वर्तमान युगमा राजनीतिलाई नै सबै कुराको नियन्त्रक मान्ने गरिन्छ । सबैभन्दा ठूलो नीति राजनीति सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीतिक क्षेत्र राजनीतिकर्मीहरू अन्य क्षेत्रका भन्दा विशिष्ट भन्ने छाप छोडिएको छ । जनमानसले पनि त्यही देखेको, भोगेको छ । राजनीतिमा सक्रिय हुने बित्तिकै कसैको हैसियतले आकाश छुन थालेको देखिन्छ । हिजोसम्म घर चलाउने क्षमता नभएको व्यक्ति राज्य चलाउने स्थानमा राजनीतिले नै पुग्दछ । त्यसैले राजनीतितर्फ आकर्षित हुनु न अनौठो हो न अस्वभाविक नै । पहिले करिब करिब यस्तै आकर्षण भारतीय चलचित्र जगतको थियो । अभिनेता अभिनेतृ बन्ने मौका पाए कुस्त नाम, दाम कमाउने धोको लिएर फिल्म नगरी तात्कालिक बम्बै हाल मुम्बई जानेहरू प्रसस्त थिए ।
सफल हुने थोरै भए, असफल हुने धेरै । त्यो सफलता पनि सोचेजस्तो योग्यता क्षमता नभई केवल मौकाको भरमा प्राप्त भएको हुँदैन थियो । जोसँग योग्यता क्षमता छ, जो संघर्ष गर्न सक्छ त्यो नै सफल हुन्छ । तत्काल योग्यता नभए पनि त्यो प्राप्त गर्न मिहिनेत गरेर आफूलाई सावित गरेका उदाहरण हरेक क्षेत्रमा प्रसस्त पाइन्छन् । तर, राजनीतिक क्षेत्र भने अपवादजस्तो देखिन्छ । अन्य क्षेत्रमा हुनेले गर्नुपर्ने कामहरू स्पष्ट हुन्छ, काम गरेबापत उसले गर्ने कमाइ अपारदर्शी हुँदैन । हुनसक्छ केही कमाइहरू कानुन, शासन आदिको दृष्टिबाट लुकेको, लुकाइएको वा लुकाएजस्तो गरिएको होस् तर समाजसँग त्यस्ता कमाइहरू लुकेका हुँदैनन् ।
राजनीतिमा लाग्नेहरूको बढेको आर्थिक हैसियत कसरी प्राप्त भएको हो भन्ने कुरा अपारदर्शी नै हुन्छ । कानुन, शासन आदिको दृष्टिबाट मात्र होइन समाजको दृष्टिबाट पनि । कुनै पारिश्रमिक आउने पदमा पुगेको भए त्यसबेलाको कमाइ केही पारदर्शी होला तर यस्ता सेवासुविधा नलिने घोषणा गरेकाहरूको आम्दानी ?
यसभन्दा अलग राजनीतिमा लाग्नेले गर्ने काम के हो ? राजनीतिमा के-के काम गर्नुपर्दछ ? त्यो स्पष्ट छैन । सर्वसाधारणको बुझाइमा राजनीतिमा लाग्नेले गर्ने काम भनेको चर्को कुरा गर्नु, कुरा नमिल्नेलाई गाली गर्नु, भाषण गर्नु आदि राजनीति हो भन्नेछ । दलको अनुपस्थितिमा राजनीति हुन सक्दैन त्यसैले कुनै न कुनै दलमा आबद्ध हुनै पर्दछ । अगाडि बढ्ने हो भने त्यो दलको प्रभावशाली गुटमा सामेल हुनुपर्दछ । अनि आफ्ना नेताले भनेको, लाएअह्राएको काम वफादारीसँग गर्नुपर्दछ । त्यो काम चाहे तोडफोड नै किन नहोस्, अन्य प्रचलित कानुनविपरीत नै किन नहोस् राजनीतिक नारा साथमा छ र प्रभावशाली नेताको निर्देशन छ भने त्यो उचित हो ।
यो र यस्तै किसिमको सोचले समाज ग्रस्त छ । राजनीतिमा लागेकाहरू अरूलाई पनि भन्ने गर्दछन् तपाईं पनि कुनै न कुनै दलसँग आबद्ध पक्कै हुनुहोला वा कुनै दलको मतदाता हुनुहोला । अर्थात् दलीय राजनीतिबाट प्रभावितले कसैलाई स्वतन्त्र देख्दैन । कसैले पनि स्वतन्त्र चिन्तन गरेर आफ्नो मर्जीको मत दिँदैन । यो भाष्य सही हो वा गलत त्यो एक कुरा हो । तर, यसले नेपालको संविधानको आरम्भका केही शब्द ‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता’ को भने अपमान गर्ने गर्दछ ।
राजनीतिमा लाग्नेहरूको बढेको आर्थिक हैसियत कसरी प्राप्त भएको हो भन्ने कुरा अपारदर्शी नै हुन्छ । कानुन, शासन आदिको दृष्टिबाट मात्र होइन समाजको दृष्टिबाट पनि । कुनै पारिश्रमिक आउने पदमा पुगेको भए त्यसबेलाको कमाइ केही पारदर्शी होला । तर, यस्ता सेवासुविधा नलिने घोषणा गरेकाहरूको आम्दानी ? कहिल्यै कुनै त्यस्तो पारिश्रमिक पाउने पदमा नपुगेकाहरूको आम्दानी ? यस्ता प्रश्न अनुत्तरित रहने गर्दछन् । कसै-कसैले आफ्नो अन्य व्यवसाय भएको कुरा गरेको पनि सुनिन्छ । त्यस अवस्थामा अर्को प्रश्न पैदा हुन्छ । उद्योगी, व्यापारी, किसान, नोकरीपेशा आदिमा लागेका अरूहरूले आफ्नो पेशा, व्यवसायमा नै अधिकांश समय खर्च गर्दछन् ।
अन्य काममा उनीहरूले समय कठिनताले निकाल्दछन् । यस्तोमा राजनीतिकर्मीहरूको व्यवसायले कसरी यत्रो समय दिनसक्छ ? उनीहरूको ज्यादा जसो समय राजनीतिक क्रियाकलापमा लागेको हुन्छ । व्यवसायमा उनीहरूले समय दिएको देखिँदैन तैपनि उनीहरूको आर्थिक हैसियत भने छिमेकीले डाह गर्न लाएकको रहने गर्दछ । त्यसमाथी निर्वाचनका बेलामा गरिएको, गर्ने गरेको खर्च देख्दा छक्क पर्नुपर्ने हुन्छ । अर्को निर्वाचनमा खर्च गर्न त्यो कोष स्वतः कसरी भरिन्छ ?
यस्ता कुराहरूले गर्ने प्रष्ट संकेत के हो भने राजनीति क्षेत्र, राजनीतिकर्मी आदिले गर्ने गरेको आम्दानी उत्पादनको कारणले भएको होइन । राजनीति क्षेत्र समाजका अन्य आम्दानी गर्ने क्षेत्रकाहरूले पाल्ने गरेका हुन्छन । राजनीति सबैको नियन्त्रक हुन सक्दैन । व्यक्तिको, समाजको, मुलुकको, आर्थिक सम्पन्नता वा विपन्नताले राजनीतिलाई नियन्त्रण गर्दछ । राजनीति क्षेत्रले व्यक्तिको, समाजको, मुलुकको अर्थतन्त्र बलियो बनाउन, सुधार गर्न काम गर्नुपर्दछ । सरकारको आम्दानीको जनताको आम्दानीसँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।
सरकारले लिने कर, शुल्क आदिले सरकारी ढिकुटी बन्छ । यो ढिकुटीमा विदेशी सहायता, विदेशी ऋण, आन्तिरक ऋण आदिको योगदान अन्य स्रोतको योगदानलाई ढाक्ने गरेर हुनु अर्थिक संकट निम्तिन लागेको पूर्वसंकेत हो । यो कुरा पूर्वीय दर्शनले भनेको छ, मानेको छ । चाहे त्यो दानवगुरु शुक्राचार्यको मत होस् वा देवगुरु बृहस्पतिको खासै फरक छैन । पृथ्वीनारायण शाहले पनि स्पष्ट रूपमा भनेका छन् ‘प्रजा मोटा भया दरबार बलियो रहन्छ’ । यहाँ मोटाको अर्थ शारीरिक मोटाइमात्र होइन प्रजा अर्थात् जनताको आर्थिक हैसियत पनि हो र दरबार भनेको सरकारको प्रतीक हो ।
राजनीतिक संकट नेतृत्वको कुशलताले सहजै टार्न सकिन्छ । त्यसो नभएमा राष्ट्रले केही गम्भीर मूल्य चुकाएर भए पनि टार्न सक्छ । संकट सकिएपछि छिट्टै यसले स्वभाविक गति लिन्छ । समाजिक, धार्मिकलगायतका संकट केही कठिनताले भए पनि समाधान हुन्छन् । त्यो संकटले पारेको घाउमा खाटा बस्न धेरै समय लाग्दैन । यस्ता संकटपछिको पुनस्र्थापना कति छिटो हुन्छ भन्ने कुरा त्यस क्षेत्रका नेतृत्वको कुशलतामा निर्भर गर्दछ । प्राकृतिक संकटहरूको सामना गर्न सम्पूर्ण मानव जगत जुट्ने गर्दछ । देश, भाषा, संस्कार आदिको भिन्नतालाई थाती राखेर विश्व मानव समुदाय नै प्राकृतिक संकटसँग सामना गर्न जुट्ने गर्दछ ।
रोजगारदाता मुलुक, दाता मुलुकहरू आदिमा आएको सामान्य आर्थिकमन्दी पनि नेपाल जस्ता मुलुकहरूमा आर्थिक संकट पैदा गर्न प्रयाप्त हुन्छन् । दाता मुलुकको सानो आर्थिकमन्दी पनि त्यसमा आधारित अर्थतन्त्र भएका मुलुकहरूको अर्थतन्त्र चौपट पार्न सक्षम हुन्छन् ।
अपवादमा केही राजनीतिक समुहहरू, सरकारहरू योगदानको जस लिन होडबाजी गर्न सक्छन् । यस्ता होडबाजीहरू कहिलेकाहीँ पीडितहरूको निमित्त थप कष्ट बढाउने हुन सक्छन् । कहिलेकाहीँ विश्वसामु राष्ट्र लज्जित हुनुपर्ने अवस्था नआउने होइन । ७२ सालको भुइँचालोले पैदा गरेको संकटपछि मुलुक उठेकै हो । यी सबै संकटभन्दा आर्थिक संकट ठूलो हुन्छ । यो संकट सामान्यतया अन्यजस्तै सहजै समाधान हुँदैन । आर्थिक संकट राष्ट्रव्यापी हुन्छ कुनै भौगोलिक क्षेत्रमा मात्र सीमित हुँदैन । केही आर्थिक संकट विश्वव्यापी हुन्छन् धेरैजसो राष्ट्रव्यापी हुन्छ । छिमेकी मुलुकको, विश्वका अन्य कुनै मुलुकको आर्थिक संकटले केही नकारात्मक असर भने पर्दछ तर त्यसले संकट नै भन्न सकिने नकारात्मक अवस्था ज्यादै कम अवसरमा मात्र देखिन्छ ।
घरेलु आर्थिक उपार्जन बलियो भएका मुलकमा अन्य मुलुकहरूका आर्थिक संकटले पार्ने प्रभाव अत्यन्त न्यून हुन्छ । तर अर्थतन्त्रमा अन्य मुलुकहरूको हिस्सेदारी धेरै भएका नेपालजस्ता मुलुकमा भने अन्य मुलुकको आर्थिक अवस्थाले धेरै फरक पार्दछ । वैदेशिक रोजगारी, वैदेशिक सहायता वा ऋण, पर्यटन आदिमा आधारित अर्थतन्त्रमा आत्मनिर्भरता कम हुन्छ । रोजगारदाता मुलुक, दाता मुलुकहरू आदिमा आएको सामान्य आर्थिकमन्दी पनि नेपाल जस्ता मुलुकहरूमा आर्थिक संकट पैदा गर्न प्रयाप्त हुन्छन । दाता मुलुकको सानो आर्थिकमन्दी पनि त्यसमा आधारित अर्थतन्त्र भएका मुलुकहरूको अर्थतन्त्र चौपट पार्न सक्षम हुन्छन् ।
आर्थिक संकट अन्य संकटहरूभन्दा हल गर्न कठिन हुन्छन् । आर्थिक संकट लामो आर्थिक विशृंखलताले निम्त्याउने गर्दछ । यस्तो संकटमा राजनीतिक क्षेत्रले, सामजिक क्षेत्र, आर्थिक क्षेत्रमात्र नभएर जनताको, विश्व समुदायको विश्वास गुमाउन पुग्छ । यस्ता संकट समाधानको निमित्त पहिलेका धेरै आधारभूत आर्थिक सोचहरूमा परिवर्तन गर्न आवश्यक छ । आन्तरिक आर्थिक एकाइहरूलाई राष्ट्रिय उत्पादन बढाउन प्रेरित गर्ने आर्थिक नीतिको आवश्यकता पर्दछ । आर्थिक एकाइको सानो रूप एक परिवार हो । त्यसैले हरेक परिवारमा आफूप्रति विश्वास जगाउन प्रसस्त मिहिनेत गर्नुपर्ने हुन्छ ।
अर्थशास्त्रका प्रकाण्डदेखि सामान्य विज्ञ, राजनीतिका महापण्डितदेखि टोलस्तरका कार्यकर्ता सबैले सिद्धान्तका कुरासँगै जनताको अनुभव बटुल्न पर्दछ । अनि सिद्धान्त र जनअनुभवको मिश्रणले समाधानका सूत्र आविष्कार गर्नुपर्दछ । यस्ता प्रयत्नले संकट थप गहिरिन रोक्न सक्छ तर सामान्य अवस्थामा आउन वर्षौं लाग्छ अन्य संकट जस्तो छिटो सामान्य अवस्थामा फर्किन सक्दैन । कृषिजस्ता लगानीको प्रतिफल छिटो दिने क्षेत्रको प्रवर्धन गर्न यसमा लगातार गरिएका गलत परीक्षणहरू रोकिनु आवश्यक हुन्छ । कृषिकर्म र त्यसमा लाग्नेहरू अन्यभन्दा कम भन्ने जबरजस्ती बनाइएका भाष्य समाप्त पार्न धेरै समय लाग्छ ।
कृषिका ठूला उद्यमीहरू शोषक हुन्छन् भन्ने कुरामा दीक्षित कार्यकतालाई त्यो दीक्षाबाट मोड्नु फलामको चिउरा चपाउनु हो । मुलुकमा अवसर छैन भनेर वैदेशिक रोजगारीतर्फ धकेल्न जति प्रयत्न भएका छन् त्यसको असर सक्न अत्यन्त कठिन छ । विदेशलाई आवश्यक जनशक्ति तयार गर्ने पाठ्यक्रम सजिलै विस्थापित हुँदैन । अन्त्यमा विदेश नै अवसर खोज्न जानुपर्ने भएपछि किन एसइईपछि नै विदेश नजाने भन्ने मानसिकताले देखाएको असर समाप्त गर्न मुलुकमा अवसर छ, रोजगारी छ भन्ने विश्वास दिलाउन चर्का भाषण गरेको जस्तो हुँदैन । बन्द हड्ताल आदिले त झन् हुँदैन । यसका निमित्त राजनीतिक क्षेत्रले आफूलाई संयमित राख्न आवश्यक छ । यो बुझ्न आवश्यक छ कि राजनीति नियन्त्रक होइन अर्थतन्त्र नियन्त्रक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच