हुम्लामा २ महिनादेखि खाद्यान्न अभाव, शहरमै थन्किए दुर्गममा ढुवानी हुने चामल

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 9 mins

हुम्ला । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनीहरु र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चरम लापारबाहीका कारण हुम्लामा खाद्यान्न अभाव भएको हो ।

अहिले हुम्लाका नागरिकले पाउनु पर्ने मासिक कोटाको चामल समेत पाउन सकेका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखामा हाल १४८ क्विन्टल मात्रै चामल मौज्दात रहेको छ । तर, २ हजार ५०० भन्दाबढी उपभोक्ताले खाद्यान्न पाउँदै आएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत भएको भए पनि हालसम्म ढुवानी हुन नसक्दा सिमकोट शाखाको गोदाम रित्तिएको छ । स्थलमार्गबाट ४ हजार क्विन्टल र हवाईमार्गबाट १० हजार क्विन्टल खाद्यान्न ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखाका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो ।

स्थलमार्गबाट ३ हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन् । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले १४८ क्विन्टल मात्रै उठाएको छ । साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौबाट ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सहरुले ढुवानी गर्न सकेका छैनन् । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदाममा रहेको खाद्यान्न बिक्री गर्न सक्ने अवस्थामा नरहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

खाद्यान्न ढुवानी नहुँदा नागरिकलाई वितरण गर्न नसक्दा आफुलाई रातभर निद्रा समेत नलाग्ने गरेको उहाँले बताउनुभयो । त्यस क्षेत्रमा सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । हाल मौज्दात रहेको न्यून खाद्यान्नबाट भैपरी आउने कार्य जन्म, मृत्यु, कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ । अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको छ । तर, उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अघि नबढाएका कारण कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो ।

सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाईमार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ । सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगन्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल सिम्रिकले ढुवानी गने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी १४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी १३७ रुपैयाँका दरले सम्झौता भएको छ ।

शहरमै थन्किए, दुर्गममा ढुवानी हुने चामल

हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नु पर्ने चामल नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् । दुर्गम जिल्लाको लागि सिम्रिक एयरले ढुवानी गर्नु पर्ने खाद्यान्न शहर नेपालगञ्ज र सुर्खेतमै थन्किएका हुन् । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी रु ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९ रुपैयाँ, धनगढीदेखि सिमकोटसम्म रु ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म रु ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।

दुई महिनादेखि चामल नपाएको गुनासो

समयमै खाद्यान्न ढुवानी नहुँदा विगत दुई महिनालदेखि खाद्यान्न अभाव भएको त्यहाँका स्थानीयले गुनासो गरेका छन् । दुई महिनायता नियमित कोटाबाट पाउनु पर्ने चामल नपाएको सिमकोट गाउँपालिका–७ डाडाफयाका विरबहादुर सिंहले गुनासो पोख्नुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र ढुवानी जिम्मा पाएका सप्लायर्सले ढुवानीमा वेवास्ता गर्दा संकट निम्तिनुका साथै खाद्यान्न नपाएको स्थानीयवासी सिंहले बताउनुभयो । स्थानीय सिंहले भन्नुभयो, ‘नागरीकले चामल पाउन कहिले नागरीकता समेत पेश गर्नु पर्छ त कहिले महिनौ दिनसम्म यस्तै समस्या भोग्नु पर्छ । जिल्लाका राजनीतिक दलहरुले चामलमा राजनीति गर्छन् ।’

यस्तै खाद्यान्न अभावले सदरमुकामबासीलाई झन थप समस्या निम्तिएको छ । सिमकोट शाखाले गोदाम रित्तिएपछि खाद्यान्न वितरण गर्न नसक्दा सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरीकलाई थप समस्या निम्तिएको हो । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका स्थानीयबासीको खेतीपाती कम हुने र सधै खाद्यान्नको भर पर्नुपर्ने भएका कारण उनीहरुलाई समस्या हुने देखिएको छ । दुई महिना यता खाद्यान्न वितरण नहुँदा समस्यामा परेको यहाँका स्थानीयको भनाई छ ।

यस्तै मासिक १५ केजी प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत चामल पाउन सकेका छैनन् । कर्मचारी कोटाको चामल नपाउँदा उनीहरुले बजारमा महंगो मूल्य तिरेर खदिर गर्नु पर्ने बाध्यता जस्तै बनेको छ । सिमकोट शाखाको खाद्य गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन् । ढुवानी कहिले हुने ? भन्ने विषयमा स्वंयम सरकारी कर्मचारी पनि अन्योलमै छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?