबैलाई गाली गरेर, सबैलाई गलत प्रमाणित गरेर वा सबैलाई प्रतिगामी ठानेरमात्रै समस्याको निकास ननिस्कन पनि सक्छ । समयमै यस्ता विषयमा सचेत हुन नसकेको अवस्थामा हाम्रो सत्तामा बसेर देखाउने राष्ट्रभक्ति र सडकमा देखाउने क्रन्तिकारीता सबै पनि समाप्त हुन सक्छ । किन कि केही वर्षको अन्तरालमा जनताको धैर्यको बाँध टुट्ने गरेको हामीले देखेका छौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच