नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौंवरिपरिका जिल्लाको विकासको समय आएको बताउनुभएको छ । शनिबार पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकी उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ । काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पनि पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो । त्यहाँका अगुवाहरूले शिक्षामा लगानी गरे । पढ्नेलेख्ने कामलाई प्राथमिकता दिए । तर, काठमाडौं वरिपरिकाको आम्दानीको मूल स्रोत जग्गाजमिन थियो । काठमाडौंमा राणाहरूको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरूले चाकरीबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरू माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।’
काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहेको र शिक्षाको विकासले विशेषतः ०४६ पछि मात्र गति लिएको उहाँको भनाइ थियो । काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेको पनि उहाँले बताउनुभयो ।
मन्त्री महतले भन्नुभयो, ‘अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं-छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौँ । एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ तर तयारीको काम देखिँदैन । सुरुङ खन्न थालेको खोई त भन्ने तपाईंहरूलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, त्यसका लागि भौगर्भिक अध्ययन चाहिन्छ । त्यसका लागि हामीले चीनसँग अनुरोध गरेका छौँ ।’
उहाँले अध्ययनपछि सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्ने भन्दै चार महिनामा अध्ययन सम्पन्न हुने दाबी गर्नुभयो । मन्त्री महतले भन्नुभयो, ‘वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अघि बढाउँछौँ । सुरुङ मार्ग निर्माणपछि काठमाडौंमा घर बनाइराख्नुपर्दैन । एक घण्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइँसराइ रोक्छ ।’ साथै उहाँले सञ्चालनमा आएको स्वास्थ्यचौकीमा सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि उपलब्ध भएमा साना समस्याका लागि उपचार गर्न बाहिर जानु नपर्ने पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच